५ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल खेल शनिबार हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरू हुने फाइनल खेलका लागि नेपाली क्रिकेट समर्थकहरूमाझ उत्साह भने धेरै अगाडिदेखि नै हुनेछ । मैदानबाहिरका लाखौं र मैदानभित्रका हजारौं क्रिकेट समर्थकको उत्साहका बीच शनिबारको बहुप्रतीक्षित खेलपछि एनपीएलको ऐतिहासिक प्रथम संस्करणको विजेताको टुङ्गो लाग्ने छ ।
खेल सुरू हुनुभन्दा करिब ३६ घण्टा अगाडि नै फाइनल खेलको जनरल टिकट सोल्ड आउट भइसकेको थियो । सुदूरपश्चिमको खेलमा अन्य बेलामा पनि उल्लेख्य रूपमा धेरै समर्थकहरूको मैदानमा उपस्थिति हुने गरेको छ । शनिबार फाइनल त्यसमाथि पनि बिदाको दिन परेकाले फाइनलको दिन त्रिवि क्रिकेट मैदान ‘फूल-प्याक’ हुने कुरा पक्कापक्की छ ।
फाइनल खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी र जनकपुरका कप्तान आसिफ शेख दुवैले हजारौं दर्शकमाझको यस फाइनल खेलका लागि तयार रहेको बताए । मैदानमा दर्शकको उपस्थितिले ऊर्जा र मोटिभेसन मिल्ने दुवैको साझा धारणा थियो ।
राम्रो तालिम भइरहेको बताउँदै सुदूरका कप्तान दिपेन्द्रले जनकपुरलाई लिग चरणमा दुईपटक हराएको भएपनि हल्का रूपमा लिन नहुने बताए । ‘जनकपुरको टिम पनि राम्रो छ, टफ नै हुन्छ । हामी जुन प्लानिङ गर्दै खेलिरहेका छौं त्यसैगरी फाइनलको लागि पनि तयारी गरिरहेका छौं’ दिपेन्द्रले भने ।
जनकपुरका कप्तान आसिफले सुदूरपश्चिम बलियो टोली रहेको बताउँदै पछिल्ला खेलमा आफूहरूले बेस्ट दिन नसकेको उल्लेख गरे । जित्नु छ भने आफ्नो बेस्ट दिनुपर्छ, दुई खेल खेल्दा पनि बेस्ट दिएका छैनौं, शनिबारको खेलमा उत्कृष्ट खेल्ने प्रयास रहनेछ, कम्पिटेटिभ हुनेछ गेम’ उनले भने, ‘हामी प्रोसेसलाई फलो गर्दै जाने हो, खेलाडीहरूलाई ब्याक गरिराख्छौं अनि हौसला पनि दिइरहेका छौं।’
पछिल्ला दुई खेलमा व्यहोरेको हारलाई सम्झनुभन्दा पनि आफूहरूले राम्रो क्रिकेट खेल्ने र सकेको बेस्ट प्रदर्शन गर्ने आसिफको भनाइ थियो । ‘पछिल्ला हारको बदला लिनेभन्दा पनि आफुले उत्कृष्ट प्रदर्शन गर्ने हो । नतिजा जे भएपनि मैदानबाट बाहिर आउँदा सबैसँग जेजति छ त्यो सबैले आफ्नो बेस्ट दिएको महसुस हुनुपर्छ’ उनले भनेका छन् ।
पछिल्ला खेलमा ब्याटिङमा समस्या देखिएको बताउँदै उनले फाइनलमा कमजोरी सुधार्ने प्रयास रहने बताए । ‘पछिल्ला दुई खेलमा आफ्नो बेस्ट खेल दिन सकेका छैनौं । आशा छ शनिबारको फाइनलमा हामी आफ्नो बेस्ट दिने कोसिस गर्ने छौं’, आसिफले थपे ।

