१३ माघ, काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टोलीले आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा पहिलोपटक सहभागिता जनायो । नेपाली महिला क्रिकेट इतिहासमा कुनैपनि टोलीले विश्वकप खेलेको यो पहिलोपटक थियो ।
विश्वकपको समूह चरणबाट अघि बढ्न नसकेपनि नेपालले सराहनीय खेल प्रदर्शन गरेको थियो । विश्वकपअघिको छनोट र एसिया कपमा पनि नेपाली महिला युवा टोलीको प्रदर्शन राम्रो देखिएको थियो ।
पहिलोपटक विश्वकपमा छनोट हुनुदेखि एसिया कपमा टेस्ट राष्ट्र पाकिस्तानलाई हराउनु नेपाली महिला क्रिकेटका लागि एउटा छुट्टै सफलता थियो । यो सफलताको बाटोमा पथप्रदर्शक बनेका नेपाली क्रिकेट खेलाडीहरूको चौतर्फी प्रशंसा भइरहेका पनि थिए ।
यी सबै उपलब्धिहरूलाई नेपाली महिला क्रिकेटमा रुपान्तरणको आशासहित एउटा नयाँ अध्यायको रूपमा हेरिएको छ । हाल यू-१९ टोलीमा रहेका खेलाडीहरू नै भविष्यमा सिनियर टिमसम्मै पुगेर अर्को एउटा उचाइ हासिल गर्न सफल हुने कुरा एकतर्फ रहँदा नेपाली सिनियर महिला टिमले हासिल गर्न नसकेका उपलब्धिहरू अब आउने दिनमा पूरा हुन सक्छ भन्ने कुरामा दुईमत छैन ।
नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले महिला क्रिकेट ग्लोबल स्टेजसम्म पुग्न सफल भएको कुराले अब अझ उत्कृष्ट भविष्यका लागि सम्भावना देखाएको उल्लेख गर्दै ग्रासरुट क्रिकेटमा पनि क्यानले थप प्रयासहरू गर्ने बताएका छन् ।
महिला क्रिकेटको सपना साकार भएको क्षण
नेपालको पुरूष टोलीले दुईपटक विश्वकप खेलिसकेको भएपनि महिला टोलीका लागि भने त्यो सपनाकै रूपमा थियो । सन् २००७ मा महिला क्रिकेट थालनी भएदेखिको प्रयास करिब १८ वर्षपछि आएर सार्थक भएको छ ।
युवा टोलीले विश्वकप खेलेसँगै अब सिनियर टोलीका लागि पनि यो विश्वकप सहभागिताले आत्मविश्वास बढाएको छ । सिनियर महिला क्रिकेट टिमकी अनुभवी खेलाडी सिता राना मगरले पनि अहिलेको विश्वकप सहभागिता निकै नै सकारात्मक पक्षका रूपमा रहेको प्रतिक्रिया दिइन् ।
‘यो एकदमै खुसीको क्षण हो, यू-१९ ले विश्वकप खेलेपछि अब कति नयाँ खेलाडीहरूका लागि पनि मोटिभेसन प्राप्त भएको छ, हामी सिनियर टिमका खेलाडीहरूलाई पनि अब यू-१९ ले त खेलिसक्यो, हामी पनि सक्छौं हामीले गर्नुपर्छ भन्ने खालको एउटा मोटिभेसन नै आएको छ’ उनले भनिन् ।
यू-१९ टिमको जोश र सिनियर खेलाडीको अनुभवको समिश्रणले अब अझै धेरै राम्रो प्रदर्शन गर्दै जान सकिने सिताले विश्वास व्यक्त गरेकी छन् । ‘हामीले छनोटदेखि खेलाडीहरूको प्रदर्शन हेर्यौं, सबै खेलाडीहरूमा एउटा फरक किसिमको उत्साह अनि जोश थियो’ सिताले भनिन्, ‘यू-१९ खेलाडीहरूको त्यस्तो जोश अनि हामी सिनियर खेलाडीहरूको अनुभव सँगै भएर त्यसैअनुसारको योजना बनाएर अघि बढ्यौं भने अबका दिनहरूमा हामी अझै राम्रो प्रदर्शन गर्दै थप सफलताहरू हासिल गर्न सक्छौं।’
नेपालको सबैभन्दा पहिलो महिला क्रिकेट टोलीका नेतृत्वकर्ता एलबी क्षेत्रीले पनि यो सबैका लागि गर्व गर्ने विषय भएको उल्लेख गरे । ‘अत्यन्तै खुसी लागेको छ, सबैको साझा प्रयासले यो सफलता हामीले प्राप्त गरेकोमा हाम्रो महिला क्रिकेट पनि अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ्ग हुदैछ भन्ने लागेको छ’ उनले अनलाइनखबरसँग भने ।
महिला क्रिकेटमा रुपान्तरण
सन् २००७ देखि नै क्रिकेटको सुरूवात गरेको भएपनि हालसम्म आइपुग्दा नेपाली महिला टोलीले विश्वकप वा सो सरहका कुनै पनि प्रतियोगितामा छनोट हुन सकेको थिएन । सिनियर महिला टोलीले पाँचपटक एसिया कप खेलेको कुरा नै नेपाली सिनियर महिला टोलीले अहिलेसम्म खेलेको सबैभन्दा ठुलो उपलब्धि थियो ।
