+
+

स्वास्थ्य एआईको उपभोक्ताबाट आफैं उत्पादक बनाउने घोषणा गर्दै सकियो ‘हाइकन सम्मेलन’

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते १७:३६

२४ पुस, काठमाडौं । नेपालजस्ता स्रोतको कमी भएका देशमा स्वास्थ्य एआईको क्षेत्रमा वैज्ञानिक ज्ञान प्रविधि र नवप्रवद्र्धन गर्ने प्रतिबद्धता जाहेर गर्दै हाइकन सम्मेलन सम्पन्न भएको छ ।

यस्ता देशहरूलाई स्वास्थ्य एआईको ज्ञान र प्रविधिको उपभोक्ताबाट आफैं उत्पादक बनाउने घोषणा गर्दै हाइकन सम्मेलन सम्पन्न भएको हो ।

नेपाल र नेपालजस्ता विकासशील देशहरूमा स्वास्थ्य एआईको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्नका लागि स्थापना भएको हेल्थ एआइ फर अल नेटवर्कले (हाइनेट) गत मंगलबारबाट सम्मेलन आयोजना गरेको थियो ।

सम्मेलनमा विकासशील देशहरूले स्वास्थ्य सेवाको समस्या पहिचान गरि त्यसलाई स्वास्थ्य एआइको माध्यमबाट समाधान गर्ने विषयमा छलफल भएको थियो ।

नेपालको अग्रसरतामा स्वास्थ्य क्षेत्रमा भएको एआई प्रविधि विकासको फाइदा सिमित स्रोत र साधन भएका देशमा बसोबास गर्ने मानिसहरुमा पनि पुगोस् भन्ने अभिप्रायले सन् २०२४ को अन्त्यतीर हाइनेट सुरु भएको थियो । हाइनेटले पहिलो सम्मेलन काठमाडौंमा आयोजना गरेको हो ।

सम्मेलनमा स्वास्थ्य सेवा वितरणमा महत्त्वपूर्ण परिवर्तन ल्याउन, मानव स्वास्थ्य सुधार गर्न र स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउन स्वास्थ्य एआईले कसरी भूमिका खेल्छ भन्ने विषयमा छलफल भएको छ ।

त्यसैगरी, सम्मेलनमा विकासउन्मुख देशहरू स्वास्थ्य एआई प्रविधिको उपभोक्ता मात्र नभइ उत्पादक पनि कसरी हुने भन्ने विषयमा वृहत् छलफल भएको थियो ।

स्वास्थ्य एआइलाई विश्वव्यापी सार्वजनिक पुँजीका रुपमा कसरी विकास गर्न सकिन्छ, स्वास्थ्य एआईको वर्तमान अवस्था कस्तो रहेको छ ? नेपाल र नेपालजस्तो देशहरुको स्वास्थ्य सेवामा यसले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा विज्ञहरूले छलफल गरेका थिए ।

सम्मेलनमा विभिन्न देशका विज्ञहरूले स्वास्थ्य एआईलाई स्वास्थ्य प्रणालीमा कसरी संलग्न गर्न सकिन्छ, कस्ता नीतिगत व्यवस्था गर्नुपर्छ र यसको सम्भावना तथा चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो सम्मेलन अर्को वर्ष युगाण्डामा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?