+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सिमी खेतीमा समर्पित शरनबारी, वार्षिक ८ करोडको बिक्री

शरनबारी गाउँका सबै किसानको आम्दानीको मुख्य स्रोत सिमी हो । उनीहरुले यो वर्ष ८ करोड रुपैयाँ बराबरको सिमी बिक्री गरिसकेका छन् । अर्गानिक भएकाले स्वास्थ्यप्रति सचेत उपभोक्ताको रोजाइमा शरनबारीको सिमी पर्ने गरेको छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८१ पुष १२ गते १५:५९

१२ पुस, बुटवल । देवदह–६ माथिल्लो शरनबारीका बसन्त जर्घाले यो सिजनमा मात्रै साढे दुई लाख रुपैयाँको सिमी बिक्री गरे । असोजमा धान बाली भित्राएलगत्तै उनले एक बिघा १० कठ्ठामा सिमी खेती शुरु गरे । जर्घाले माघसम्म अझै ५० हजार बराबरको सिमी बिक्री हुने अनुमान गरेका छन् ।

देवदह–६ माथिल्लो शरनबारीकै तिलकसिंह रानाले यस वर्ष दुई लाख रुपैयाँ बढीको सिमी बिक्री गरे । रानाले पनि एक बिघा जग्गामा सिमी खेती गरेका छन् । ‘मंसिर पहिलो हप्तादेखि बेच्न शुरु गरेको दुई लाख भन्दा धेरैको सिमी बेचिसकें’ रानाले भने, ‘माघसम्म फल्छ, त्यो बेलासम्म अझै ४०–५० हजारको बेच्छु ।’

देवदह–६ तल्लो शरनबारीकी लालकुमारी सिंजालीले पनि ४० हजारको सिमी बिक्री गरेको बताइन् । बसन्त, तिलक सिंह र लालकुमारी जस्तै शरनबारी सिंगो गाउँका प्रत्येक परिवार कृषिमा आश्रित छन् । दुई घर दलित बाहेक सबै मगर समुदायको बसोबास रहेको शरनबारी अर्गानिक खेतीको पहिचान बोकेको नमूना बस्ती हो ।

शरनबारीमा १६० घरधुरी छन् । गाउँभरिको जनसंख्या ६३५ मात्रै छ । यहाँका बासिन्दाको न्यूनतम ५ कठ्ठादेखि डेढ बिघासम्म खेत छ । उनीहरुले धान सहित सबै खेतीमा प्रांगारिक मल मात्रै प्रयोग गर्ने बताउँछन् ।

तर गाउँका सबै किसानको आम्दानीको मुख्य स्रोत सिमी हो । यो वर्ष शरनबारी गाउँका किसानले ८ करोड रुपैयाँ बढीको सिमी बिक्री गरिसकेका छन् ।

अर्गानिक भएकाले स्वास्थ्यप्रति सचेत उपभोक्ताको रोजाइमा शरनबारीको सिमी पर्ने गरेको छ । सजिलै बिक्री हुने भएकाले बुटवलका थोक तरकारी ब्यापारीहरु गाडी लिएर शरनबारीका घर–घरमा सिमी खरिद गर्न पुग्छन् ।

किसानलाई बिक्री नहोला भन्ने समस्या छैन । तर नगरपालिकाले समर्थन मूल्य नतोकेकाले बिचौलिया हावी हुने गरेका छन् ।

किसानले थोक ब्यापारीलाई मंसिर पहिलो साता प्रतिकेजी १२० रुपैयाँमा बेचेको सिमीको मूल्य अहिले ५० रुपैयाँमा झरेको माथिल्लो शरनबारीका किसान तिलकसिंह रानाले बताए । ‘नगरपालिकाले समर्थन मूल्य नतोक्दा बिचौलियाले अनेक बहाना देखाएर राम्रो मूल्य दिन खोज्दैनन्’ रानाले भने ।

देवदह नगरपालिका वडा नं ६ का अध्यक्ष खेमबहादुर थापा पनि शरनबारीका किसानले उचित मूल्य पाउन नसकेको स्वीकार्छन् । ‘यो वर्ष शरनबारीले करिब ८ करोड रुपैयाँको सिमी उत्पादन गरेर बेचेको छ’ वडाध्यक्ष थापा भन्छन्, ‘बजारको समस्या छैन, तर बिचौलिया व्यापारीको मिलेमतोले किसानले उचित मूल्य पाउन सकेका छैनन् ।’

