+

च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार पुनरागमन जित

२०८१ माघ  ९ गते ७:५५ २०८१ माघ ९ गते ७:५५
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार पुनरागमन जित

९ माघ, काठमाडौं । यूरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार पुनरागमन जित हासिल गरेको छ । बार्सिलोनाले पोर्चुगिज क्लब बेनफिकालाई उसैको मैदानमा ५-४ गोलअन्तरले हराएको हो ।

खेलमा ४-२ ले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले शानदार पुनरागमन गर्‍यो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की र राफिन्हाले दुई-दुई गोल गरे भने एरिक गार्सियाको नाममा एक गोल रह्‍यो । बेनफिकाका लागि भान्जेलिस पाभिल्डिसले पहिलो हाफमै ह्‍याट्रिक गरे पनि व्यर्थ रह्‍यो ।

खेलको दोस्रो मिनेटमा नै बेनफिकाले अग्रता लिएको थियो । पाभिल्डिसले गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए । १३औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि खेल बराबरीमा आयो ।

२२औं मिनेटमा फेरि पाभिल्डिसको गोलमा बेनफिका खेलमा अगाडि आयो । ३०औं मिनेटमा उनले पेनाल्टीमार्फत ह्‍याट्रिक नै पूरा गर्दा पहिलो हाफमा बार्सिलोना ३-१ ले पछाडि रह्‍यो ।

दोस्रो हाफको ६४औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे । त्यसको चार मिनेटमा आत्मघाती गोलमार्फत बेनफिका ४-२ को अग्रतामा पुग्यो ।

त्यसपछि बार्सिलोनाको पुनरागमन सुरू भयो । ७८औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरे । ८६औं मिनेटमा एरिक गार्सियाले गोल गर्दै खेल ४-४ को बराबरीमा ल्याए । इन्जुरी समयको छैटौं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई उत्कृष्ट पुनरागमन जित दिलाए ।

च्याम्पियन्स लिग इतिहासमा ५-४ को अन्तरले खेलको नतिजा आएको यो पहिलोपटक हो । बार्सिलोनाले च्याम्पियन्स लिग वा यूरोपियन कपको कुनै पनि खेलमा २ गोलले पछाडि परेर पुनरागमन गर्दै खेल जितेको यो पहिलोपटक हो ।

४ भन्दा बढी गोल व्यहोरेर पनि खेल जित्ने बार्सिलोना दोस्रो टोली हो । यसअघि २०१६ मा बोरुसिया डर्टमुन्डले लेगिया वार्सलाई ८-४ गोलअन्तरले हराएको थियो ।

गएराति नै भएका अन्य खेलहरूमा लिभरपुलले लिललाई २-१ ले हराउँदा एट्लेटिको मड्रिडले बायर्न लेभरकुसनलाई २-१ ले हरायो ।

जितसँगै बार्सिलोना र लिभरपुलले अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।

युरोपियन च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय