
त्यस रात मलाई अढाइ थान बुद्धत्व प्राप्त भयो ।
दक्षिणी काँठ, चाल्नाखेलमा, लप्सीको बोटमुनि अवस्थित एकतले घरमा सपत्नी बेचैन भएर हातलागी गरेको मेरो बुद्धत्वको आफ्नै औकात थियो । गयाको पीपलबोटमुनि सिद्धार्थ गौतमले हासिल गरेको बुद्धत्वसँग यसको न कुनै साइनो थियो, न तुलनीय कुनै आधार ।
यद्यपि, बुद्धत्व त बुद्धत्व थियो । मेरो आफ्नो औकातको ‘झल्याँस्सत्व’ थियो । (यस प्रबोधलाई ‘विनोदत्व’ नामकरण गरेर जोकरहरूद्वारा शासित भइएको यो ट्र्याजी–कमिक वैश्विक पर्यावरणमा एक खेप सस्तो हास्य छरिदिऊँ कि जस्तो पनि लागेको थियो, तर मसँग त्यत्रो हिम्मत कहाँ ?)
त, त्यो ऐतिहासिक रात थियो । यति ऐतिहासिक कि इतिहास नै बगाउला जस्तो ऐतिहासिक !
****
२०८१ साल असोज ११ गते । अपराह्न ३ बजे । पानी परिरहेको छ, गर्जना सहित । अरू बेला पनि पथ्र्याे, पानी । तर, यस पटकको पानीको बेहोरा विस्फोटक छ, मानौं; त्यो फ्रेन्च क्रान्ति गर्न हिंडेको छ, रूसी क्रान्ति गर्न हिंडेको छ, कम्तीमा नेपालको दूरदराजमा माओवादी क्रान्ति गर्न हिंडेको छ ।
भारतीय कवि केदारनाथ सिंहको कविता ‘पानी में घिरे हुए लोग’ को तरोताजा खस नेपाली अनुवाद भर्खर सक्काएर म सुस्ताइरहेको थिएँ । दाम्पत्ययात्री विमलाजीलाई भनें, “मैले एउटा खतरनाक हिन्दी कविता अनुवाद गरेको छु । बाढीको बारेमा हो । सुनाउँछु ल ?”
विमलाजीले आँखा तर्नुको आयतन अप्रतिम उल्लंघन गर्दै भन्नुभयो, “यहाँ घरै बगाउला जस्तो भइसक्यो, तिम्रो नाथे कविता !”
ओहो, यो देशमा कविता लेख्ने, अनुवाद गर्ने र सुनाउने वातावरणै छैन ! हैट्, कस्तो कविताद्वेषी देशको कवि भइएछ ?
त्यसमाथि कवि–पत्नीहरूको कविता भनेपछि किन माइग्रेन चर्किन्छ ? यसकारणले कि उनीहरूलाई थाहा छ— कविताले ग्यासको सिलिन्डर आउँदैन, चामलको बोरा आउँदैन, छोराछोरीको स्कुलफिसमा कुनै योगदान हुँदैन ।
तर, तर, तर… म त बजारभाउ ठिकठिकै भएको कवि हुँ । कुनै बेला ‘कान्तिपुर’ दैनिकले रु.६ हजारसम्म पारिश्रमिक टक्य्राएको कवि हुँ (मेरो यस आत्मप्रचारको कसैलाई फ्याक्ट–चेक गर्न मन लाग्यो भने “यू आर मोस्ट वेलकम है, सरहरू !”) यो कैफियतको कुरा हो कि विमलाजीको हातमा पचास प्रतिशत मात्रै परेको थियो । अनि, एक कविका हैसियतले मैले धारण गर्नुपर्ने अनिवार्य अराजकता स्वरूप भोटाहिटीको कुनै भट्टीको जमघट आयोजनको जिम्मा चाहिं कसले लिने ? विमलाजीको पिताजी नमराज गोदारले ?)
