+

सभापति कप फुटबलमा आठ टिम, उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा खेल्ने

२०८१ माघ  ६ गते १७:२२ २०८१ माघ ६ गते १७:२२
सभापति कप फुटबलमा आठ टिम, उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा खेल्ने

६  माघ, काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको सभापति कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड र संकटा क्लब भिड्ने भएका छन् ।

निर्देशन समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले खेल तालिका सार्वजनिक गरेका हुन् । प्रतियोगितामा आयोजकको टिम नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब र फ्रेन्ड्स क्लबको सहभागिता रहनेछ ।

माघ १० गतेदेखि दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल दिउँसो ३ बजेदेखि सुरू हुने छ । हरेक दिन एक-एक खेल हुनेछन् । त्यस्तै माघ ११ गते मच्छिन्द्र र एपीएफ क्लब, १२ गते पुलिस क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश तथा माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

१४ र १५ गते सेमिफाइनलका खेल हुने छन् । १६ गत एक दिन विश्राम राखिएको र त्यसै दिन उपाधि विजेताले पाउने ट्रफी सार्वजनिक गरिने छ । फाइनल खेल १७ गते हुने छ ।

प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउने छ भने उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी हरेक खेलमा म्याच फीको रूपमा प्रत्येक टिमले ५० हजार पाउने छन् भने प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिने छ ।

फाइनलका दिन सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा काँग्रेस सांसद एवं महाधिवेशन निर्देशन समितिका संयोजक मोहन बहादुर बस्नेतले नेपालमा खेल क्षेत्रको विकासका साथै खेलाडीहरूलाई स्वदेशमा नै अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

उनले पछिल्लो समय नेपालले खेलकुदमा सफलता हासिल गरे पनि खेलाडी टिकाइ राख्ने वातावरण नभएको भन्दै यतातर्फ ध्यान दिन सबैलाई आग्रह गरेका थिए । प्रतियोगिताको अनुमानित बजेट १ करोड ४० लाख रुपैयाँ रहेको जानकारी गराउँदै आगामी दिनमा नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तित्वहरूको नाउँमा देशव्यापी प्रतियोगिताहरू आयोजना गर्ने प्रस्ट पारे ।

सभापति कप हरेक २–२ वर्षमा आयोजना हुने जानकारी गराइएको छ ।

सभापति कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय