
संसारमा प्रत्येक ‘म’ अर्थात् ‘व्यक्ति’ फरक हुन्छन् । ‘मेरो समय’ अर्थात् आफ्नो लागि समय निकाल्नु भनेको व्यक्तिगत गतिविधिहरूको लागि छुट्टै क्षण छुट्याउनु हो जसले हाम्रो शारीरिक, मानसिक, संवेगात्मक र आध्यात्मिक स्वास्थ्यलाई पोषित गर्ने काम गर्दछ । जसमा पारिवारिक र सामाजिक उत्तरदायित्व, आफ्नो पेशा बाहेक आफूलाई आराम गर्न, पुनर्ताजगी र आफ्नो बारेमा विश्लेषण गर्न, आफ्नो मनोभावलाई नियाल्न, आफूलाई शान्त राख्न गरिने आत्म–हेरचाहसँग सम्बन्धित क्रियाकलापहरू पर्दछन् ।
मानिस एक सामाजिक प्राणी हो, ऊ समाजमा बस्छ, सामाजिक उत्तरदायित्व पालन गर्नु उसको कर्तव्य हो । यसका साथै परिवारमा बस्नु, परिवारका अन्य सदस्यहरूसँग समय बिताउनु, एकअर्कासँग भावना साटासाट गर्नु, एकलाई दुःख पर्दा अर्कोले मद्दत गर्नु आदि यथार्थपरक हुन् । यसका अतिरिक्त प्रत्येक व्यक्तिहरू एकआपसमा फरक हुन्छन् भन्ने पनि यथार्थ हो । प्रत्येक व्यक्तिको बानी–व्यवहार, सोच्ने शैली, जीवन र जगत प्रतिको दृष्टिकोण, समस्या समाधानका प्रक्रियाहरू पनि फरक हुन्छन् । तसर्थ येही फरकपनलाई चिन्न र एक पूर्ण व्यक्ति भएर जिउन ‘मेरो समय’ छुट्याउनु र सदुपयोग गर्नु अति आवश्यक हुन्छ ।
जसरी हाम्रो शरीर र दिमाग अन्तरसम्बन्धित हुन्छन्, अत्यधिक तनाव भएको बेला टाउको दुख्ने, पेट दुख्ने, शरीर आलस्य हुने आदि लक्षण देखिन्छन्; त्यसैगरी हाम्रो शरीरमा चोट लाग्यो भने हामी दुःखी, निराश, थकित महसुस गर्छाैं । त्यसैले हाम्रो शरीर र दिमागलाई बुझ्नु जरूरी छ र बुझ्नको लागि आफ्नो लागि समय दिनु आवश्यक हुन्छ ।
मेरो समय भित्र के के पर्दछन् ?
आत्म-हेरचाह
आफूलाई आनन्द दिने र पुनर्ताजगी गर्ने गतिविधिमा संलग्न हुनु, जस्तै व्यायाम गर्ने, ध्यान गर्ने, नुहाउने, किताब पढ्ने वा अन्य आनन्दप्रदायक क्रियाकलाप गर्ने । जसले तपाईंलाई आफ्नो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यको हेरचाह गर्न मद्दत गर्छ ।
एकान्त र प्रतिबिम्ब
आत्म–मूल्यांकन/प्रतिबिम्ब, दैनिकी लेखन वा ध्यानको लागि एक्लै समय खर्च गर्नु जसले तपाईंलाई आफ्ना भावनाहरू अवलोकन गर्न, समस्याहरू प्रति ध्यानाकर्षण गर्न र समाधानका उपाय खोज्न र बाह्य अवरोधहरू पिना शान्तिको अनुभूति गर्न मद्दत गर्न सक्छ ।
व्यक्तिगत इच्छाहरूको खोजी