****
२०८१ साल असोज १२ गते । राति १ बजे ।
एघारवर्षे मेरो छोरो मस्त निद्रामा छ ।
म र विमलाजी अनिदा छौं । वरपर पहिरो खसिरहेका खबर आइरहेका छन् ।
मेरो बालसखा रघुको घरपछाडि डाँडाको एउटा ढिस्को खसेर थुप्रिएको छ ।
अक्सिजन ग्यास फ्याक्ट्रीको प्रांगणमा माथिको पाखो झरेर थपक्क आइबसेको छ ।
खहरे बजारमा बोसनबाट अजंगका पत्थर र रूखका हाँगा एवं ठुटाहरू आएर प्रकोप–विमर्श गरिरहेका छन् । (किनभने, देशमा अचेल विमर्शमुन्तिरको कुरा कोही गर्दैन । टोल सुधार समितिका सदस्यहरू समेत ‘फलानो टोलमा ढिस्कानो समस्या ः एक विमर्श’ गरिरहेका हुन्छन् । अनि, भाँतीप्रभृति विषयका समाजशास्त्र र मानवशास्त्र पर्गेलेर देशका विद्वान्हरू गफ छाँटिरहेका छन् । यहाँनेर म एन्टिइन्टेलेक्चुअल त भइरहेको छैन ? भए पनि के र ? जाओस् भड्खालोमा ।)
विमलाजी अन्यथै नहोला जस्तो आत्मविश्वासका साथ भविष्यवाणी गर्नुहुन्छ, “घर नगए पनि पर्खाल चाहिं जाने भो ।”
उहाँको ‘पर्खाल’ उच्चारणले मेरो मस्तिष्कमा लेखक युग पाठकको अनुहार अवतरण गराउँछ । जिन्दगीको एक मात्र लक्ष्य ‘संसारभरिका पर्खाल भत्काउने’ बनाएर बाँचेका कवि कृष्णसेन इच्छुकका नाममा राखिएको ‘इच्छुक स्मृति पुरस्कार’ को रु.५० हजार राशि खर्चेर मैले पर्खाल लगाएको थिएँ । म जान्दथें, कवि वासु शशीले शाश्वत घोषणा गरेका थिए, “पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ ।” तर, म बाध्य थिएँ, पर्खाल लगाउन । पर्खाल लगाएन भने चारफुटे गोरेटोसँग जोडिएको मेरो घर जोखिममा पथ्र्याे ।
दिवंगत समालोचक ताराकान्त पाण्डेयको मप्रतिको ‘अतीव’ लगाव र प्रेमका कारण मैले यो पुरस्कार पाएको थिएँ । र, मलाई खुँदो पल्टेको थियो । किनभने, २०७४ सालको बर्खाले मेरो घरको जगसँग मुस्किलले तीन फिट नजिक पर्खाल बगाएको थियो । करिब बीस फुटजति असरल्ल फैलिएको त्यसको हाडखोरलाई मैले र विमलाजीले यूएस–एडको त्रिपालले ढाकेर राखेका थियौं । बहत्तर सालको भुइँचालोताका आत्मीय मित्र राजन नेपालले तीन शहर नेपाल चहारेर त्यो त्रिपाल मेरा निम्ति हासिल गरेका थिए । त्यतिबेला मेरो हालत कति खराब थियो, त्यसको साक्षी यशस्वी समीक्षक गुरुङ सुशान्त छन् ।
(यहाँनेर आफ्नो हालतको यो साह्रै हलुका विज्ञापन गरेकोमा क्षमा चाहन्छु, जबकि सारा सहदेशवासी विपद्को रसातलमा भासिएका थिए । अर्काे एउटा कुरा, कतै मेरो यो लेखन ‘पोभर्टी पर्न’ को सस्तो दस्तावेज त भइरहेको छैन ? भइरहेको छ भने माफ पाऊँ !)
