
काठमाडौं । चीनको तिब्बतमा गत मंगलबार बिहान ७.१ म्याग्निच्यूडको विनाशकारी भूकम्प गयो । उक्त भूकम्पमा परी तिब्बतमा १ सयभन्दा धेरै मानिसले ज्यान गुमाए । उक्त शक्तिशाली भूकम्पले नेपाल, भारत, भुटान तथा चीनका अन्य क्षेत्रमा पनि कडा धक्का महसुस भयो । भूगर्भविदहरुका अनुसार उक्त शक्तिशाली भूकम्पको केन्द्र नेपाल–तिब्बत सीमा क्षेत्रको नजिकै थियो ।
चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीका अनुसार भूकम्पको केन्द्र नजिकैको डिंगरी काउन्टीमा धेरै भवनहरु भग्नावशेषमा परिणत भएका छन् ।
सञ्चार माध्यमका अनुसार पछिल्लो पाँच वर्षमा तिब्बतको दोश्रो ठूलो सहर सिगात्से आसपासका क्षेत्रमा ३ वा त्यसभन्दा अधिक तिव्रताका २९ वटा भूकम्प गएका छन् ।
भारतीय र युरेसियन टेक्टोनिक प्लेटबीचको टकरावबाट बनेको हिमालय क्षेत्रमा यस्तोखाले भूकम्पीय गतिविधि सामान्य हो ।
नेपाल र तिब्बतमा भूकम्प किन आउँछ ?
नेपाल विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रमध्ये एकमा अवस्थित छ । यहाँ भारतीय टेक्नोनिक प्लेट प्रतिवर्ष करीब ५ सेन्टिमिटरको दरमा उत्तरतर्फ युरेसियन प्लेटलाई धकेलिरहेको छ ।

अन्य क्षेत्रमा पृथ्वीमुनिका प्लेटहरूबीच टकराव तथा छुने अवस्था बनिरहेको छ तर त्यो समुद्री प्लेट र जमिनको प्लेटबीच भइरहेको देखिन्छ तर पृथ्वीको सतहमुनि रहेका जमिन र जमिनका दुईवटा प्लेटहरूले एकापसलाई धकेलिरहेको अवस्था भने हिमालय क्षेत्रमा मात्र छ।
त्यसले गर्दा जमिनमा हलचल पैदा हुन्छ । उक्त हलचलले केवल हिमालयका चुचुराहरुलाई माथि उठाइरहेको मात्र छैन पृथ्वीको सतहमुनि अत्यधिक तनाव पैदा गर्दछ । जब त्यो सञ्चित दबाब पृथ्वीको सतहमुनिका चट्टानको क्षमता भन्दा धेरै हुन्छ तब यसले भूकम्पको रुप लिन्छ ।
सोही कारणले नेपाल र त्यसको आसपासको हिमालय क्षेत्रमा प्रायः भूकम्पीय गतिविधि भैरहेको हुन्छ । विज्ञहरुका अनुसार हिमालय क्षेत्रमा भूकम्प गैरहने जोखिम निकै उच्च छ। नेपालमा दुई म्याग्निच्युडभन्दा बढीका झन्डै १० वटा साना भूकम्प दैनिक रूपमा जाने गरेको विज्ञहरु बताउँछन् ।
नेपालको जमिनको माथिल्लो पत्र अस्थीर चट्टानबाट बनेको छ, जसले भूकम्पीय प्रभावलाई बढाउँछ र भूकम्पपछि त्यो झनै कमजोर बन्दछ ।
विज्ञहरूका अनुसार पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मारसम्म फैलिएको हिन्दूकुश तथा हिमालय क्षेत्र भूकम्पीय जोखिमका दृष्टिले निकै संवेदनशील छ। नेपालमा ८०० किलोमिटरभन्दा लामो हिमाली क्षेत्र भएकाले यस क्षेत्रको भूकम्पीय जोखिमको एक तिहाइ प्रभाव यसै क्षेत्रमा पर्ने भूगर्भविदहरू बताउँछन्।
हिमाली क्षेत्रमा जाने भूकम्पले क्षतिको जोखिम अझ बढी हुन्छ । किनभने भूकम्पका कारण हिमाली क्षेत्रमा पहिरो जाने तथा त्यस क्षेत्रमा रहेका हिमतालहरू फुट्ने सम्भावना बढ्छ। त्यसले गर्दा विपद्को जोखिम बढाउँछ।
नेपालको कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्र सहित भारत र चीनमा ४७ वटा सम्भावित खतरनाक हिमतालहरू रहेका र खतराको सूचीमा रहेका हिमतालहरूमध्ये २१ वटा नेपालमा, २५ वटा तिब्बतमा र एउटा भारतमा रहेको इसिमोडले गरेको अध्ययनमा उल्लेख छ। त्यसैले यी खतरनाक हिमतालहरु फुटेमा अकल्पनीय क्षति हुने विज्ञहरु बताउँछन् ।
काठमाडौं जस्ता सहरी क्षेत्रमा उच्च जनघनत्व र अव्यवस्थित भौतिक पूर्वाधार निर्माणका कारण पनि भूकम्पीय प्रकोपबाट हताहती तथा क्षतिको जोखिम बढेको छ ।
भूकम्पको श्रृंखला कसरी सुरु भयो ?
