+
+
नमेटिएका डोबहरू :

खाली खुट्टादेखि चप्पल हुँदै टेस्लासम्म…

चप्पलबाट साइकल, साइकलबाट मोटरसाइकल, मोटरसाइकलपछि कार पछि छोरीज्वाइँको लेक्सस र अकुरा कारपछि आज टेस्ला कारमा चढेर संयुक्त राज्य अमेरिकाका विभिन्न ठाउँ घुम्न पाउँदा गर्वले छाती फुलेको, स्नेहले पग्लेको अनि विगतको सम्झनाले द्रविभूत भएको थियो ।

लक्ष्मीधर गुरागाईं लक्ष्मीधर गुरागाईं
२०८१ मंसिर २९ गते ८:२९

हामी दुवै जना टेक्सासमा थियौं । २०८१ गएको मंसिर ५ गतेको बिहानदेखि हाम्री छोरीका घरमा विशेष चहलपहल छाएको थियो । हाम्रा ज्वाइँ साहेबले मलाई भन्नुभयो, “आज हजुरहरूकी छोरीलाई गाडी लिन हजुरहरू पनि जानुपर्दछ है !” मैले स्वीकृति सूचक टाउको हल्लाएँ ।

मैले आफ्नो विगत झलक्क सम्झिएँ । हामीलाई सानै छँदा एकजोर चप्पल लगाउन ‘महाभारत’ हुने गरेको सम्झनाले अमिलो भएको मन ज्वाइँका कुराले फुरुङ्ग भएको थियो । एक तमासको खुसीले मन भरिएको थियो ।

आनन्दको अनुभूतिले मन पुलकित भयो । संसारमा छोराछोरीको खुसीमा नरमाउने बाबुआमा को होलान् र ? हामी पनि गौरवान्वित छौं हाम्रा छोरीले होस् वा छोराले पलपलमा हामीलाई आनन्दका बुक्केहरू दिएका छन् । मनले भनिरहेको थियो “हामी सधैं हाम्रा छोराछोरीले यस्तै उन्नति प्रगति गर्दै माथि–माथि चढिरहेको हेरिरहन पाऊँ !” सबै आमाबाबुको भावनाको प्रतिनिधित्व आज मेरा मनले गरे जस्तो मलाई लागिरहेको थियो ।

सानी नातिनी सान्भी नयाँ गाडी ल्याउने दिन सबैभन्दा बढी दंग परेकी थिई । ऊ अंग्रेजीमा भनिरहेकी थिई– “रेड कार उसको ड्रिम कार रे, ऊ भोलिदेखि त्यसैमा स्कुल जाने रे !” नाति प्रशम पनि दंग थियो, ऊ बेलाबेला भनिरहेको थियो– “गाडी लिन कति खेर जाने ? गइहालौं न !” प्रशमलाई सबै गाडीहरूका बारेमा ज्ञान छ । त्यसैले ऊ बेलाबेला सोधिरहेको थियो– “गाडी चाहिं कुन किन्ने हो बाबा ?”
“भरे नै थाहा हुन्छ”, उहाँले सबै कुरा खुलाउनुभएको थिएन ।

दिउँसो तीनबजेतिर नातिनातिनी, छोरी ज्वाइँसँग गाडी लिन गयौं । हाम्रो गाडी त टेस्लाको शोरुममा गएर पो अडियो । त्यहाँ पुगेपछि पो हामीले टेस्ला गाडी रहेछ भन्ने अड्कल काट्यौं ।

गाडीको टेस्ट ड्राइभकालका लागि कम्पनीले अर्को रातो रंगको टेस्ला कार दियो । आम्मै, त्यसका ढोका त पुतलीको पखेटा जस्तो भएर पो खुल्दा रहेछन् । त्यो देखेर मन निकै रमायो । टेस्लाका एक जना स्टाफले गाडीभित्र बसेर हाम्रा ज्वाइँछोरीलाई गाडी चलाउने तरिका सिकाइदिए । गाडीलाई सेल्फ ड्राइभमा कसरी चलाउने, बोलेर गाडीलाई आफ्नो इशारामा कसरी कुदाउने, रोक्ने भनेर पनि गाडीको अगाडि भएको कम्प्युटर चलाउँदै सिकाइदिए । हाम्री छोरीले गाडीलाई सेल्फ मोडमा राखेर आफू ड्राइभर सिटमा बसिन् । हामी दुईजना मख्ख परेर पछिल्लो सिटमा बसी गाडीको कम्प्युटर स्क्रिनमा आँखा दौडाउन थाल्यौं । सेल्फ ड्राइभ मोडमा नराख्दा गाडीले अगाडि सेतो प्रकाश फाल्दो रहेछ । सेल्फ ड्राइभमा राख्दा नीलो रंग फाल्दो रहेछ ।

