+
+

विपक्षी बैठकमा प्रभु साहको गुनासो – ‘हामी प्रतिपक्षीबाटै पीडित छौं’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालतर्फ संकेत गर्दै बैठकमा सांसद साहले भने– ‘माधव कमरेडले हो कि सरकारले हो रौतहटका दुई दर्जन मानिसमाथि झुटा मुद्दा लगाइएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते १९:०७

१ माघ, काठमाडौं । विपक्षी दलहरूको बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रतिपक्षीबाटै आफूहरू पीडित हुनु परेको गुनासो गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालतर्फ संकेत गर्दै उनले बैठकमा यस्तो अभिव्यक्ति दिएका हुन् ।

नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलका नेताहरूको बैठकमा सांसद साहले गुनासो गर्दै भने, ‘प्रतिपक्षबाटै पीडित छौं ।’

बैठकमा सहभागी नेताहरूका अनुसार साहले रौतहटको बौद्धिमाइ नगरपालिकाका मेयर प्रदीप यादवको अभिव्यक्तिलाई लिएर नेपाललाई संकेत गर्दै गुनासो गरेका थिए ।

‘हामी प्रतिपक्षबाटै पीडित छौं,’ ती नेताले साहको भनाइ उदृत गर्दै भने, ‘माधव कमरेडले हो कि सरकारले हो रौतहटका दुई दर्जन मानिसमाथि झुटा मुद्दा लगाइएको छ । बौद्धिमाइ नगरपालिकाका मेयर न्यायालय र प्रहरी प्रशासन आफ्नो हातमा रहेको भनेर धम्क्याइरहेका छन् । समस्या यहाँ पनि छ ।’

बौद्धिमाई नगरपालिकाका प्रमुख यादव एकीकृत समाजवादीका हुन् । स्थानीय मुद्दाका विषयलाई लिएर आजपाका नेता–कार्यकर्ता मेयर यादवसँग रुष्ट छन् । मेयर यादवले प्रशासनको बलमा आफ्ना नेता–कार्यकर्तालाई मुद्दा लगाउने र धम्क्याउने गरिरहेको साहको गुनासो थियो ।

साहले यस्तो गुनासो गरेपछि बैठकमा सहभागी एकीकृत समाजवादीका अध्यक्ष नेपालले जवाफ फर्काए– ‘त्यो विषय मिलाउँला’ ।

नेपाल र साह दुवै रौतहटबाट निर्वाचित सांसद हुन् । नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट तथा साह रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका हुन् । यसबाहेक पनि दुई नेताबीच बेला बेला अन्य विषयलाई लिएर मनमुटाव सार्वजनिक हुने गरेको छ ।

बुधबारै पनि रौतहटको बौद्धिमाई नगरपालिकामा स्थानीयले नगरप्रमुख यादवको विरोधमा प्रदर्शन गरेका थिए । नाराजुलुससमेत गर्दै उनीहरूले नगर प्रमुखको कार्यालय घेराउ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?