 
																			१४ माघ, विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला देश दौडाहामा छन् । १० माघदेखि १३ माघसम्म पश्चिम नेपालको दौडाहा सकेका उनी सोमबार तेह्रथुम आइपुगेका हुन् । प्रचण्ड र तेह्रथुमको संयोग कस्तो छ भने २०३०/३१ साल तिर शिक्षकमा नाम निकालेका उनको पोस्टिङ तेह्रथुमको चुहानडाँडाको शारदा माविमा भएको थियो । शिक्षक नियुक्त लिएर तेह्रथुम पुगेका प्रचण्ड विकट भन्दै काम नगरी फर्किएका थिए ।
त्यसअघि भने उनी गोरखा आरुघाटमा शिक्षक बनेर बसेका थिए । शिक्षण त्यागेर उनी भूमिगत राजनीतिमा लागे ।
कार्यकर्ता माझ सोमबार प्रचण्डले आफू २०–२१ वर्ष छँदा शिक्षणमा आउन काेसिस गरेका ती पुराना दिनहरू सम्झे । उनले भने, ‘पढाउन गएको भए परिस्थिति अर्के हुन्थ्यो होला ।’
हजारौं शहीदको बलिदानले देशमा गणतन्त्र आएको प्रचण्डले बताए ।
बगाले घटना पूर्वमा भएको सबैभन्दा ठूलो हाताहातीको घटना थियो । मृतकको सम्झनामा निर्माण भएको बगाले शहीद स्मृति पार्कको प्रचण्डले उद्घाटन गरेका छन् । मंगलबार उनी चुहानडाँडामा हुनेछन् ।

‘१३ माघमा पाँचथरको गोपेटारको युद्ध हुँदा दुवैतर्फ ठूलो क्षति भयो, युद्धका घाइते साथीलाई बगालेमा राखिएको थियो, घाइतेलाई घरमा पसेर तत्कालीन राज्य पक्षले सामूहिक हत्या गरेको थियो,’ माओवादी प्रदेश सह-इञ्चार्ज सावित्रीकुमार काफ्ले भन्छन्, ‘आजकै दिन ३ जना स्थानीयसहित २१ जना माओवादी कार्यकर्ता मारिएका थिए ।’
त्यो घटनापछि तेह्रथुममा माओवादीले आफ्नो आधार विस्तार गर्दै लगेको थियो । माओवादी नेता गौतमका अनुसार २०५८ पछि तेह्रथुममा माओवादी र राज्यपक्षबाट ठूला घटना भएनन् ।
माओवादी केन्द्रका नेता शिवकुमार डाँगीका अनुसार तेह्रथुममा माओवादीको संगठन विस्तारमा तत्कालीन जनसरकार प्रमुख भक्तराज कन्दङ्वाको ठूलो भूमिका छ ।
‘तत्कालीन लिम्बुवानमा पर्ने तेह्रथुमको जनसरकार प्रमुख घोषणा भएपछि संगठन विस्तार भएको थियो,’ डाँगी भन्छन्, ‘उहाँ तेर्हथुमका साथै ताप्लेजुङको समेत सम्मानित व्यक्ति हुनुहुन्थ्यो ।’

तेह्रथुम तत्कालीन विद्रोही माओवादीको आधार क्षेत्रमा पर्ने जिल्ला हो । २०५८ सालमा संखुवासभा पछि माओवादीले तेह्रथुममा जनसरकार घोषणा गरेको थियो । माओवादीको पहिलो जनसरकार प्रमुख भक्तराज कन्दङ्वा थिए । स्वर्गीय कन्दङ्वाको शालिक मंगलबार प्रचण्डले अनावरण गर्नेछन् ।
२१ वर्षअघि आजकै दिन २०५८ साल १४ माघमा तेह्रथुमको बगालेमा तत्कालीन राज्यपक्षले २१ जनाको गोली हानी हत्या गरेको थियो । सो घटनामा तीन जना स्थानीय मारिएका थिए ।
माओवादी सशस्त्र संघर्षका बेला पूर्वी कमान्ड सम्हालेका वर्षमान पुनलाई साथ लिएर तेह्रथुम पुगेका प्रचण्डले सामूहिक हत्या भएको घरको अवलोकन गरेका छन् ।
‘बगाले घटनास्थल पुग्दा अध्यक्षज्यू भावुक बन्नुभयो,’ माओवादी नेता रघुनाथ गौतमले भने, ‘उहाँले विगतका दिन पनि सम्झनु भयो ।’

प्रचण्ड एक साताअघि उनी विराटनगर आएका थिए । छोरी गंगाको घरमा बसेर उनले स्थानीयसँग भेटघाटका साथै सार्वजनिक कार्यक्रममा पनि सहभागी भए ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरण बनेपछि फुर्सदिला बनेका प्रचण्ड पार्टीको कार्यक्रममा दाैडधुप गरिरहेका छन् । स्थानीय रहनसहन अनुसारको खानपानसँगै सर्वसाधारणसँग पनि छलफल गर्ने गरेका छन् ।
नेपाली सेनाको हेलिकप्टरमा सोमबार तेह्रथुम आएका प्रचण्डले पार्टीले आयोजना गरेको कार्यक्रम सकेर भोलि मंगलबार काठमाडौं फर्कने छन् ।
(शीर्षक संशोधन गरिएको)
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4