गाडीलाई सेल्फ ड्राइभ मोडमा राखेपछि त्यसले आफ्नो ठिक सामु नीलो रंगको उज्यालो पोख्दो रहेछ, त्यसैमाथि ऊ आफैं पो चल्दो रहेछ, स्टेरिङ आफैं घुम्ने, ब्रेक आफैं लाग्ने, दायाँबायाँ आफैं गर्ने, स्पिड बढाउने र घटाउने पनि आफैं, लेन परिवर्तन उसले आफैं गर्दो रहेछ । रातो बत्तीमा आफैं रोकिने र हरियोमा सरर्र आफैं जाने हुँदोरहेछ । ड्राइभर सिटमा मानिस बसेर आफू जाने ठाउँको ठेगाना राखेपछि उसले आफैं गन्तव्यमा सहजै पुर्‍याउँदो रहेछ । अर्को कुरा टेस्ला विद्युतीय गाडी भएकोले त्यसलाई पेट्रोल, डिजल केही नचाहिने, इन्जिन नै नभएको गाडी पो रहेछ, विद्युतीय चार्जबाट चल्दोरहेछ । अझ उदेकको कुरा त गाडी चल्दाचल्दै चार्ज सकिन लाग्यो भने टेस्लाले चार्ज स्टेसन आफैं खोजेर आफूलाई पुर्‍याउँदो रहेछ । यस्ता अनेक कुराको जानकारीले मलाई आश्चर्यचकित बनायो । अनि मैले मनमनै भने :

मान्छेले कति के गर्‍यो पिइसक्यो ब्रह्माण्ड नै तन्तनी,
हाम्रा बाहुन छामी मक्ख छन् अझै टुप्पी, जनै, कन्दनी !

एकजना साथीले त चप्पलको दाम पनि सोधेको थियो । तर मलाई थाहा भए पो दाम भन्नु । मैले भने “यी चप्पल मेरी दिदीका हुन्, भिनाजुले दिदीलाई किनिदिनुभएको । मैले त आज एकदिन मात्रै लगाएको हो ।”
त्यसदिन स्कुलको सिंगो माहोल मेरा चप्पलका वरिपरि फन्का मारिरहेको मलाई अनुभूति भइरहेको थियो

टेस्ला कारको कम्प्युटर स्क्रिनमा हेर्दा पछाडि दायाँ र बायाँबाट आफू चढिरहेको कार आफैंले प्रष्टसित देखिंदो रहेछ । आफू बसेको कार परबाट आफैंले देखिने एलन मस्कले गज्जबको प्रविधि भित्र्याएको महसुस गरिरहेका थियौं । हामीले मस्कलाई मनमनै धन्यवाद दियौं ।

आज टेस्ला गाडी चढेर अमेरिकामा घुम्दा मलाई मनले आफ्नो विगतमा पुर्‍यायो ।

म पाँच–छ वर्षको हुँदा मेरो एउटा साथी थियो नवराज । ऊ बाबुआमाको एक्लो छोरो थियो । एकदिन ऊ मलाई देखाउन जुत्ता लगाएर हाम्रो आँगनमा आयो । त्यसदिन मैले पनि नवराजका जस्ता जुत्ता किनिदिनु भनेर रोइकराई गरें ।

हाम्रा घर नजिकै दामाली साहु भन्ने एकजना मानिस बस्नुहुन्थ्यो । उहाँले मलाई भन्नुभयो, “बाबूलाई कस्तो जुत्ता चाहिएको, नरोऊ यही आउँदो बुधवार इटहरी हाटमा गएर एकजोर राम्रा जुत्ता ल्याइदिन्छु । लु चुप लाग ।”

मैले उहाँका कुरामा विश्वास गरेको थिएँ । कहिले बुधबार आउला भनेर म दिन गन्दैथिएँ । बुधबारको दिन पनि आयो, साँझमा दामाली साहुले जुत्ता ल्याइदिनुहोला भन्ने कत्रो आशा र विश्वास सँगालेर राखेको थिएँ । तर उहाँले ल्याउनुभएन । उहाँले भन्नुभयो “ला, बाबू भुसुक्कै बिर्सेछु, अर्को हप्तामा पक्का ल्याइदिन्छु ।”

