+
+
चन्द्रागिरि हत्या प्रकरण :

बलात्कारपछि फस्ने डरले हत्या, शव सड्न थालेपछि खुल्यो पोल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १५ गते १८:५६

१५ पुस, काठमाडौं । १७ वर्षीया किशोरी हत्याको आरोपमा पक्राउ परेका २४ वर्षीय विश्वास तामाङ १० दिनदेखि प्रहरी वृत्त थानकोटको हिरासतमा छन् ।

चन्द्रागिरि नगरपालिका–१० सतुगंल खरिबोट बस्ने १७ वर्षीया किशोरी सरिता तामाङको हत्या आरोपमा पक्राउ परेका विश्वासले हत्याको कारणमा बलात्कार जोडिएको खुलाएका छन् । प्रहरीसँगको बयानका क्रममा सरितालाई हत्या गर्नुको कारणबारे उनले बलात्कार रहेको खुलाएका छन् ।

सरिता र विश्वास नाताले दाजु–बहिनी हुन् । चन्द्रागिरिमा एक्लै बस्दै आएकी सरितालाई उनकै कोठामा जबरजस्ती करणी गरेको र उक्त कुरा बाहिर ल्याउँछु भनेपछि पोल खुल्ने डरले हत्या गरेको विश्वासले खुलाएका छन् ।

विश्वासलाई पक्राउ गरेपछि अनुसन्धान गर्ने क्रममा उनले बहिनी नाता पर्ने सरितालाई ‘न्युड’ फोटाहरू पठाउने गरेको समेत भेटिएको छ । सरिताले विश्वासलाई गाली गरे पनि उनले एकोहोरो म्यासेन्जरमा ‘न्युड’ फोटा, भिडियोहरू पठाउने गरेको भेटिएको एक अनुसन्धान अघिकृतले बताए । २८ मंसिरको साँझ ६ बजेतिर विश्वास सरिताको कोठामा पुगेका थिए ।

त्यतिबेला सरिताले विश्वासको मोबाइलको हटस्पट शेयर गर्न भनिन् । विश्वासले पनि सरितालाई हटस्पट शेयर गरिदिएका थिए । त्यसपछि ‘न्युड’ भिडियोहरू देखाएर उनले सरितामाथि बलात्कार गरेको खुलेको छ । प्रतिकार गर्दा सरिताले विश्वासको हात समेत टोकिदिएकी थिइन् । विश्वासलाई पक्राउ गर्दा समेत उनको हातमा खत देखिएको एक अनुसन्धान अधिकृत बताउँछन् ।

आफूमाथि जबरजस्ती गरेपछि उक्त कुरा बाहिर ल्याउने सरिताले बताएपछि उनको हत्या गरेको विश्वासले प्रहरी समक्ष बताएका छन् । सरिताको घाँटी थिचेर हत्या भएको थियो । त्यसपछि उनको शव लो–बेडमुनि लुकाएर विश्वास सरिताको कोठाबाट बाहिरिएका थिए ।

यता घटनाको भोलिपल्ट २९ मंसिरको राति १२ बजेदेखि हराएको भन्दै उनका दाई नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा निवेदन दिएका थिए । धादिङको गजुरी गाउँपालिका–४ घर भएकी तामाङको खोजी गर्ने क्रममा प्रहरीले पुस ३ गते दिउँसो ३ बजेतिर उनको शव फेला पारेको थियो ।

हत्यापछि ढोका बाहिरको जुत्ताभित्र चाबी राखेर विश्वास बाहिरिएका थिए । बहिनी खोज्दै पुगेका नवीनले उक्त चाबी भेटेपछि ढोका खोलेर हेर्दासमेत कोठा ठिक–ठाक अवस्थामा थियो । उनले त्यतिबेला त्यहाँ केही पनि देखेनन् ।

चाबी फेरि सोही जुत्तामा राखेर बाहिरिएका नवीन फेरि ३ पुसमा उक्त कोठामा पुगेर पुनः ढोका खोलेर हेरेका थिए ।

त्यतिबेला भने गन्ध आएपछि लो–बेड निकालेर हेर्दा सरिताको शव भेटिएको थियो । त्यसपछि नवीनले प्रहरीलाई खबर गरेका थिए । सरिता चन्द्रागिरि–१० स्थित वीरेन्द्र श्रेष्ठको घरको भुईं तलाको कोठा भाडा लिएर बस्थिन् ।

शव भेटिएपछि यो घटनामा थानकोटसहित जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको थियो । सरिताले मोबाइल पनि प्रयोग गर्ने गरेकी उनका आफन्तले बताएका थिए । त्यसपछि प्रहरीले मोबाइलमा केन्द्रित भएर अनुसन्धान अघि बढायो ।

विभिन्न प्राविधिक पक्षको विश्लेषणपछि सरिताको शव भेटिएको तीन घण्टापछि नै विश्वासलाई पक्राउ गरिएको परिसरका एसपी नवराज अधिकारीले बताएका थिए । हत्या आरोपमा पक्राउ परेका विश्वासको स्थायी ठेगाना धादिङको गजुरी–३ हो । उनी काठमाडौं–१४ खड्कागाउँ बस्दै आएका थिए ।

अनुसन्धानका क्रममा मृतक सरिताको मोबाइल विश्वासको कोठामा भेटियोको थियो । उनले घटना समेत स्वीकार गरिसकेका छन् । मृतक सरिता विष्णुदेवी शिक्षा सदन मावि नैकापमा कक्षा १० मा अध्ययनरत थिइन् ।

विवाहित विश्वासकी श्रीमती भने अहिले विदेशमा रहेको खुलेको छ । काठमाडौंमा ज्यामी काम गर्दै आएका उनले सरिता एक्लै भएको मौकामा बलात्कारपछि हत्या गरेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?