+
+

समयमै संघीय निजामती ऐन बनाउन नसकेकोमा क्षमा मागौं : सुशीला थिङ

नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले समयमै संघीय निजामती ऐन बनाउन नसकेको प्रति क्षमा माग्नुपर्ने बताएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते १९:१६
सुशीला थिङ/फाइल तस्वीर

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले समयमै संघीय निजामती ऐन बनाउन नसकेको प्रति क्षमा माग्नुपर्ने बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा उनले यस्तो बताएकी हुन् ।

‘हामीले यो विधेयक पारित गर्न सक्छौं कि सक्दैनौं भन्ने प्रश्न उठिरहेको छ,’ उनी भन्छिन्, ‘संघीयता लागु भएको पनि एक दशक हुन लाग्यो । तर, संघीय निजामती विधेयक पास गर्न नसक्दा कर्मचारीतन्त्रमा संघीयता आउन सकेको छैन । यसकारण हामीले जनतासमक्ष क्षमायाचना गर्नुपर्छ, क्षमा मागेर छिटो ऐन बनाऔं ।’

राज्य व्यवस्था समितिले यो विधेयकमाथि दफावार छलफल चलाइरहेको छ । यो विधेयक २१ फागुन २०८० मा प्रतिनिधिसभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधिसभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठक ।

गत आइतबारदेखि राज्य व्यवस्था समितिले दफावार छलफल सुरु गरेको हो ।

यसअघि २०७५ सालमा प्रतिनिधिसभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन ।

यसपटक यो ऐन बन्छ कि बन्दैन भन्ने चासो नागरिकमा रहेको कांग्रेसकी सचेतक थिङले बताइन् । अब बनाउँदा पनि ढिलो भइसकेका कारणल क्षमा मागेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?