म अर्को बुधबारको प्रतीक्षामा हुन्थें । “बाबू आज त इटहरी हाटमा जुत्ता–चप्पल केही बेच्नै ल्याएनछन् ।” अर्को हप्ता, अर्को हप्ता, अनि अर्को हप्ता गर्दै उहाँले मलाई अनेक बिंगा लगाएर जुत्ता किन्न नपाएको कुरा गर्नुहुन्थ्यो । तर मैले आश गर्न छाडिनँ । एक दिन त दामाली साहुले रातो रंगका कपडाका जुत्ता ल्याएर मलाई दिनुभएको थियो, जुत्ता लगाएर आँगनमा उफ्रिंदै थिएँ, झल्याँस्स बिउँझिएछु । त्यो सपनापछि त दामाली साहुले पक्कै ल्याइदिनुहुनेरहेछ जुत्ता भनेर मनको मझेरीमा आशाको दियो बालेर बसिरहें ।

फेरि अर्को बुधबार, अर्को गर्दै कैयौं बुधवार बिते उहाँले मलाई आश मात्र देखाउनुभयो तर जुत्ता ल्याइदिनुभएन । निकै दिन उहाँलाई पछ्याएँ । अब विस्तारै उहाँप्रति बलिरहेको आशा र विश्वासको दियो झ्याप्प निभ्यो । उहाँका छोराछोरी धेरै जना थिए । उनीहरू कसैका खुट्टामा जुत्ता चप्पल नदेख्दा उहाँले मेरा लागि किनिदिनुहोला भन्ने त विश्वासै हरायो ।

मधेशमा जग्गा जमिन आफूलाई पुग्नेथियो, के खाउँ के लाउँको खासै दुःख नभए पनि त्यसबेला गोडामा जुत्ता–चप्पल लगाउने चलन चाहिं त्यति थिएन । बाहरू कमिज–सुरुवाल, जुत्ता, मोजा लगाएर हिंड्नुहुन्थ्यो, आमाका गोडा पनि भुइँमै हुन्थे । हामी केटाकेटीका गोडामा पनि जुत्ताचप्पल ल्याइदिनुपर्छ भन्ने सोच नै कसैको हुँदैनथ्यो ।

म स्कुल जान थालें । स्कुलमा जति साथीहरू थिए सबैका गोडा खाली हुन्थे, जुत्ता न चप्पल । कोही कोही त शिक्षकहरू पनि खाली गोडा पढाउन स्कुल आउनुहुन्थ्यो ।

कमला दिदीको भर्खरै विवाह भएको थियो । विवाहपछि उहाँ दुल्हन फर्काउन आउँदा लगाउनुभएको थियो सीएससी चप्पल । मैले ती चप्पलभित्र आफ्ना गोडा छिराएर एकछिन आँगनमा घुमेको त एक तमासको अनुभव भयो । सोचें यस्तै चप्पल लगाएर सधंै हिंड्न पाए कस्तो मजा हुने रहेछ, हिंड्दा पनि फ्याट् फ्याट आवाज आएको निकै मन पर्‍यो । को मान्छे आउँदैछ भन्ने परैबाट थाहा हुने, कस्तो स्वाद ! त्यस साँझ दिदीका चप्पल लगाएर म निकै बेर आँगनमा घुमें, घुम्दाघुम्दा गोडै फत्रक्क गलेपछि चप्पल दिदीलाई दिएँ ।

भोलिपल्ट बिहान स्कुल जाने बेलामा दिदीका छेउमा गएर बिस्तारै भने “दिदी, आज एउटा कुरो भन्छु, तपाईं मान्नुहुन्छ ?”

“के कुरो भन्, के तँलाई मेरा चप्पल चाहियो ?” दिदीले सोध्नुभयो ।

“सधैंलाई होइन क्या दिदी, आज एकदिन लगाएर स्कुल जान्छु न ल ?”

दिदीले भन्नुभयो “हराउन त हराउँदैनस् नि ?”