गाउँमा सिंचाइको पर्याप्त सुविधा, प्रांगारिक मलको सहज उपलब्धता र सडकको सहज पहुँच पनि नभएको वडाध्यक्ष थापाले औंल्याए । नगरपालिकाले शरनबारीलाई सिमी पकेट क्षेत्र र पूर्ण अर्गानिक गाउँ घोषणा गर्ने हो भने सिमी र अन्य कृषि उपजको उत्पादन अहिलेकोभन्दा दोब्बर बनाउन सकिने उनको अनुमान छ ।

स्थानीय युवा अगुवा लोकेन्द्र जर्घामगर नगरपालिकाले किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्न नसक्दा गाउँलेहरु परम्परागत खेती प्रणालीभन्दा माथि उठ्न नसकेकाले प्रांगारिक कृषिमा धेरै सम्भावना भएर पनि शरनबारी पछाडि परेको बताउँछन् ।

‘कुलोको पानीले बाह्रै महिना सिंचाइ सुविधा नपुग्ने भएकाले थोपा सिंचाइ प्रणाली र मल्चिङ प्रविधिमा तरकारी खेती गराउन स्थानीय सरकारले प्राथमिकता दिनुपर्छ’ जर्घाले भने, ‘स्थानीय सरकारले किसानमैत्री नीति र कार्यक्रम बनाउने हो भने शरनबारीले वाार्षिक १५ करोडको सिमी, ५ करोडको तरुल, पिंडालु र ५ करोडको कांक्रा, लौका, घिरौंला उत्पादन गर्न सक्छ र देशकै नमूना अर्गानिक गाउँ बन्छ ।’

देवदहका बुद्धिजिवी सिद्धिचरण भट्टराईले शरनबारीको सिमीको ब्राण्डिङ र प्याकेजिङ गरी किसानले उचित मूल्य पाउने वातावरण नगरपालिकाले बनाउनुपर्ने सुझाए ।

शरनबारीलाई अर्गानिक गाउँ घोषणा र सिमी पकेट क्षेत्र बनाउन दबाव दिने उद्देश्यले शरनबारीमै मिडिया फेस्टिबल आयोजना गरी सरोकारवालाको ध्यानाकर्षण गराइएको देवदह प्रेस क्लबका अध्यक्ष विष्णुप्रसाद पोखरेलले बताए । ‘देवदहका १२ वटै वडाका कृषि उत्पादनलाई ब्राण्डिङ र बजारीकरणमा स्थानीय सरकारलाई दबाव दिन हरेक वर्ष मिडिया फेस्टिबलमार्फत ध्यानाकर्षण गराएका छौं’ पोखरेलले भने ।

देवदहका पूर्व नगर प्रमुख हिरा केसीले शरनबारीका किसानलाई परम्परागत खेती प्रणालीबाट आधुनिक प्रविधिमैत्री र व्यवसायिकतामा रुपान्तरण गर्न आवश्यक रहेको औंल्याए ।

देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले शरनबारीलाई अर्गानिक गाउँ घोषणा गर्ने उद्देश्यले नगरपालिकाले ५० प्रतिशत अनुदानमा प्रांगारिक मल वितरण गरेको बताए । सिमीलाई बेमौसममा पनि बिक्री गर्न सकिन्छ कि भनेर परीक्षण गर्न यो वर्ष प्रतिकेजी ५० रुपैयाँको दरले १० क्वीन्टल सिमी खरिद गरेर नगरपालिकाले चिस्यान केन्द्रमा राखेको र सफल भए नगरमै चिस्यान केन्द्र बनाउने सोंचमा रहेको खरेलले बताए ।

देवदहको मुख्य बजारमा कोसेली घर स्थापना गरी सिमी बिक्री गर्न सटर भाडामा लिई भाडा तिर्न र गाउँमा बिचौलियाको अन्त्य गरी किसानलाई उचित मूल्य दिन, सिंचाइ सुविधा पर्याप्त बनाउन नगरपालिका लागिपरेको खरेलले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?