गत मंगलबार सुरुवाती ७.१ तीव्रताको भूकम्प बिहान ६बजेर ३५ मा सिजाङ्गमा गयो । त्यसपछि ४.७ र ४.९ म्याग्नेच्यूडका दुईवटा परकम्प आए । भूकम्पको प्रभाव तिब्बतबाट बाहिरसम्म पनि फैलियो । उत्तर भारतसँगै नेपाल तथा भुटानमा समेत भूकम्पको शक्तिशाली कम्पन महसुस भयो ।
लगातार भूकम्प आउनुका बाबजुत हिमालय क्षेत्र प्रायः प्राकृतिक विपदको पूर्वतयारीमा कमजोर सावित हुँदै आएको छ । मुख्य चुनौतिहरुमा भवन निर्माण मापदण्डको कमजोर पालना, पूर्व चेतावनी प्रणाली प्रभावकारी नहुनु तथा भूकम्पीय सुरक्षाका विषयमा अपर्याप्त जागरुकता समेत रहेका छन् ।
हालैका वर्षमा नेपाल तथा तिब्बतमा विभिन्न घातक भूकम्प गएका छन् । सन् २०१५ मा नेपालमा गएको विनाशकारी ७.८ म्याग्निच्युडको भूकम्पमा परेर करीब ९ हजार मानिसको मृत्यु हुनुका साथै अर्बौंको भौतिक क्षति भएको थियो । त्यस्तै तिब्बतमा सन् २०११ मा गएको ६.९ म्याग्निच्युडको भूकम्पमा १ सयभन्दा धेरैको मृत्यु भएको थियो ।
१९९० सालको भूकम्पले पूर्वी नेपाल पनि प्रभावित भएको थियो । नेपाल-बिहार भूकम्प भनिने सो भूकम्पमा १६ हजार मान्छे मरेको अनुमान छ । तीमध्ये ८ हजारको नेपाल र ८ हजारको विहारमा मृत्यु भएको थियो । ४ हजार व्यक्तिले काठमाडौं उपत्यकाभित्रै ज्यान गुमाएका थिए भने बाँकी मृतक पूर्वका थिए ।
२०७२ सालको गोरखा भूकम्पबाट नेपालमा मात्रै ८ हजार ६७० जनाको ज्यान गएको तथ्याङ्क छ । त्यो भूकम्पले सगरमाथा आधार शिविरमा पनि क्षति पुगेको थियो ।
भूकम्पीय सुरक्षाका लागि विज्ञको सुझाव
कडा भवन नियम : भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने र भवन निर्माण मापदण्डको कडाइका साथ पालना गर्ने ।
पूर्व चेतावनी प्रणाली : आसन्न भूकम्पीय गतिविधिका बारेमा मानिसहरुलाई सचेत गराउनका लागि प्रणाली विकास गर्ने ।
जनचेतना अभिवृद्धि : भूकम्पका बेला र तत् पश्चात्को सुुरक्षाका विषयमा जागरुकता पैदा गर्नुपर्दछ ।
क्षेत्रीय सहयोग : भूकम्पीय जोखिमको प्रभावकारी व्यवस्थापनका लागि डेटा तथा विशेषज्ञताको साझेदारीका लागि मुलुकहरुबीच सहकार्य हुनु आवश्यक छ ।
प्रतिक्रिया 4