
साँझ ढल्कँदै थियो । अमरपट्टीकी ३४ वर्षीया कृतिका साह खेतको गरामा खुट्टा पसारेर आराम गरिरहेकी थिइन् । उनी तीन महिनाकी गर्भवती रहिछिन् । ‘यसपालि छोरो जन्मियोस्’ भनी गरेको भाकल बुझाउन उनी आफ्ना श्रीमान् र सानी छोरीका साथमा गढीमाई मेला आइपुगेकी थिइन् । उनीहरूले ऋण गरेर एउटा पाडो र बोको ल्याएका रहेछन् । साथमा नगद पाँच सय पनि ।
सानो त्रिपालमा ओत लागेर रात कटाउने सुरसारमा थियो, यो परिवार । उनीहरूको खुट्टामा जुत्ता थिएन । जबकि घण्टौं-घण्टा हिंडेर आएको बताइरहेका थिए । उनीहरूसँग पुग्दो खानेकुरा पनि थिएन । आलुचप र सुख्खा मुरई खाएर भोक मेटिरहेका थिए ।
उस्तै दशामा थिए, सुरेश चौधरी र उनकी श्रीमती पनि । नेपालगञ्जबाट लगभग १४ घण्टाको बस यात्रा गरेर उनीहरू गढीमाई आइपुगेका थिए, भाकल बुझाउन । लामो यात्राको थकान र भोक मेट्न उनीहरू नजिकका होटल-लज चहार्दै थिए । तर, त्यहाँ खान-बस्न औधी महँगो भएपछि ती दम्पती खुला आकाशमुनि रात काट्ने सुरसारमा लागे ।
मूलतः मधेश तथा भारतका विहार र उत्तरप्रदेशबाट गढीमाईमा भाकल बुझाउनेको ओइरो लाग्छ । यसरी भाकल बुझाउन आउनेहरूमध्ये अधिकांश आर्थिक रूपले विपन्न जस्ता देखिन्थे । कतिपय घण्टौंसम्म पैदल यात्रा गरेर त्यहाँसम्म आएका थिए । उनीहरूमध्ये कतिको खुट्टामा जुत्ता–चप्पल हुँदैनथ्यो । खानका लागि मुरई, चिउरा र पानी बोकेका थिए ।
साँझपख त्यहाँ बाक्लो हुस्सु लाग्थ्यो । र, दिनभर न्यानो भए पनि रातमा चिसो बढ्थ्यो । त्यस्तै चिसो रातमा उनीहरू पातलो तन्ना बिछ्याएर निदाउने प्रयास गरिरहेका देखिन्थे । पुग्दो खाना र बस्ने व्यवस्था नभए पनि उनीहरूले आफ्नो साथमा भाकल बुझाउनका लागि पाडा, बोका र परेवा ल्याएका थिए ।
‘गढीमाईमा भाकल बुझाउनैपर्छ’ भन्ने बाध्यात्मक मनोदशामा थिए उनीहरू । हामीले उनीहरूसँग गरेको अनौपचारिक कुराकानीबाट के थाहा हुन्थ्यो भने, भाकल नबुझाएसम्म घरमा अशान्ति, दुःख, अभाव रहिरहन्छ । घरमा रोगव्याधि लागेमा, अकाल मृत्यु भएमा, कलह भएमा, ऋण लागेमा भाकल बुझाउनुपर्छ भन्ने सोचाइ रहेछ । खासगरी निःसन्तानपनलाई पनि उनीहरूले भाकलसँग जोड्ने गरेको पाइयो । गर्भ रहेमा भाकल पूरा भएको र गर्भ नबसेमा भाकल पूरा नभएको मान्ने रहेछन् । त्यसैले भाकल बुझाउनका लागि ऋणपान गर्न, घण्टौं हिंड्न, भोकतिर्खा सहन तयार थिए उनीहरू ।
जति धेरै भाकल गरिन्छ उत्ति नै संख्यामा पाडा, बोका वा परेवा ल्याउने गरेको पाइए । एउटै परिवारले दुई वा तीन वटासम्म पाडा डोर्याउँदै गरेका भेटिन्थे ।
यसरी भाकल बुझाउन आउनेमा बुढापाका, महिला, बालबच्चा देखिन्थे । गर्भवती र भर्खर सुत्केरी भएका समेत भाकल बुझाउन आएका पाइयो । कतिपय काखे बच्चा च्यापेर आएका थिए । साना बालबच्चाहरू बोका, पाडा डोर्याउँदै गरेका हुन्थे । आफूसँग पुग्दो खान लाउन नभए पनि भाकलका लागि आवश्यक पैसा र पशु जोहो गरेका थिए । गढीमाईमा पाडो भाकल बुझाएसँगै पाँच सय रुपैयाँ पनि बुझाउनुपर्ने रहेछ ।
सबैभन्दा बढी पशुबलि दिने ठाउँको रूपमा चिनिन्छ, गढीमाई मेला । यहाँ हजारौंको संख्यामा पशुको हत्या गरिन्छ । गढीमाई मेला हरेक पाँच वर्षमा लाग्ने गर्छ ।
वर्षौं पहिले हत्या अभियोगमा जेल सजाय भोगिरहेका भगवानदास चौधरी नामक व्यक्तिले सपनामा गढीमाई देवी देखेको र देवीले पशुबलि दिएमा जेलमुक्त हुने बताएको लोकोक्ति छ । त्यसै आधारमा अहिलेसम्म पशुबलि दिइने परम्परा छ । यसरी पशुबलि दिएपछि दुःख तथा समस्याहरू समाप्त हुने स्थानीयको विश्वास रहेछ ।
मेलामा आएका कतिपय भने बलि प्रथाको पक्षमा थिएनन् । यसले मधेशका सर्वसाधारणलाई अन्धविश्वास र अझ गरिबीको चक्रमा फसाउँदै लगेको उनीहरूको तर्क थियो । त्यहाँ ल्याइएका बालबालिकालाई यस्तो हिंस्रक कृत्यमा सहभागी गराउन र त्यस्तो दृश्य देखाउन नहुने बताइन्छ । यसले उनीहरूको मनोविज्ञानमै असर गर्न सक्ने र हिंसालाई सामान्य ठान्ने मनोवृत्ति विकास हुने उनीहरू बताइरहेका थिए । ‘यसलाई उनीहरूको आस्था र विश्वाससँग जोडिएका कारण विरोध जनाउन त सकिंदैन’ अनामिका ढुंगाना भन्दै थिइन्, ‘तर ती पशुको प्रतीकको रूपमा नरिवल वा फलफूल प्रयोग गरिएमा राम्रो हुन्थ्यो ।’
प्रतिक्रिया 4