“हराउँदिन, गोडामा लगाएको चप्पल पनि हराउँछु त ! पक्का, हुन्छ दिदी ?” मैले भनें ।

मेरो ढिपीले दिदीले स्वीकृतिसूचक टाउको हल्लाउनुभयो । त्यसदिन म चप्पल लगाएर साजिलाल स्कुल दुलारी पढ्न जाने भएँ ।

कतिखेर चप्पल पड्काउँदै स्कुल जाने होला भनेर म समयको प्रतीक्षा गरिरहेको थिएँ । बल्लबल्ल आठ मात्र बजेको थियो । बालाई बारम्बार समय सोध्थें, मनमनै भने “आज त नौ पनि कति ढिलो बजेको होला !”
मैले फेरि बालाई समय सोधें “पौने नौ बज्यो ।”

२०२६ सालतिर कक्षा ९ मा पढ्दा मैले पहिलो पल्ट बाटा कम्पनीका चप्पल किनेर लगाएँ । त्यसबेला मेरा थुप्रै साथीहरूले चप्पल लगाउन थालिसकेका थिए । हामीले मात्र जुत्ता चप्पल लगाउन ढिला गरेका हौं कि जस्तो लाग्थ्यो, काठमाडौं जुद्धोदयबाट मसँगै एसएलसी पास गर्ने गोरखापत्र संस्थानका सहकर्मी मित्र श्यामसुन्दर शर्माले पनि कक्षा आठमा पुगेपछि जुत्ता लगाएको अनुभव मलाई सुनाउनुभएको थियो

अझै १५ मिनेट त बाँकी नै थियो । माथ्ला टोलबाट साथीहरू आउँछन् अनि आफू पनि निस्कनुपर्ला भनेर उनीहरूको बाटो हेरेर बसें । उनीहरू हाम्रा घर नजिक आएपछि म पनि बडो फुर्तिसाथ निस्किएँ ।

म उनीहरूका छेउमा पुगेपछि उनीहरू सबैका आँखा मेरा चप्पलमा थिए । दानबहादुरले भन्यो “लक्ष्मी, एक पल्ट चप्पल खोल त म लगाउँछु, कस्तो हुँदोरहेछ !”

करिब ५० पाइला चप्पलमा हिंड्यो दानबहादुर । उसले चप्पल लगाएर हिंड्दा त बडो मजा आएको कुरा बतायो । त्यसपछि कृष्णबहादुर घलेको पालो थियो । उसले पनि एकछिन लगाएर मलाई दियो । त्यो दिन मेरो व्यक्तित्व पाँच फिट माथि उचालिएको ठानिरहेको थिएँ ।

स्कुल पुगियो । त्यहाँ पुग्दा त स्कुल नै थर्कियो । सबैका मुखमा एउटै कुरा थियो “आज लक्ष्मीधर चप्पल लगाएर स्कुल आएको छ ।”

क्लासमा म अगाडि बेन्चमा बसेको थिएँ, लाग्थ्यो कक्षाभरिका सबैका आँखा आज मेरा गोडामा छन् । छेउमा बसेको साथीले भन्यो “साथी, आज टिफिनमा तिम्रो चप्पल लगाएर एकछिन हिंड्न देऊ है ! म पनि एकपल्ट आफ्ना गोडामा लगाएर हेर्नुपर्‍यो । मजा आउँदो रहेछ भने मंसिरमा मुसाले आलीभित्र लगेको धान खोजेर भए पनि एकजोर चप्पल त किनेरै छाड्छु ।”

टिफिन टाइम सुरु भयो । आफूभन्दा ठुलो क्लासका दाइ साथीहरू पनि एकछिन चप्पल लगाउन माग्थे । स्कुलभरिका साथीहरूले मेरा चप्पल एकछिन पड्काउँदै हिंड्थे, अनि ल्याएर मलाई दिन्थे । त्यसदिन सम्झन्छु, मेरो भाउ निकै तेजी भएको थियो ।

एकजना साथीले सोधेको थियो “के यो चप्पल तिम्रै हो ?”

मैले जे हो त्यही भनेको थिएँ ।

एकजना साथीले त चप्पलको दाम पनि सोधेको थियो । तर मलाई थाहा भए पो दाम भन्नु । मैले भने “यी चप्पल मेरी दिदीका हुन्, भिनाजुले दिदीलाई किनिदिनुभएको । मैले त आज एकदिन मात्रै लगाएको हो ।”
त्यसदिन स्कुलको सिंगो माहोल मेरा चप्पलका वरिपरि फन्का मारिरहेको मलाई अनुभूति भइरहेको थियो ।

सातौं घण्टी पढिसकेर घर फर्किएँ । म घर पुग्दा कमला दिदी आँगनमा हुनुहुन्थ्यो । उहाँले मेरा गोडामा हेरेर भन्नुभयो “ओई तैंले लगाएका चप्पल खोइ त ?”

