डाक्टर’साब मलाई कहिल्यै सञ्चो हुँदैन । केही न केही रोग लागिरहेको छ । स्वास्थ्यमा खराबी आइरहेको छ । यसको कारण के होला ?
यस्तो हुनु भनेको इभोलुसन हो ।
डाक्टरले तपाईंको प्रश्नको दोष इभोलुसनलाई दिनुभयो भने तपाईं के सोच्नुहुन्छ ?
हामीलाई अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । हाम्रो शरीर अर्बौं अर्ब वर्षको प्रकृतिको अनुभवबाट बनेको कोषिकाहरूको पुञ्ज हो । यो सेलहरूको सामाजिक वनावट हो । प्रकृतिले गरेको इभोलुसनको प्रभावबाट रोग अछुतो रहन सक्दैन र सकेको पनि छैन ।
प्रकृतिले गरिरहेको इभोलुसन या विकासले हाम्रो शरीरलाई हरेक दिन प्रभाव पारिरहेको छ । क्यान्सर सेल, ब्याक्टेरियाहरू हामीले बनाएको औषधिसँग लडेर रेसिस्टेन्सको विकास गरिरहेका छन् । यही कारणले भाइरसहरू मानिसको शरीरभित्र छिर्छन् र महामारीको विकराल रूप लिइरहेका छन् ।
हामीले भोगेका मोटोपनको समस्या, मानिसहरूमा नजिक या टाढा हेर्न नसकेर चस्मा लगाउनुपर्ने समस्या जस्ता अनेकन् समस्यालाई विकासवादी सिद्धान्तले बुझ्न र समाधान गर्न सकिन्छ । यो विषय संसारको लागि पनि नयाँ हो । नब्बेको दशकबाट मात्रै पश्चिमा समाजले विकसित गरिरहेको विषय हो । संसारले बल्ल यो विषयमा खोज–अनुसन्धान गर्दैछ । यो विषयमा हामी बामे सर्दैछौं ।
हात्तीलाई विरलै क्यान्सर लाग्छ । जिराफहरूसँग उच्च रक्तचाप छ तर उनीहरूलाई उच्च रक्तचापका कारणले हुने समस्याहरू जस्तै पक्षघात, मिर्गौलाको समस्याहरू देखिंदैन ।
इभोलुसनरी विज्ञान या डार्विनियन मेडिसिनले रोगको विकास समयसँग कसरी विकसित भइरहेको छ त्यस बारेमा अध्ययन गर्छ । रोगको जोखिम र कारणहरूको बारेमा अनुसन्धान गर्छ । भूतकालको विकासले वर्तमानका रोगहरूलाई निर्धारण गर्छ । प्रकृतिले विकास गरेको मानिसको स्वरुप, आकार, प्रकार र संरचनाको विकासको अवधारणाले अहिलेका रोगहरूको कारणहरू पत्ता लगाउने गर्छ । यस अवधारणाले व्यक्तिको भन्दा पुस्तौं पुस्ता मानिसलाई हस्तान्तरण भइरहेका जैविक अभिव्यक्तिहरूको अध्ययन गर्छ ।
आज पनि मानिसको संरचनागत रूपमा, जैविक रूपमा, रोगको ढाँचा र व्यापकतामा विकास भइरहेको छ । मानिस सधैं एकै अवस्थामा रहिरहन्छ भन्ने अवधारणा गलत हो । मानिस हरेक पुस्तापिच्छे आफ्नो जिनलाई परिवर्तन गरिरहेको छ । मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा परिवर्तन आइरहेको छ, ल्याक्टोज इन्टोलोरेन्स बढिरहेको छ, रक्सीको पाचन क्षमतामा परिवर्तन आइरहेको छ, मासु र हड्डीको कडापनमा फरक आइरहेको छ, उचाइ, तौल, मस्तिष्कको हड्डीको बनावट, दाँतको संरचनामा, मेरुदण्डको संरचनामा परिवर्तन आइरहेको छ । यो परिवर्तन मानिसले गरेको प्रविधिहरूको विकास र बाहिरी प्रशोधन गरेको (प्रोसेस्ड) खानाको विकासका कारणले भएको हो । यो सूक्ष्म रूपमा भइरहेको आन्तरिक शारीरिक परिवर्तनले केही पुस्ता पछि स्वरुप या बनावटमा नै भिन्नता ल्याइदिन्छ । यो प्रजनन्का कारणले सम्भव छ ।
