 
																			विश्व जगतले एउटा निकै महत्वपूर्ण नयाँ आविष्कार गरेको छ । वैज्ञानिकहरुले विश्वमै पहिलोपटक परमाणु-हिरा ब्याट्री तयार पारेका छन् । यो ब्याट्रीले कुनै पनि सानोतिनो विद्युतीय डिभाइसलाई ५, ७३० वर्षसम्म ऊर्जा प्रदान गर्न सक्दछ।
यो ब्याट्रीमा हिराभित्र पारमाणविक पदार्थ हालिएको हुन्छ । यसमा कार्बन १४ नामक पारमाणविक (रेडियोएक्टिभ) पदार्थ रहेको छ, जसको हाफ लाइफ ५,७३० वर्ष रहेको छ । अर्थात् यदि कुनै डिभाइस यतिधेरै वर्षसम्म चल्नेहो भने यो ब्याट्रीले त्यसलाई चार्ज गर्नेछ ।
बेलायतको ब्रिस्टल विश्वविद्यालयका वैज्ञानिकहरुले विश्वको पहिलो आणविक हिरा (न्युक्लियर डायमण्ड)ब्याट्री बनाएका हुन् । यसमा रेडियोएक्टिभ अर्थात् पारमाणविक पदार्थ र हिरा मिलेर बिजुली पैदा गर्नेछ।
यो ब्याट्री चलाउनका लागि कुनै खालको चालको आवश्यकता पर्दैन । अर्थात् कुनै तारभित्र चुम्बकलाई घुमाउ आवश्यक छैन।
यो कुनै पनि पारम्परिक ब्याट्री वा बिजुली उत्पादन गर्ने यन्त्रभन्दा कैयन् गुणा उत्कृष्ट छ । यो ब्याट्रीभित्र विकिरणका कारणले इलेक्ट्रोनहरु तीव्र गतिमा घुम्दछन् । जसका कारणले विजुली पैदा हुन्छ । यो सौर्य ऊर्जाका लागि फोटोभोल्टिक सेल्सको प्रयोग गरिएजस्तै हो । जसमा फोटोन्सलाई विद्युतमा परिणत गरिन्छ ।
सन् २०१७ मा बनाइएको थियो प्रोटोटाइप ब्याट्री
ती वैज्ञानिकहरुले यसअघि निकेल ६३ को प्रयोग गरेर सन् २०१७ मा प्रोटोटाइप तयार पारेका थिए। तर, नयाँ ब्याट्रीलाई कार्बन १४ रेडियोएक्टिभ आइसोटोप तथा हिराको प्रयोग गरेर बनाइएको हो । उक्त पारमाणविक पदार्थलाई हिराको बीचमा राखिएको छ, जसबाट बिजुली पैदा हुन्छ ।
विकिरण रोक्न हिराको प्रयोग
उक्त ब्याट्रीमा कार्बन १४ को प्रयोग गर्नुको कारण चाहिं विकिरण कम तथा छोटो दूरीसम्म होस् भन्नका लागि हो । यो सजिलैसँग कुनै पनि ठोस पदार्थमा अवशोषित हुन्छ । यसबाट विकिरणको खतरा कम हुन्छ र नोक्सानी पनि कम हुन्छ । कार्बन १४ लाई सिधैं नांगो हातले छुनु हुँदैन । साथै यो कुनै कारण निलेर पेटभित्र गएमा त्यो प्राणघातक बन्न सक्दछ ।
ब्रिस्टल विश्वविद्यालयका वैज्ञानिक निल पक्सका अनुसार विश्वको सबैभन्दा कडा पदार्थ हिरा हो । त्यसैले यो ब्याट्रीका लागि हिराभन्दा सुरक्षित पदार्थ अरु कुनै थिएन । कार्वन १४ आइसोटोप चाहिं प्राकृतिक तरिकाबाटै पैदा हुन्छ । यसको प्रयोग आणविक भट्टीलाई नियन्त्रित गर्नका लागि पनि गरिन्छ।
आणविक ब्याट्रीमा कति क्षमता छ ?
एउटा सामान्य अल्कलाइन एए ब्याट्री २० ग्रामको हुन्छ । यसभित्र हरेक एक ग्राम वजनमा ७ सय जुल ऊर्जा संग्रहित हुन्छ । तर, आणविक हिरा ब्याट्रीको एक ग्रामले हरेक दिन १५ जुल उर्जा पैदा गर्न सक्दछ । झ्वाट्ट हेर्दा यो कम लाग्नसक्छ । तर, एए ब्याट्रीको पूर्ण प्रयोग हुँदा एक दिनमै रित्तिन सक्दछ । तर डायमण्ड ब्याट्री भने हजारौं वर्षसम्म चल्दछ ।
कार्वन-१४ को हाफ लाइफ ५,७३० वर्ष छ । अर्थात् यतिधेरै वर्षमा यसले केवल आफ्नो आधा मात्रै क्षमता गुमाउँछ । यदि भविष्यमा यस पदार्थको क्षमताबाट अन्तरीक्षयान बनाइयो भने यो हाम्रो सौर्यमण्डलको सबैभन्दा नजिकको छिमेकी अल्फा सेन्टाउरीसम्म पुग्नेछ । यो तारा हामीभन्दा ४.४ प्रकाश वर्ष टाढा छ ।
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4