 
																			२८ पुस, काठमाडौं। एमालेबाट बाहिरिएका भीम रावल र कांग्रेस नेता अर्जुननरसिंह केसीलाई निम्ता दिएर पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती मनाइएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेताहरुले इतिहासको सम्मान गर्दै राष्ट्र एकीकरणकर्ताप्रति उचित मुल्यांकन हुनुपर्ने मत राखे ।
कांग्रेस नेता केसीले अन्य देशमा समेत जुनसुकै विचार राख्ने वर्गहरुले राष्ट्र निर्माताको सम्मान दिने गरेको सन्दर्भ राखे । उनले छिमेकी भारतमै जाँदा पनि विभिन्न भवन, मिनार, सडकहरुमा इतिहासका राजा र शासकहरुको सम्मान गरेको देखिने भन्दै नेपालमा त्यस्तो किन हुन सक्दैन भनी प्रश्न राखे ।
केसीले भारत गणतन्त्र भए पनि इतिहासका विभिन्न राजसंस्थाहरुको सम्मान भएको भन्दै थपे, ‘हुमायुँ, अकबर लगायत विभिन्न समयका शासकहरुले सम्मान पाएका छन्, हाम्रोमा पनि पृथ्वीनारायण शाहको सम्मान हुनुपर्छ । इतिहासमा उहाँले गर्नुभएको राष्ट्र एकीकरणलाई हामीले सधैं सम्झना र श्रद्धान्जली दिनुपर्छ ।’
नेता भीम रावलले पृथ्वीनारायण शाहको महिमागान कवितामार्फत् गर्दै अहिलेको समयमा पृथ्वी विचारको महत्वबारे प्रकाश पारे । अहिले दलविशेषमा आबद्ध भएका कारण पृथ्वीनारायण शाहलाई सम्झन नपर्ने प्रवृत्ति देखिन थालेको भन्दै उनले आपत्ति जनाए ।
‘जुन युगमा पृथ्वीनारायण शाह जन्मनुभयो, मार्क्सवाद र प्रजातान्त्रिक समाजवाद उहाँमा किन आएन भनी खोज्यौं भने दुर्भाग्य हुन्छ,’ रावलले भने, ‘त्यो तरबारको युग थियो, भूमि विस्तारको बेला थियो, तर बेलायती साम्राज्यवादीहरु दक्षिण एसियाका विभिन्न देशमा शासन गरिरहेका बेला यो हिमाली देशले आफूलाई पृथ्वीनारायण शाहको विचारकै बलमा जोगाउन सकेको सम्मान हुनुपर्छ । हामीले मात्रै गरेका छौं भन्नेहरुले युग बुझ्दैनन्, स्वाधीनताको महत्व बुझ्दैनन् ।’
रावलले पृथ्वीनारायण शाहबाट नेपालको परराष्ट्रनीति, अर्थतन्त्रको जग लगायत थुप्रै काम गरेर गएको भन्दै उच्च सम्मान व्यक्त गरे ।

कार्यक्रमका आयोजक तथा पृथ्वी विचार अभियन्ता भरत बस्नेतले पृथ्वीनारायण शाह नजन्मेको भए नेपाली आज इस्ट इन्डिया कम्पनीको अधीनमा हुने, अनि उतै विलय भएर बसिरहेको हुने भन्दै इतिहासका व्यक्तिले खेलेको भूमिका नबिर्सन आग्रह गरे । उनले पृथ्वीनारायण शाहकै इतिहासको निरन्तरता स्वरुप राजा महेन्द्र, राजा वीरेन्द्र, ज्ञानेन्द्रले खेलेको भूमिकाकै कारण नेपालमा शान्ति, अमनचैन बनिराखेको बताए ।
बस्नेतले जनआन्दोलनका बेला संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता कुनै पनि दलको माग नरहेको भन्दै इतिहासको सही विश्लेषण गर्न आग्रह पनि गरे । ‘पृथ्वीनारायण शाहको दिव्योपदेश व्यवहारमा लागु गराउने हो भने देशलाई स्वतन्त्र, सार्वभौम राखिराख्न आवश्यक छ,’ बस्नेतले भने, ‘नत्र हामीले इतिहासलाई सही ढंगले सम्झना गरेको ठहरिँदैन ।’
कार्यक्रममा इतिहास तथा संस्कृति अन्वेषक जगमान गुरुङ, राजनीतिक विश्लेषक सुरेन्द्र केसी लगायतले पनि आफ्नो मन्तव्य राखेका थिए । पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा राप्रपा, राप्रपा नेपाललगायतले चियापान आयोजना गरेका छन् । प्रधानमन्त्री केपी ओली लगायत नेताहरु त्यसमा सहभागी भए । अनि राष्ट्रपति रामचन्द्र पौडेलले पनि पृथ्वीनारायण शाहको शालिकका माल्यार्पण गरी सम्मान जनाए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4