यसमा तपाईंलाई खुसी पार्ने तपाईंका सोखहरू जस्तै पेन्टिङ गर्नु, बगैंचामा काम गर्नु, खाना पकाउनु, सङ्गीत सुन्नु वा आफूलाई मनपर्ने सीपको अभ्यास गर्नु आदि । यी गतिविधिले तपाईंलाई काम वा पारिवारिक दायित्वमा रहेर पनि आफ्नो रुचिहरूसँग जोड्न मद्दत गर्दछ ।
आराम र विश्राम
कहिलेकाहीं आफ्नो लागि समय निकाल्नु भनेको सामान्य रूपमा आराम गर्नु, सुत्नु, पल्टनु वा प्रकृतिमा समय बिताउनु हो । यो तपाईंको ऊर्जा चार्ज र रिसेट गर्ने र व्यस्त जीवनको वाबजुद शान्त हुने तरिका हो ।
सजगता
अहिलेको समयमा सामाजिक सञ्जाल, प्रविधि वा कुनै पनि बाह्य संलग्नताबाट विश्राम लिन (जसलाई ‘डिजिटल डिटक्सिफिकेशन’ पनि भनिन्छ) आफूले आफूलाई वर्तमान अवस्थामा राख्न जरूरी छ । जसले व्यक्तिलाई आफूसँग रहनको लागि मद्दत गर्नुको साथै आफ्नो विचार, भावना र परिवेशसँग जोडिन सहयोग गर्दछ ।
सीमा निर्धारण
कहिलेकाहीं आफ्नो लागि समय निकाल्नु भनेको आफ्ना निर्धारित दायित्वहरूलाई अस्वीकार गर्नु वा आफ्नो ऊर्जाको सुरक्षा गर्न सीमाहरू निर्धारण गर्नु हो । जुन आफ्ना तथाकथित (धरैजसो दायित्वहरू सामाजिक मूल्य र मान्यताको आधारमा निर्धारित हुन्छन् जुन व्यक्तिको भावना अनुरूप र अनुकूलित हुन्छन् भन्ने छैन) दायित्वहरूलाई अस्वीकार गरेकोमा अपराध र हीनताबोध नगरी आफ्नो आवश्यकता र इच्छाहरूको लागि समय र ठाउँ सिर्जना गर्नु हो ।
मानसिक र भावनात्मक मनोभावको सम्बोधन
कुनै पनि तनावपूर्ण अवस्था वा भावनात्मक चुनौतीको सामना गर्नु परेको छ भने तत्पश्चात् आफ्नो लागि समय निकाल्दा आफूमा के भइरहेको छ भनेर प्रतिबिम्ब गर्ने मौका मिल्छ । यो प्रक्रिया एक चिकित्सक या मनोविदसँग कुरा गर्दा होस्, जर्नलिङ वा हाम्रो भावनालाई नियाल्दा होस्, यो मानसिक स्पष्टता र उपचारको लागि महत्वपूर्ण हुन्छ ।
कतिपय व्यक्तिहरूले आफ्नो जीवनभरि आफ्नो इच्छा र जीवनको उद्देश्य के हो भन्ने नै नबुझी जीवन व्यतीत गरिरहेका हुन्छन् । किनकि उनीहरूले आफ्नो बारेमा सोच्ने र विचार गर्ने तथा आफ्नो लागि समय छुट्याउने र आफैंमा हराउने नै गरेका हुँदैनन् । प्रायःजसो अल्पविकसित देशका महिलाहरू र सीमान्तकृत समुदायहरूमा यो प्रवृत्ति धेरै देखिन्छ किनकि उनीहरूको लालनपालन, शिक्षादीक्षा त्यही अनुसार दिलाइएको हुन्छ । उनीहरूको अधिकांश समय दैनिक गुजारामा नै व्यतीत भइरहेको हुन्छ । यो प्रवृत्ति कतिपय अवस्थामा शक्तिसँग पनि जोडिएको हुन्छ । परिवारमा स्वभावैले सत्ताधारी र शक्तिहीन, दिने र लिने, उत्पीडक र उत्पीडित आदि जस्ता विपरित शक्ति र तहगत संरचना लिङ्ग, उमेर, जातजाति, वर्ग आदिका आधारमा प्रत्येक परिवार, समुदाय र समाजमा हुने गर्दछन् । जसले गर्दा शक्तिशाली पक्षले शक्तिहीन पक्षलाई सधैं दबाएर राख्ने र राख्न खोज्ने प्रवृत्तिको कारण कतिपय दमितहरूले आफूलाई चिन्ने र आफ्नो लागि समय छुट्याउने अवसर नै पाउँदैनन् । उनीहरूलाई अरूको सेवा नै सर्वोपरि भन्ने भ्रममा राखिएको हुन्छ ।