मानिसमा या प्राणीहरूमा संरचनाको परिवर्तन लामो समयपछि आउँछ भन्ने छैन । एक शताब्दीमा नै परिवर्तनहरू देखिन सक्छन् । यदि धेरै मात्रामा माइग्रेसन भयो भने उक्त क्षेत्रमा छिटोछिटो परिवर्तन आउन सक्छ । मानिसको बसाइँसराइका कारण मानिसले गरेका प्रविधिहरूको विकासका कारणले पनि आज परिवर्तनहरू छिटोछिटो भइरहेका छन् ।
यो विज्ञानले आजको दिनमा भएका संरचना र रोगहरूलाई भविष्यका दृष्टिकोणले पनि विचार गर्छ । भोलि के के रोगहरू विकसित भएर जान सक्छन् भनेर छलफल गर्न सक्छ र पब्लिक हेल्थको अवधारणाबाट त्यस समस्याहरूको समाधान निकाल्न पनि सक्छ ।
इभोलुसन बाधाहरू सामना गर्दै विकसित भइरहेको छ । कतै सम्झौता छ कतै व्यापार छ ।
डीएनएहरूको उत्परिवर्तन या म्यूटेसन रोक्न सकिन्न । त्यसकारण क्यान्सर लाग्छ । मानिसको शरीरले आफैं भिटामिन सी बनाउन सक्दैन । त्यसकारणले मानिसलाई बाहिरी स्रोतबाट भिटामिन सी चाहिन्छ ।
मानिसलाई सिधा हिंड्नुका कारणले बच्चा बोक्न, हात स्वतन्त्र भएकाले उसका माध्यमबाट संकेत दिन सक्ने अनि बच्चा र सामान बोक्न सजिलो हुने भए पनि यस सिधा अवस्थाको संरचनाले बच्चा जन्माउन कठिन भएको छ । एक फाइदाको लागि अर्कोको सुविधाको व्यापार भएको हो ।
क्यान्सर कोषिकाहरू सजिलै हामीले दिने औषधिहरूको सामना गर्न सक्छन् र उल्टै हाम्रो शरीरलाई नै हानि गरिरहेका छन् ।
एक्सटिंग्सन एन्ड अडाप्टिभ थेरापिज् सायद यो समस्याको समाधान हुन सक्छ । एक्सटिंग्सन थेरापीमा बिरामीलाई दुई किसिमका उपचार गरिन्छ र त्यसको लगत्तै केही समय उपचार रोकिन्छ । त्यो रोकिएको समयका कारणले ती औषधिसँग रोगको रेसिस्टेन्स विकास हुन पाउँदैन । अडाप्टिभ थेरापी क्यान्सरको साइजलाई उही साइजमा राख्न सहयोग गर्छ ।
सेललाई उही साइजमा राख्न कसरी सम्भव छ त ?
औषधिले काम गर्न सक्ने सेलहरूलाई प्रिजर्भ गर्न सकियो भने यो सम्भव छ । सानो डोजमा लामो समयसम्म औषधि दियो भने औषधिले काम गर्न सक्ने सेलहरूलाई प्रिजर्भ गर्न सकिन्छ । यस्तो उपचार विधिले अन्तिम स्थितिमा पुगेका क्यान्सरका बिरामीहरूलाई सहयोग गर्न सक्छ ।
त्यस्तै एन्टिबायोटिक रेसिस्टेन्स पनि अर्को विकराल समस्या हो । मानिसलाई या भनौं जनावरहरूमाथि जथाभावी एन्टिबायोटिक प्रयोग गरिने गरिन्छ । यसका कारणले साँच्चिकै एन्टिबायोटिक चाहिने बिरामीहरूमा यो औषधिले काम नगर्न सक्छ । किनभने ती कीटाणुहरूले हामीले जथाभावी प्रयोग गरेका औषधिहरूसँग आफ्नो इम्युनिटी बढाइसकेका हुन्छन् ।
ब्याक्टेरियाहरू हामी प्राणी बाँचेका समयभन्दा निकै पहिलादेखि नै यस संसारमा थिए । साँच्चै भन्ने हो भने सम्पूर्ण चराचर जगत साएनो ब्याक्टेरियाबाट विकसित भएर यो अवस्थासम्म आइपुगेको हो । मानिसहरूलाई भन्दा ब्याक्टेरियाहरूलाई यो संसारको बढी अनुभव छ । उनीहरू हामीभन्दा पहिला पनि थिए र हामी गइसकेपछि पनि हुनेछन् । उनीहरूको अनुभव हामीले हालसालै विकास गरेको औषधिभन्दा निकै बढी प्रभावकारी छ । उनीहरू केही दिनमै हामीले हजारौं वर्ष लगाएर विकास गरेको सीपलाई मात दिन सक्छन् । ती सीपलाई नाकाम गरिदिन सक्छन् ।