युग दाइको प्रसंग जोड्छु ।
काठमाडौं, अनामनगरस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको भवनमा पुरस्कार वितरण कार्यक्रम समापनपछि मेरो हातमा परेको छ, पचास हजारको चेक । मेरो हाल–ए–पर्खालको सम्पूर्ण जानिफकार युग दाइले कार्यक्रम सकिनासाथ मलाई करिब–करिब अपहरण गरेर प्रतिष्ठानको एक कुनामा लगेर भने, “कवि, चेक चाहिं खुरुक्क विमलाजीलाई दिइहाल । अनि, खुरुक्क घर फर्किहाल । आज यता जाँडपानीमा कदापि भुल्ने होइन । तिम्रा साथीहरूलाई चियापान गराउने जिम्मा चाहिं म लिन्छु ।”
नभन्दै, चिया–चुरोटको उत्सवजन्य आयोजनाको जिम्मा युग दाइले लिए ।
****
अँ त, छोरा वैभव मस्त निद्रामा छ । बाहिर घनघोर पानी परिरहेको छ ।
मैले प्राप्त गरेको पहिलो बुद्धत्व— “नेपाली समाजमा बिहे उमेर छँदै गर्नू ।” पचासोन्मुख उमेरमा एघार वर्षको सन्तानको पिता हुनु, त्यो पनि चारैतिर पहिरो लडिरहेको बखतमा, साह्रै दुःखद् हुँदोरहेछ । कम्तीमा यस्तो विपद्मा बीस–बाइसको छोरो होस् र भनोस्, “ह्या ड्याड, के ‘वरी’ लिइरहेको ?”
मानौं, विमलाजी र म पहिरोको प्रतीक्षामा छौं । पहिरो जानेछ र हामी खत्तम हुनेछौं । एउटा त्रासदी डेमोक्लिजको तरबार झैं झुन्डिएको छ, इन्डिगो रङ खुइलिएको सिलिङमा ।
अनायास, मेरा आँखामा पाब्लो नेरुदा नाच्न आइपुग्छन् ।
‘पेरिस रिभ्यू’को अन्तर्वार्तामा उनलाई सोधिन्छ, “आगजनीबाट आफ्ना कृतिहरू जोगाउनुपर्ने खण्ड आइलागे कुन–कुनलाई जोगाउनुहुन्छ ?”
उनको जवाफ छ, “कुनैलाई पनि जोगाउँदिनँ होला । मलाई तिनको के आवश्यकता छ र ? बरु म त कुनै युवतीलाई जोगाउने थिएँ…अथवा, जासुसी कथाहरूको राम्रो सङ्कलनलाई जोगाउने थिएँ…जसले मलाई मेरा आफ्ना कृतिले भन्दा बढी आनन्द दिलाउँछन् ।”
साँच्ची, कुनै सानो गच्छेको गोर्खाली ‘पेरिस रिभ्यू’ ले म सानो गच्छेको गोर्खाली नेरुदालाई “यो पहिरोबाट तिमी के–के जोगाउँछौ ?” भनेर सोधेको भए ? (यहाँ मैले आफूलाई गोर्खाली नेरुदा भन्नुको पृष्ठभूमि छ । कुनै बेला म नेरुदाले झैं पाली हालेको टोपी लगाउँथें, अहिले पनि यदाकदा लगाउँछु । तर, खोइ किन हो, त्यसलाई बाबुराम भट्टराईले लगाउने गरेको टोपीसँग दाँजिंदो रहेछ । मेरो शिरमा अवस्थित टोपी हेरेर ज–जसले टिप्पणी गर्थे, उही ‘बाबुराम भट्टराईको जस्तो टोपी’ भनेर गर्थे । एक दिन अचानक पत्रकार लक्ष्मण श्रेष्ठले ‘अन्नपूर्ण पोस्ट’ दैनिकको तीनकुने कार्यालय नजिकको पासाङ–डोल्मा दम्पतीको चियापसलमा मेरो टोपी हेरेर भने, “दाइ, यो पाब्लो नेरुदा क्याप तपाईंलाई क्या सुहाएको छ !” यसै त डाइनोसर उत्तानो परेजस्तो मेरो नाक, त्यसमाथि लक्ष्मणको तारिफ ! मेरो अहंकारले नयाँ आयाम पायो ।)
साँच्ची, मैले के–के पो जोगाउँथे ?
