+
+

के हो लेखा समिति सभापतिका स्वकीय सचिवमाथि लागेको ठगी आरोप ?

एमबीबीएसमा छोरीको नाम निकाल्दिने भन्दै पौखरेलले ३८ लाख लिएको दाबी

हरि अधिकारी हरि अधिकारी
२०८१ पुष १९ गते १३:१७

१९ पुस, विराटनगर । संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका निजी सचिव अनिल पोखरेल ठगीमा मुछिएका छन् ।

लेखासमिति सभापति पाखरेल पत्नी अञ्जला मोरङको कर्सियामा रहेको उमागौरी कृषि सहकारीको बचत अपचलन मुद्दामा फरार छिन् । पोखरेलका स्वकीय सचिव अनिल पोखरेल व्यक्ती ठगीमा मुछिएका हुन् ।

मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय पोखरेलले एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ । अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।

पोखरेलले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको सप्तरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीले बताएका छन् । तर छोरीको नाम ननिस्किएपछि चौधरीले पोखरेलसँग पैसा फिर्ता मागे ।

पोखरेलले पैसा फिर्ता नदिएको र उल्टै धम्की दिएको बौआलालले गुनासो गरेका छन् ।

विसं २०७९ साउन ९ गते ‘हिसाब चुक्ता गरिदिन्छु’ भन्दै बोलाएर आफूलाई ५० लाख रुपैयाँको कागज समेत बनाइएको बौआलालको गुनासो छ ।

आफूलाई जबरजस्ती २०७४ साल असार २५ गते आइतबारको मिति राखेर ऋण लिएको भनी कपाली तमसुक बनाएपछि आफू प्रहरी कार्यालय पनि पुगेको उनले बताएका छन् ।

जबरजस्ती बनाएको तमसुक च्यात्न र ठगी कसुरमा कारबाही गर्न भन्दै जाहेरी दिन प्रहरी कार्यालय गएपनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेको उनको भनाइ छ ।

प्रहरीले जाहेरी दर्ता नगरेपछि जबरजस्ती कागज बनाएको ९ दिनपछि १८ साउन २०७९ मा हुलाक मार्फत जाहेरी पठाए । प्रहरीले जाहेरी नलिएको भन्दै उनले ३१ साउन २०७९ मा ठगी मुद्दामा पोखरेलविरुद्ध जाहेरी दरर्खास्त दर्ता गरी अनुसन्धान गर्न परमादेशको मागसहित रिट निवेदन दर्ता गरेका थिए ।

गत भदौ ३१ गते उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारबाहीको गर्न अन्तिम आदेश दिएको थियो । आदेशको पुस ११ गते प्रमाणीकरण भएको थियो ।

अदालतबाट प्रमाणीकरण भएको आदेश प्रहरी कार्यालयमा पुगेको छैन । मोरङ प्रहरी प्रमुख नारायण चिमरीया अदालतको आदेश आएपछि थप प्रक्रिया अघि बढ्ने बताउँछन् ।

‘यो विषयमा अदालतबाट भएको आदेश हाम्रोमा आइपुगेको छैन, आएपछि थप अनुसन्धान प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘विषय बाहिर आएपछि हामी बुझ्दैछौं ।’

आफ्ना निजी सचिव व्यक्ती ठगीमा मुछिएपछि सांसद पोखरेलेले जिम्मेवारीबाट हटाएका छन् । ठगी गरेको विषय शुक्रबार बाहिरिएपछि पोखरेलले शुक्रबार नै जिम्मेवारीबाट हटाएका हुन् ।

सांसद पोखरेल श्रीमती अञ्जल कोइराला उमागौरी कृषि सहकारी ठगी प्रकरणमा गत पुस ३ गतेदेखि फरार छिन् । अञ्जलासहित २६ जनाविरुद्ध २७ मंसिरमा जिल्ला अदालत मोरङमा सहकारीको रकम अपचलन आरोपमा मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि विराटनगरको महेन्द्र रात्री विद्यालयकी शिक्षिकासमेत रहेकी कोइराला विद्यालयबाट बिदा लिएर फरार भएकी हुन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?