इभोलुसनरी मेडिसिन यस रेसिस्टेन्सको समस्याको समाधान हुन सक्छ । डाक्टरहरूले जानेर या नजानेर यसको प्रयोग गरिरहेका छन् । जस्तै कीटाणुहरू जिनको अडाप्टेसन थोरै समयमा गर्न सक्छन् । त्यसकारण धेरै एन्टिबायोटिक्सहरू एकै समयमा दिने हो भने कुनै एक औषधिले कीटाणु विरुद्ध काम गर्न सक्छ । अर्को उपाय इभोलुसनलाई मात दिन सक्ने औषधिहरू बनाएर पनि गर्न सकिन्छ । ब्याक्टेरियाहरू आफ्नो डीएनए अर्को ब्याक्टेरियासँग सजिलै साट्न सक्छन् । त्यस कारणले एक ब्याक्टेरियाको प्रकारबाट हुने रेसिस्टेन्स सजिलै अर्को प्रकारसम्म सरेर जाने र कहिलेकाहीं त एक प्रजातिबाट अर्को प्रजातिसम्म सर्ने गरेको छ । यस प्रक्रियालाई रोक्न त्यस्ता औषधिहरू बनाउन सकिन्छ जस कारणले जिन साट्न ब्याक्टेरियाहरू असमर्थ हुन् । योभन्दा बढी एन्टिबायोटिक्स बनाउन सकिन्छ । र कुनै भाइरसहरूलाई पनि प्रयोग गर्न सकिन्छ ।
मानिसले आफ्नो बाँच्न र प्रजनन् गर्न सक्ने क्षमता अहिले बाँचेको अवस्थाभन्दा बिल्कुलै भिन्न अवस्थाबाट विकास गरेको हो । कुनै समयमा मानिसलाई बाँच्न सहयोग गरेका जिनहरूले अहिले हामीले बाँचेको वातावरणमा हानि गरिरहेका छन् । जस्तैः जब खानाको स्रोत निकै कम थियो तब हाम्रो शरीरमा बोसो भण्डार गर्न सक्ने क्षमता निकै फाइदाजनक थियो ।
तर आजको समाजमा जहाँ खाना प्रशस्त छ यो बोसो भण्डारण गर्न सक्ने शरीरको क्षमताले हानि गरिरहेको छ । मोटोपना बढेर गएको छ । मुटु र मस्तिष्कको रोग लागिरहेको छ । यस समस्याको समाधान गर्न ल्याइएको कसरत र खानाको परिवर्तन प्रायः काम गर्दैन । यसकारण भिन्न प्रयोग गर्न सकिन्छ । खानाको प्रचारप्रसारमा रोक लगाउन सकिन्छ । उचित स्वस्थकर खानाको प्रचारमा कानुन ल्याउन र पालना गर्न सकिन्छ । स्वस्थकर बानी व्यवहार पालना गर्न र गराउन प्रेरणा दिन सकिन्छ ।
हाम्रो शरीरमा सधैं तीन इभोलुसनरी लक्ष्यको प्रतिस्पर्धा भइरहेको छ– शरीरको विकास, प्रजनन् र बाँच्न सक्ने क्षमता । शरीरले तीनै वटा एकैसाथ एकै मात्रामा समर्थन गर्न सक्दैन । त्यसकारण मानिसलाई स्वास्थ्यमा उतारचढाव आइरहन्छ । उदाहरणका लागि जोसँग खानलाउनको समस्या छ उसलाई स्वास्थ्यको चिन्ता कम हुन्छ । लामो समयपछि आउने स्वास्थ्यका समस्याहरूलाई पहिलेदेखि नै नियमन गरेर लैजान सक्ने क्षमता र अवस्था हुँदैन ।
आज खान–लाउनको समस्या छ भने उसले के राम्रो र के नराम्रो खाना भनेर छुट्याएर आफ्नो स्वास्थ्यको बारेमा सोच्न सक्दैन । त्यसकारण पनि होला कोही युवाहरू यौन सम्पर्कको बेला कण्डमको प्रयोग गर्न हिचकिचाउँछन् । एकातिर एचआईभी र सिफिलिसको सङ्क्रमण हुने थाहा पाउँदापाउँदै पनि उनीहरू नजानिंदो रूपमा प्रजनन्को बारेमा सोचिरहेका हुन्छन् ।
यस विषयको अध्ययनले पब्लिक हेल्थ जस्तो विषयमा पनि प्रभाव पार्न सक्छ । राम्रो शिक्षा, स्वास्थ्य, रोजगारी, सबैलाई चाहिन्छ ।
(ढकाल धुलिखेल अस्पतालका चिकित्सक हुन् ।)
प्रतिक्रिया 4