छोराका खेलौनाहरू ? श्रवण मुकारुङका हुरुक्कै पार्ने गीतका पङ्क्तिहरू ? हुन नसकेकी प्रेमिकाले एक हिउँदे बिहान अचानक दिएको निलो–सेतो–कालो मफलर ? ‘ग्य्राजुएसन गाउन’ मा सजिनुभएकी विमलाको तस्बिर ? इच्छुक स्मृति पुरस्कारको प्रमाणपत्र ? अरुन्धती रोयलाई अंग्रेजीमा लेख्न खोजेको युगौंदेखिको अपूरो प्रेमपत्रको बुँदा टिपिएको डायरी ?
अथवा, कवि केदारनाथ सिंहले भने जस्तो पानीमा फसेका मानिसहरूले चिलिमको प्वालमा हर हालतमा जोगाएर राख्ने अलिकति आगो ?
****
त्यस रात मैले हासिल गरेको दोस्रो बुद्धत्व : वरपर नजिकै पहिरो झरिरहेको बेला आफ्नै उपर खस्न सक्ने पहिरोको प्रतीक्षा कति भयानक हुन्छ ?
यसपालिको असोज ११, १२ र १३ ले काठमाडौं उपत्यकालाई एउटा ऐतिहासिक पाठ पढायो । सदा दूर–सुदूरका बाढी र पहिरोका समाचार पढ्न/हेर्न/सुन्न मात्रै बानी परेको उसलाई अब त शायद प्रकोपका केही पीडाको पनि तत्त्वज्ञान भएको हुनुपर्छ ।
अन्त्यमा, आफ्नै बक्यौता रहेको आधा थान बुद्धत्व: ती जो–जो मरे बाढीमा, पहिरोमा परेर, ती फर्कने छन् एक दिन ।
हाम्रो स्मृतिमा ।
तिनलाई जोगाउन र बचाउन सकिन्थ्यो ।
आधा थान किन भनिएको हो भने ती हाम्रा स्मृतिमा फर्किने नै छन् भन्ने कुनै ग्यारेन्टी छैन ।
****
अब आफूले अनुवाद गरेको दुई थान जलमग्न कविता प्रस्तुत गर्ने अनुमति चाहन्छु :
पानीमा फसेका मानिसहरू
– केदारनाथ सिंह
पानीमा फसेका मानिसहरू
प्रार्थना गर्दैनन्
उनीहरू पूरा विश्वासका साथ हेर्छन् पानीलाई
र, एक दिन
कसैलाई पत्तै नदिई
खच्चड, गोरु वा भैंसीको पिठ्युँमा
घर र थाङ्नाभोटा लादेर
निक्लिदिन्छन् कतै
घोर आश्चर्य !
जतिसुकै भयानक होस् बाढी
पानीमा उनीहरू
अवश्य भेट्टाउँछन् अलिकति जमिन
अलिकति आकाश
र, त्यसपछि उनीहरू गाडिदिन्छन् खाँबा
बोराले गर्छन् बेरबार
चोयाले बाँधिदिन्छन् टाट
पानीमा फसेका मानिसहरू
आफ्ना साथमा लिएर आउँछन् परालको गन्ध
लिएर आउँछन् आँपका कोया
खाली टिन
भुटेका चना
उनीहरू लिएर आउँछन् चिलिम र आगो
अनि, बग्छन् उनीहरूका बस्तुभाउ
पूजाका घण्टीहरू बग्छन्
बग्छ महावीरजीको पूर्णकदको मूर्ति
घरका कच्चा भित्ताहरू
भित्तामा बनेका हात्ती–घोडा
फूल–पात
लत्ताकपडा
सबै सबै बग्छन्
तर, पानीमा फसेका मानिसहरू
गुनासो गर्दैनन्
उनीहरू हर हालतमा चिलिमका प्वालमा
कतै न कतै जोगाएर राख्छन्
अलिकति आगो
अनि डुब्छ सूर्य
कतैबाट आउँछ
पानीमा तैरिंदै तैरिंदै
मानिसहरू बोलेको चर्काे आवाज
कतै न कतै उड्छ धुवाँ
रूखहरूमाथि मडारिंदै मडारिंदै
र, पानीमा फसेका मानिसहरू
बेचैन हुन्छन्
थोत्रो लालटिन बालेर
टाँगिदिन्छन् लामो बाँसको टुप्पामा
ताकि
उनीहरू जिउँदै रहेको खबर
पानीको पर–पर पुगिरहोस्
अनि, त्यस मधुरो प्रकाशमा
पानीको आँखामा
आँखा जुधाएर
उनीहरू रातभर जागा उभिन्छन्
पानीसामु
पानीतर्फ
पानी विरुद्ध
केवल उनीहरूभित्र
कुनै पत्थर जसरी
हरेक पटक केही टुट्दछ
हरेक पटक पानीमा केही खस्दछ
छप्ल्याङ्ङ… छप्ल्याङ्ङ… ।
*****
विसर्जनका लागि सुन्दरवनमा सुनको डुंगा
– नवारुण भट्टाचार्य
गिद्धले आधा खाएर छोडेको त्यो बच्चो तैरिरहेको छ
काठको मुढा धकेल्छ उसलाई तेर्साे रेखामा
लाग्छ, कुनै असामाजिक लज्जाले अधोमुख
बच्चो घोप्टो परेको छ नुनिलो पानीमा
मातला नदीको गहिरो सतहमा मुख गाडेर
अग्रभाग हल्लिनाले टेढो–टेढो चालमा
राहत सामग्री बोकेर सुनको डुंगा
गइरहन्छ सुन्दरी घाटतिर
स्त्रीका आँखाका नानी अन्धा छन् हिउँदे हावामा
स्पर्शातुर पानी झर्छ त्यस देह मन्दिरमा
भीडमभीड राहत शिविरमा जब बच्चाहरूलाई दिइन्छ
सुन्तला, साबुदाना र बेबी फुड
रित्तो छ कसैको काख
उता पारि मोउखाली, केइखाली अनि कति–कति ठेगाना
मस्जिदबाडीका असङ्ख्य माटोका झुपडी
गाउँमा यी सब थिए, अहिले उजाड छन् सबै
बान्टू, हाटेन्टाट र अरू विभिन्न जातिका मानिस
उनीहरू पनि खान्छन् यस रोमान्टिक साइक्लोनका थप्पड
पानीले घेरिएका मानिस ठेलमठेल गर्दै हाजिर छन्
‘दूरदर्शन’ को समाचारमा
तालदी राहत शिविरमा शीतमा काम्छ तिनको थर्थर जीवन
ड्राइडोलमा झुन्डिएका छन्
हाई काढिरहेका सुन्निएका–फुलेका मानिसहरू
अवश्य पुगेको छ टनाटन सामान लादेर सुनको डुङ्गा
शहरियाहरू शहरमा सुन्दर छन्
गाउँलेहरू सुन्दर छन् बाढीमा
समाचारमा ढाडिएका ओठहरू गोलाबाडी घाटमा
उत्रिएर हेर्छन् निर्भीकतापूर्वक सबथोक लुटिएको
प्राण छैन, केही पनि त छैन, यसर्थ छ समाचार
सबेरै तन्द्राग्रस्त गिद्ध फडफडाउँछ पखेटा
जूनमा टोलाइरहेको बच्चा देखेर
इन्द्रनाथले सुन्यो, उसलाई बोलाइरहेको छ उसको सानो भाइ
सुनको डुङ्गा सामुन्ने छ अनन्त शान्तिको फैलावट
सडेको बाँस खलबलाउँछ गलेका हाडहरूले भरिपूर्ण पानी
घाटदेखि तटसम्मको इलाकामा सर्वत्र छन् मटमैला शंखेकीराहरू
गिद्धका अगाडि छ एउटा जटिल र दुरुह समस्या