‘मेरो समय’ ले व्यक्तिलाई आराम र रिचार्ज गर्न, बर्नआउट रोक्न, तनाव कम गर्न र मानसिक र शारीरिक स्वास्थ्य कायम राख्न मद्दत गर्छ । साथै आफ्नो इच्छा, चुनौती र लक्ष्यहरूलाई अझ गहिरो रूपमा बुझ्न मद्दत गर्दछ जुन व्यक्तिगत विकासको लागि पनि महत्वपूर्ण हुन्छ । आफ्नो लागि समय निकाल्दा रचनात्मकता बढ्छ । बाह्य विचलन विना नयाँ विचार र परिप्रेक्ष्यहरू अन्वेषण गर्न सक्षम हुनुको साथै व्यक्तिको काम, लेखन र समग्र सोचलाई समृद्ध बनाउन मद्दत गर्छ । जब व्यक्तिले आफ्नो ख्याल राख्न सुरु गर्छ र सन्तुलित अवस्थामा हुन्छ तब अर्थपूर्ण रूपमा अरूसँग जोडिन मद्दत गर्छ । ‘मेरो समय’ ले एक्लै समय बिताउँदा स्वतन्त्रता र आत्मनिर्भरता बढाउँछ । दैनिक जीवनको कोलाहलबाट टाढा जाँदा व्यक्तिको दिमागलाई ताजा गर्न अनुमति दिन्छ, जसले सही निर्णय लिने र थप सन्तुलित भावनात्मक अवस्था कायम राख्न सहयोग गर्छ ।
आफ्नो लागि समय छुट्याउनु भनेको स्वार्थी हुनु होइन । आफूलाई स्वयंले भन्दा बढी कसैले बुझ्न सक्दैन । त्यसैले पहिला आफूलाई बुझ्नु जरूरी छ । आफूलाई बुझ्न सक्ने सामथ्र्य भएको व्यक्तिले मात्र अरूलाई बुझ्न सक्छ । माया, ममता, दया, करुणा आदि पनि मानवीय गुणहरू हुन् जुन गुणहरू आफूमा छ भने मात्र अरूलाई दिन सकिन्छ । जसको लागि पहिला आफूलाई सबै गुणहरूले भरिपूर्ण बनाउनुपर्ने हुन्छ ।
विकास द्रुत गतिमा छ, समाज परिवर्तनशील छ, विज्ञान तथा प्रविधि कहाँ पुगिसक्यो, सूचना तथा सञ्चारको विकास चरम स्थितिमा छ भने मानिसहरू बीचको अन्योलको स्थितिमा छन् । सायद अहिले जति परनिर्भरता अरू युग, शताब्दीमा थिएन होला । फलस्वरूप मानिसहरूले आफ्नो मौलिकताको पहिचान नगरी कृत्रिम संसारमा बाँच्नु परेको छ । तसर्थ यो कृत्रिमताबाट बाहिर निस्किएर आफ्नो मौलिक जीवन व्यतीत गर्न आफूलाई चिन्न र आफ्नो लागि समय छुट्याउन जरूरी छ । जसको अभ्यास गर्न प्रत्येक व्यक्ति र परिवारका सदस्यहरू बीच छलफल हुन र एकअर्का बीचको फरकपन र मौलिकता पहिचान गर्नुको साथै उक्त फरकपनको सम्मान गर्ने संस्कारको विकास गर्नु पनि अपरिहार्य छ ।
प्रतिक्रिया 4