टिममा अनुभवीसँगै राम्रा युवा खेलाडी भएको भन्दै आसिफले फाइनल खेलमा ब्याटिङबाट एउटा राम्रो सुरूवात दिलाएर फिनिसरहरूलाई राम्रो प्लाटफर्म शेट गर्ने कुरामा आशावादी रहेको बताए । ‘हामीसँग यू-१९ खेलेका राम्रा ब्याटर छन्, म आफैं पनि टप अर्डरमा छु । त्यसैले एउटा राम्रो सुरूवात दिएर फिनिसङका लागि अन्तिम ४ ओभरमा खेल्न राम्रो शेटअप गराउन जरूरी छ’ आसिफले भने ।
प्रतियोगितामा विदेशी खेलाडीहरू बढी चलेको कुराबारे कुरा गर्दै आसिफले भने, ‘सकेसम्म नेपाली खेलाडीहरूले राम्रो खेलुन् भन्ने पनि हो । विशेषगरी नेपाली घरेलु खेलाडीहरूले खेल जिताऊन् भन्ने हो।’
दिपेन्द्रले पनि फाइनल खेलमा दबाब नलिइकन खेल्नुपर्ने र आफ्नो तर्फबाट बेस्ट दिनुपर्ने बताए । ‘फाइनल हो, जित र हार आफ्नो ठाउँमा छ । दुईमध्ये एक टिमले मात्र जित्ने हो फाइनल, आफ्नो तर्फबाट शतप्रतिशत दिनुपर्छ भन्ने कुरा हो’, उनले भने ।
विशेषगरी यी दुई टोलीबीचको खेलमा दर्शकहरूको पनि उल्लेख्य संख्यामा उपस्थिति हुने गरेको छ । मैदानमा दर्शकको यस्तो उपस्थिति हुनु समग्र नेपाली क्रिकेटकै लागि राम्रो भएको दुवैले बताएका थिए ।
‘दर्शकहरूको उपस्थितिलाई हामीले मोटिभेसनको रूपमा लिएका छौं कुनै प्रेसरको रूपमा लिएका छैनौं । उहाँहरूले समग्र नेपाली क्रिकेटकै लागि माया देखाइरहनुभएको छ त्यो हामी सबैको लागि एउटा सकारात्मक पक्ष हो’, आसिफले भने ।
दिपेन्द्रको भनाइ पनि त्यस्तै थियो । उनले पनि दर्शकको उपस्थिति भनेको मोटिभेसनकै रूपमा रहने बताए । ‘मोटिभेसन नै हो, सुदूरपश्चिमको समर्थनमा त धेरै नै देखिनुभएको छ त्यसका लागि धेरै धन्यवाद भन्न चाहन्छु, फाइनलमा पनि यस्तै समर्थन अवश्य हुनेछ’, दिपेन्द्रले भने ।
आसिफले यो लेभलमा खेल्नका लागि सबै खेलाडीहरूको मनोबल उच्च हुनुपर्ने बताए । ‘यो लेभलको क्रिकेटमा लागि सबैजना मेन्टल्ली स्ट्रङ हुनुपर्छ, जुनसुकै परिस्थितिमा पनि एडाप्ट हुन सक्नुपर्छ, त्यो खुबी भएका प्रतिभावान् खेलाडीहरू हामीसँग छन् त्यसकारण नै यो स्टेजमा खेल्न सबैले डिजर्भ गरेका छन्’ उनले भने, ‘ब्याटिङमा क्लिक हुन मात्र नसकेको हो त्यसैले हामीले सबै खेलाडीहरूलाई ब्याक गर्दै हौसला दिइरहेका छौं।’
आफ्नो व्यक्तिगत प्रदर्शनबारे कुरा गर्दै आसिफले व्यक्तिगत भन्दा पनि टिमका लागि राम्रो प्रदर्शन गर्दै ब्याटिङ र फिल्डिङबाट सक्दो राम्रो प्रदर्शन गर्न सकूँ भनेर सोच्ने गरेको उनले बताए । ‘कहिलेकाहीं मिहिनेत गर्दागर्दै पनि सोचेको जस्तो भइरहेको हुँदैन, आफूले सकेको योगदान भने दिने प्रयास गरिराख्नुपर्छ’, आसिफले भने । खेलको विजेता जो भएपनि अन्तिममा नेपाली क्रिकेटकै जित हुने उनले बताए ।
‘सबैले आ-आफ्नो टिमलाई समर्थन गर्नुभएको छ, समग्र नेपाली क्रिकेटलाई पनि समर्थन यो, घरबाटै पनि समर्थन गर्न सक्नुहुन्छ । जहाँ भएपनि क्रिकेटसँगको कनेक्सन हुनु महत्वपूर्ण हो । आउने जतिले गेम इन्जोए गर्नुहोला, झगडा नगरिदिनुहोला’, दिपेन्द्रको पनि भनाइ थियो ।
सुदूर र जनकपुर प्रतियोगितामा तेस्रोपटक भिड्न लागेका हुन् । यसअघि लिग चरणमा भएको भेटमा सुदूरले जनकपुरलाई ५१ रनमा अलआउट गर्दै ७२ रनको फराकिलो जित निकालेको थियो । त्यसैगरी पहिलो क्वालिफायरमा जनकपुरमाथि ८ विकेटको जित निकालेर सुदूर सोझै फाइनलमा पुगेको थियो ।
अब तेस्रो भेटमा सुदूरले दबदबा कायमै राख्ला वा जनकपुरले कमब्याक गर्दै एनपीएलको पहिलो उपाधि आफ्नो पोल्टामा पार्ला ? त्यो हेर्न अब धेरै कुर्नुपर्ने छैन ।
 
                    










 २०८१ पुष  ५ गते २१:२३
                        २०८१ पुष  ५ गते २१:२३                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4