ब्याउने गाई खायो भने जात जान्छ
सुनको डुङ्गा खिच्दछ आँसुको छलछलाउँदो ज्वार
आकर्षित जलले क्षणिक समागममा अङ्कमाल गर्दा
गँगटाहरूको गुँडबाट सम्मोहित भएर उठ्दछ चन्द्रमाको चुम्बक
कछुवाहरूको विस्मयले स्तब्ध छ जंगली घाँसको ढिस्को
विस्फोटक विम्बहरूमा पानी लाखौं दाँतले टोक्दछ
फुटेको छिपछिपे ताललाई
एसियाको कुनै घरमा जाडोमा सुत्छन् जो करोडौं मानिस
मरेकाहरू यता–उता चक्कर काट्छन्, खिचातानी गर्छन्, हिलोमा लुक्छन्
पानीका हँसियाहरू दूध पसेका धानका लहलहाउँदा बाली काट्छन्
मृत माझीको जाल उसको शरीर जसरी नै गुजुल्टिएको छ
टक्क रोकिएको भूचित्रमा कति राम्रो देखिन्छ सुनको डुङ्गा
पुण्य चाहन्छौ भने तिमी, यही मुुहूर्तमा निप्ट्याइहाल अन्तिम संस्कार
जलकौवा आउँछ, ताराका फूल झैं बुर्की खान
भुलिदेऊ दुःख, भुलिदेऊ को थिइन् तिम्री आमा, को थिए तिम्रा बाबु
घाँसपात बाल, माटो देऊ, अभागीको महिमा छ अपार
सुन्दरवनको तटमा भिजेका, नूनमा डुबेका मानिसहरूको क्षीण धुवाँ
बेरिन्छ, आकाशको हेलिकप्टरका चार पङ्खामा
जति दुर्बल र धर्मभीरु मान्छे, उति अपार कठोर छ सजाय
अन्तिम संस्कार निप्ट्याऊ, फ्याँक भोटको रिलिफ,
भनिदेऊ यही हो तिम्रो भागको पुरिया
प्रकृतिको घना बादलले होस गुम गराउँछ प्रभु ! अहिले पनि
जबसम्म ज्वरो–आक्रान्तको देहले ओढ्दैन कसैको कात्रो
बच्चा जान्दछ, जति मर्छन्, त्योभन्दा कैयौं गुणा बढी
दर्ता गरिनेछ मृतकको संख्या
हात्ती जस्तो मन्त्री सन्तुष्ट छ घुसको काल्पनिक जंगलमा
कुन दल, कुन मत, कुन मोह र कुन उत्साहले पो
चिढाउने साहस गर्लान् कुलीन र ठेकेदारहरूलाई
सन् एकासीको सुन्दरवनमा नियतिको आविर्भाव !
पागल पानीको धारबाट कसले बचाओस् गाईबाख्रालाई
कसको हिम्मत छ, भयभीत वृद्धलाई बबन्डरबाट निकाल्ने
खरको छानोबाट खरले ठाउँ छोड्छ, बाँसले ठाउँ छोड्छ,
तल छन् मानिसहरू
कुन चाहिं मूर्खले खोज्न चाहन्छ बेपत्ता भएको घरलाई
उता हेर, बडे–बडे विद्वान्का अर्थनीति या विकृत बौद्धिक बकवास
गमक्क परेर निक्लेको छ सुन्दरी बंगालमा सुनको डुङ्गा
यसैको समानान्तर, कलकत्ता महानगरमा चलिरहेको छ
सरकारी पर्यटन उत्सव
जाऔं सबै हूल बाँधेर, लर्ड क्यानिङको चिहान हेरेर आऔं
भाग्यले साथ दिए, क्यामरामा कैद भइजालान् रंगीन कंकाल
या ताजा खप्परहरू
मसानघाटको छेवैमा पानी हुन्छ, तर देखेका छौ कहिल्यै
पानीको विस्तीर्ण मसानघाट ?
