+

यू-१९ महिला विश्‍वकप : सात टिम सुपर सिक्समा, अन्य टिमको के छ अवस्था ?

२०८१ माघ  ८ गते २१:५३ २०८१ माघ ८ गते २१:५३
यू-१९ महिला विश्‍वकप : सात टिम सुपर सिक्समा, अन्य टिमको के छ अवस्था ?

८ माघ, काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपमा चारवटै समूहका १६ टोलीले आ-आफ्ना २-२ खेल खेलिसकेका छन् ।

मंगलबारसम्म कुल १६ खेल सकिँदा सुपर सिक्समा पुग्ने सातवटा टिमको टुङ्गो लागिसकेको छ । अब पाँचवटा टिम सुपर सिक्समा छनोट हुन बाँकी रहँदा ९ वटै टोलीको सम्भावना जीवितै छ ।

नेपाल पनि पहिलोपटक सहभागी यस विश्‍वकपमा सुपर सिक्ससम्म पुग्न चाहन्छ । यद्यपी नेपालको सम्भावना दुई हारसँगै कठिन बनिसकेको छ । बुधबार अन्तिम खेलमा अस्ट्रेलियालाई हराउनै पर्ने दबाब नेपाललाई छ ।

महिला विश्वकपमा डेब्यू गरिरहेको नाइजेरिया सुपर सिक्समा पुग्दै सनसनी मच्चाउँदा अमेरिकाले पनि सुपर सिक्समा स्थान बनाउँदै बलियो दाबेदारी प्रस्तुत गरेको छ । साविक विजेता भारतसँगै उपविजेता इंग्ल्याण्ड तथा अस्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिका पनि सुपर सिक्समा पुगिसकेका छन् ।

टेस्ट राष्ट्र न्युजिल्याण्ड र पाकिस्तानलाई चूनौति देखिँदा हालसम्म कुन समूहबाट कुन-कुन टोलीहरू सुपर सिक्समा पुगिसकेका छन् त ? अब बाँकी टिमहरूका लागि के-कस्तो समीकरण छ ? आज चर्चा गर्नेछौं ।

समूह ए

समूह ए मा साविक विजेता भारतसँगै आयोजक मलेसिया, श्रीलंका र वेस्ट इन्डिज छन् । यो समूहबाट भारत र श्रीलंका समान ४ अंकसहित सुपर सिक्सका लागि छनोट भइसकेका छन् । दुवैले मलेसिया र वेस्ट इन्डिजमाथि सहज जित निकालेका थिए ।

अब यस समूहमा भारत र श्रीलंका तथा वेस्टइन्डिज र मलेसियाबीचको खेल हुन बाँकी छ । भारत र श्रीलंकाबीचको खेलले समूहविजेताको टुंगो लगाउँदा वेस्ट इन्डिज र मलेसियाबीचको खेलको विजेता सुपर सिक्समा पुग्ने छ ।

समूह बी

यस समूहमा साविक उपविजेता इंग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । हालसम्म अमेरिकाले आयरल्याण्डलाई हराउँदा इंग्ल्याण्डले पाकिस्तानसँगको खेल जितेको छ । अमेरिका र पाकिस्तान तथा इंग्ल्याण्ड र आयरल्याण्डबिचको खेल वर्षाले रद्द भएको थियो । अमेरिका र इंग्ल्याण्डको ३-३ अंक छ भने आयरल्याण्ड र पाकिस्तानको १-१ अंक छ ।

यस्तोमा अमेरिका र इंग्ल्याण्ड ३-३ अंकसहित सुपर सिक्समा पुगिसकेका छन् । अब अमेरिका र इंग्ल्याण्डबीचकै खेल बाँकी छ । उक्त खेलले समूह विजेताको टुंगो लगाउनेछ । आयरल्याण्ड र पाकिस्तानबीचको विजेता टोली सुपर सिक्समा पुग्ने छ ।

समूह सी

समुह सी मा न्युजिल्याण्ड, दक्षिण अफ्रिका, नाइजेरिया र सामोआ छन् । दुई डेब्यूटान्ट टिमहरूमध्ये दुईको भिन्नभिन्न अवस्था देखिँदा यस समूहबाट पनि दुई टोली सुपर सिक्समा पुगिसकेका छन् । दक्षिण अफ्रिका ४, नाइजेरिया ३, सामोआ १ अंकमा रहँदा न्युजिल्याण्ड अंकविहिन छ ।

दक्षिण अफ्रिकाले न्युजिल्याण्ड र सामोआलाई हराइसकेको छ भने नाइजेरियाले न्युजिल्याण्डलाई हराउँदा सामोआसँगको खेल रद्द भएको थियो । न्युजिल्याण्डमाथि २ रनको जित निकाल्दै नाइजेरियाले सनसनी मच्चाएको थियो ।

यहाँबाट दक्षिण अफ्रिका र नाइजेरियाले सुपर सिक्समा स्थान पक्का गरिसकेका छन् । अब ती दुई टोली नै खेल्न बाँकी छ । विजेता टिम समूहको शीर्षमा रहनेछ । सामोआ र न्युजिल्याण्डबीचको विजेता सुपर सिक्समा पुग्ने छ । सामोआको १ अंक भइसकेकाले वर्षाका कारण खेल नभएमा न्युजिल्याण्ड बाहिरिनेछ ।

समूह डी

अन्य तीन समूहमा सुपर सिक्स पुग्नका लागि सिधा समीकरण हुँदा यस समूहमा भने अझै तीनवटै टोलीको सम्भावना बाँकी छ । यस समूहमा अस्ट्रेलियाले दुई खेल जित्दै ४ अंकसहित सुपर सिक्समा स्थान पक्का गरेको छ । अस्ट्रलियाले स्कटल्याण्ड र बंगलादेशलाई हराएको थियो ।

त्यसैगरी बंगलादेश र स्कटल्याण्ड दुवैले नेपाललाई हराउँदै २-२ अंक जोडेका छन् । सबैभन्दा कठिन नेपाललाई देखिन्छ । समूह चरणको अन्तिम खेलमा बंगलादेश र स्कटल्याण्ड तथा नेपाल र अस्ट्रेलिया खेल्ने छन् ।

बंगलादेशले स्कटल्याण्डलाई हराएर नेपालले अस्ट्रेलियालाई हराए बंगलादेश र नेपाल सुपर सिक्समा पुग्ने छन् । स्कटल्याण्डले बंगलादेशलाई हराएर नेपालले अस्ट्रेलियालाई फराकिलो अन्तरले हराएमा पनि नेपाल अघि बढ्ने छ । त्यो अझ कठिन छ ।

त्यसैगरी नेपाल अस्ट्रेलियासँग पराजित भएमा बंगलादेश र स्कटल्याण्डबीचको नतिजा जे भएपनि दुवै टोली सुपर सिक्समा पुग्दा नेपाल बाहिरिने छ ।

आईसीसी यू-१९ महिला टी-२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय