
६ माघ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नयाँ योजना थप्नुभन्दा सुरु भएका पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
स्रोतसाधन र आवश्यकता अनुसार सरकारले नयाँ आयोजना थप्दै जान सक्ने भए पनि थालिएका आयोजना अलपत्र पारिने क्रम अब अन्त्य हुनुपर्ने उनको भनाइ छ ।
नेपालगञ्जमा आयोजित संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत अन्तर्गतका कार्यालय प्रमुख सहभागी कार्यशालाको आइतबार उद्घाटन क्रममा उनले ‘क्रोनिक’ आयोजना तथा योजनालाई प्राथमिकता दिएर पूरा गर्न निर्देशन दिए ।
‘सरकारले आफूसँग भएको स्रोतसाधन तथा आवश्यकता अनुसार नयाँ योजना तथा आयोजना थप्ने र ल्याउने नियमित प्रक्रिया हो,’ मन्त्री दाहालले भने, ‘तर, अब नयाँ योजना र आयोजना थप्नेतर्फ भन्दा थालिएका काम पूरा गर्नेतर्फ जोड दिनुहोला, अवरुद्ध र क्रोनिक आयोजनाका कारण नागरिकमा निराशा बढ्ने स्थिति आउनु हुँदैन ।’
डिभिजन तथा आयोजना कार्यालयहरूले गर्नुपर्ने काम र अघि बढाउनुपर्ने प्रक्रियालाई गति दिन उनले निर्देशन दिए । नीतिगत तथा कानुनी समस्याका कारण कार्यसम्पादनमा समस्या भए मन्त्रालयले सहजीकरण गर्ने तर काम अवरुद्ध हुन नदिइने उनको भनाइ छ ।
अहिले प्रमुख दल सहभागी भई स्थिर सरकार बनेको भन्दै उनले वर्तमान सरकारलाई असफल हुने छुट नभएको पनि बताए ।
भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभाग महानिर्देशक रामहरि पोखरेल सहित विज्ञले आयोजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा अभिमुखीकरण गर्नेछन् ।
प्रतिक्रिया 4