हेर, नुनिलो माटो बाँझी जसरी हाँस्दछ पागलको हाँसो
क्षतविक्षत स्तन, डुबेको योनि, उँभो उठेको नुनको पत्थरको प्रतिमा
चार वटै खुट्टा उठाएर उत्तानिएको बेकार गाई या नुनिलो पानीमा डुबेर मरेका
मत्स्य योजनाका माछाहरू
छिपछिपे पानीमा सुन्दरी शिंगीको मृत्यु, राजहंसिनीको जस्तो नृत्य
केही बेकुफ तिनै मरेका माछा खाएर
भोकको पल्लो किनारतिर गएका छन्
यतापट्टिका जंगली मानिसहरू पानी घटेपछि प्रकट हुन्छन्
चिन्ताहीन, जडमति छन् उनीहरू
न टोक्छन्, न खोस्छन्, न बटुल्छन्
सुनको डुङ्गातिर अपलक हेर्दैनन्,
आश्वासन पनि सुन्दैनन्
यिनीहरूको शरीरमा टाँसिएका छन् जुका
यिनीहरूको मनमा टाँसिएका छन् जुका
यतिविघ्न लुटिंदा पनि अरूका तुलनामा भारहीन छन्
तीन दिनमा दुई सय ग्राम चिउरा पाएर चपाउँछन् बिस्तारै–बिस्तारै
अमिलो खिचडीबाट तिखो जिब्रो निकाल्छ गुप्त हैजा
शहरमा आइपुग्छन् पेट भर्न, पंगु बनेका गुलामहरू
यिनमा केही क्रिमिनल पनि छन् अवश्य,
जो कैयन् कुत्सित प्रस्ताव राख्छन् रातमा
भन्छन्, ओहोदावाल स्यालहरू वाहक
यो सुनको डुंगालाई डुबाइदेऊ
चिहानमा पुर्याइदेऊ छद्म बाँध बाँधेर
छिपछिपे पानीको इलाकामा
भत्केका पर्खालहरूबीच महाजन
प्रहरी आउन ढिलो हुने देखेर अत्तालिएको छ
दिनभरि मोती बनाएर थाकेपछि
हेर, ढक्कन बन्द गर्दछ अन्धो सिपी
त्रिकालदर्शी हात्ती–घाँसका शिरहरूले घेरेका छन्
रक्तिम पश्चिमलाई
मृत देहहरू तह लाउँदा, हिलाम्मे बाँस र हाडखोर उठाऊ
गजगजी नुनिलो फिंज काढिरहेको जुन युवालाई
चढाएन सुनको डुङ्गाले
किनारमा ऊ एक्लै सुन्छ डिजल इन्जिनको
धिमा हुँदै गइरहेको आवाज
तसर्थ ऊ पैदल जान्छ, शंखका चुरा लाएका हातहरू
ठोक्किन्छन् उसका पाउमा
मोतीविन्दु र कैयन् मृतकका माटोले टम्म भरिएका
आँखाका ढकनीहरू
नदीको छालबाट फर्किन्छ युवक, भिखारी बनेर यही घडीमा
बन्न त राजपुत्रहरू पनि भिखारी बन्छन्
युवक जीवित मूर्तिसरह पैदलै पार गर्छ
मरिरहेको मराली नदी र यसको सुक्खा तट
नांगो हावाको टुप्पो उसको शरीरमा खिच्दछ रेखाहरू
फरार तस्कर, वेश्या, बुद्धिजीवी, बनियाँहरूको शहरमा
बलात्कार–दर्शनमा बहुमुखी, लोभी अनि पाप र दुर्गन्धको नगरमा
अकस्मात् विस्फोट हुन्छन् ढोल र नगरा, कुबेला बज्दछ रेडियो
र, कसैको रुखो, अनाथ, उच्छृंखल केश अस्तव्यस्त उड्दै
छाउँछ टीभीको पर्दामा
पितृ–मातृहीन त्यो को हो, जो बोलाइरहेछ प्रेत–आवाजमा
सुन हो, सुन— समुद्र तटको इलाका चुर्लुम्मै डुबेको छ
बाघ र वनदेवी युवकको हात समातेर
हिजो राति गोरेटैगोरेटो हुँदै आइपुगेका छन् शहरमा ।
प्रतिक्रिया 4