किताब कापी त्यहीं छोडेर म दौडिएँ । फिम्राहादेखि उत्तरपट्टिको बाँसघारीका नजिकै चप्पल खोलेर लघुशंका गर्न गएको सम्झना झलक्क दिमागमा आयो ।

वायुवेगमा दौडिएर म त्यहाँ पुगें तर अपसोच, चप्पल त्यहाँ थिएनन् । त्यसबेला के गर्नु न कसो गर्नु भयो मलाई । निकैबेर त्यहीं बसेर रोएँ । झिमिक्क साँझ परेपछि बडो बोझिला पाइला लिएर म घर फर्किएँ । घरमा चप्पल हराएको कुरा ब्यानर समाचार भएको रहेछ ।

मेरो भोक, तिर्खा, थकाइ सबै हरायो । घर पुगेपछि आमाका काखमा गएर घुँक्क घुँक्क गर्दै रोएँ म । आमासित भने– “मैले बाँसघारी नजिक चप्पल खोलेर सु गर्न गएको, पछि चप्पल लगाउन बिर्सेर हिंडेछु । थाहा पाएपछि दौडिएर जाँदा चप्पल अर्कैले चप्काइदिएछ ।”

आमाले मलाई सान्त्वना दिंदै भन्नुभयो “नरो, म भोलि इटहरी हाट गएर दिदीलाई एकजोर चप्पल किनेर ल्याइदिउँला । हरेक कामकुरामा होश पुर्‍याउनुपर्ने । ढंग पुर्‍याउँदैनौ । अनि दुःख पाउँछौ । किन रोइस् मङ्गले आफ्नै ढंगले ।” आमाका भनाइले खुसीको सीमा भएन ।

त्यसपछि त मैले दिदीका चप्पल लगाउने कहिल्यै आँट गरिनँ ।

२०२६ सालतिर कक्षा ९ मा पढ्दा मैले पहिलो पल्ट बाटा कम्पनीका चप्पल किनेर लगाएँ । त्यसबेला मेरा थुप्रै साथीहरूले चप्पल लगाउन थालिसकेका थिए । हामीले मात्र जुत्ता चप्पल लगाउन ढिला गरेका हौं कि जस्तो लाग्थ्यो, काठमाडौं जुद्धोदयबाट मसँगै एसएलसी पास गर्ने गोरखापत्र संस्थानका सहकर्मी मित्र श्यामसुन्दर शर्माले पनि कक्षा आठमा पुगेपछि जुत्ता लगाएको अनुभव मलाई सुनाउनुभएको थियो ।

त्यसपछि मैले एस.एल.सी दिएर गाउँको विद्यालयमा पढाउन थालेपछि एक जोर बाँसबारी छालाजुत्ता कम्पनीका जुत्ता र भारतीय रेल्वे कम्पनीको साइकल किनें । त्यो साइकललाई म हरदम पुछिरहन्थें, हेरिरहन्थें, सफा पारिरहन्थें । राति चलाउनका लागि त्यसमा अगाडि बल्ब पनि लागेको थियो । त्यो साइकल लिएर हिंड्दा पहिले चप्पल लगाएर हिंडेजतिको खुसी नभए पनि निकै आनन्द लागेको थियो ।

गोरखापत्र दैनिकमा उप–सम्पादक भएपछि केही वर्षपछि मलाई संस्थानले नयाँ मोटरसाइकल दियो । त्यो मोटरसाइकल चढ्दा पनि चप्पल लगाएजत्तिको आनन्द त कहाँ हुनु नि ?

त्यसपछि छोराले निकै समयको तलब जम्मा गरेर हुण्डाईको इयोन कार किनिदियो, त्यो गाडी चलाउँदा चप्पल, रेल्बे साइकल, मोटरसाइकल आदिको आनन्दलाई उछिने जस्तो लाग्यो । छोराछोरीको पुरुषार्थप्रति मानिसलाई एउटा छुट्टै खालको गर्वको अनुभूति हुँदोरहेछ ।

चप्पलबाट साइकल, साइकलबाट मोटरसाइकल, मोटरसाइकलपछि कार पछि छोरीज्वाइँको लेक्सस र अकुरा कारपछि आज टेस्ला कारमा चढेर संयुक्त राज्य अमेरिकाका विभिन्न ठाउँ घुम्न पाउँदा गर्वले छाती फुलेको, स्नेहले पग्लेको अनि विगतको सम्झनाले द्रविभूत भएको थियो ।

(गुरागाईं गोरखापत्र दैनिकका पूर्व प्रबन्ध सम्पादक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?