तर समग्र महिला क्रिकेटकै प्रतिनिधित्व गर्ने गरी यू-१९ महिला क्रिकेट टोलीको ऐतिहासिक विश्वकप सहभागिता अब नेपाली महिला क्रिकेटको सबैभन्दा ठुलो उपलब्धि भएको छ ।
यसलाई नेपाली महिला क्रिकेटमा एउटा रुपान्तरणको रूपमा पनि हेरिएको छ । अबका दिनहरूमा यो नेपाली महिला क्रिकेटका लागि थप उचाइ हासिल गर्ने एउटा नयाँ अध्यायका रूपमा पनि लिन सकिन्छ ।
यू-१९ महिला क्रिकेट टिमका प्रशिक्षक महेश रिजालले विश्वकप छनोट खेल्नुअघि नेपाली महिला क्रिकेटमा रुपान्तरणको सुरूवात गर्ने अठोट लिएका थिए । सोहीअनुसार नेपालले विश्वकपमा छनोट हुँदै एसिया कपमा टेस्ट राष्ट्रलाई पनि हरायो । त्यसकारण महिला टोलीले पहिलोपटक विश्वकप खेल्दा पर्दापछाडिका नायक भने रिजाल नै हुन् ।
सिताले पनि यस विश्वकपले अब भविष्यमा धेरै ढोकाहरू खुल्ने कुरा उल्लेख गरिन् । ‘विश्वकप खेलेपछि अब एउटा ठुलो पोटेन्सियल देखिएको छ अनि महिलाले पनि विश्वकप खेल्न सक्छन् है, गर्न सक्छन् है भन्ने देखिएको छ’ उनले भनिन्, ‘सम्बन्धित निकायको पनि अब राम्रो ध्यान जान्छ र त्यसो भयो भने हामी अझै धेरै राम्रो गर्न सक्छौं।’
एलबी क्षेत्रीले पनि यस सफलताले महिला क्रिकेटमा थुप्रै परिवर्तन ल्याउन सक्ने कुरा औंल्याए । ‘यो सफलताले अब छोरीहरूलाई पनि यस खेलमा अगाडि बढाउनु पर्छ भन्ने कुराहरू परिवारलाई बुझाउन मद्दत पुग्ने छ र यसमा सक्रिय रूपले हामीले पनि भूमिका खेल्नु पर्छ भन्ने सन्देश प्रवाह गरेको छ’ उनले भने ।
‘यसले लैंगिक विभेदीकरण न्यूनीकरण गर्न सहयोग गर्नेछ र नेपाली महिलाहरू तथा खेलाडीहरूलाई योजनाबद्ध अवसर दिएमा सफलता प्राप्त गर्न सकिनेछ भन्ने सन्देश दिन यो सफलताले अहम भूमिका खेल्ने विश्वास लिएको छु’ क्षेत्रीले अगाडि थपे ।
‘मैले नेतृत्व गरेर योजना बुझाउन सफल भएपछि नेत्र उपाध्याय, राम गुप्तालगायतका तत्कालीन साथीहरूको साझा प्रयास बाट सफल भएका हौं। सही समन्वय, स्पष्ट दृष्टिकोण र प्रतिबद्ध नेतृत्वले सफल भएको अनुभूति भइरहेको छ’ उनले भने ।
पुजाले देखाएको आशा
विश्वकप छनोटका बेलादेखि नै नेपाली टोलीकी कप्तान पुजा महतोका बारेमा चर्चा भइरहेको थियो । उनले छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
उनकै कप्तानीमा विश्वकपमा छनोट अनि एसिया कपमा टेस्ट राष्ट्र पाकिस्तानलाई हराएपछि उनी थप चर्चामा आइन् भने त्यसलाई शिखरमा पुर्याउने काम विश्वकपको प्रदर्शनले गर्यो । उनले समूह चरणका खेलहरू सकिँदासम्म नेपालका लागि सर्वाधिक रन र विकेटको त भइ नै हाल्यो, त्यस अवस्थासम्म प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलरको रूपमा रहेकी थिइन् ।
यस विश्वकपले पुजालाई विश्वभर चिनाएको छ र नेपाली टोलीको एक महत्वपूर्ण खेलाडी हुन् भनेर प्रमाणित नै गरिदिएको छ । उनी सिनियर टिमका लागि पनि अब महत्वपूर्ण खेलाडीका रूपमा रहनेछिन् ।
पुजाको प्रदर्शनबारे सिताको भनाइ पनि त्यस्तै छ । ‘पुजाको कन्सिस्टेन्सीले गर्दा अब सिनियर टिमले पनि एउटा भरपर्दो खेलाडी पाएको छ भन्ने मलाई लाग्छ’ उनले भनिन्, ‘पहिला पनि राम्रो खेलिरहेको हो सिनियर टिममा तर यो विश्वकप छनोटदेखि एसिया कप र विश्वकपमा उनको प्रदर्शनमा थप निखार आएको छ।’
साँच्चै नै, नेपाली क्रिकेटमा उदीयमान खेलाडीका रूपमा छाइरहेकी पुजाले उमेर समूहको टोलीलाई ऐतिहासिक सफलता दिलाउन सफल भइसकेको अवस्थामा सिनियर टोलीका लागि पनि सोही प्रदर्शनलाई निरन्तरता दिने अपेक्षा हुनेछ ।
अब महिला क्रिकेटमा अर्को नयाँ इतिहास बनाउने बाटोमा पनि पुजा सारथीको रूपमा रहनेछिन् भन्ने ठुलो आशा राख्न सकिन्छ । यसैबाट महिला क्रिकेटका लागि एउटा रुपान्तरित टोली अनि रुपान्तरित प्रदर्शन हुनेमा पनि विश्वस्त रहन सकिनेछ ।
प्रतिक्रिया 4