+

एन्फा महिला लिग : विभागीय डर्बी फाइनलमा एपीएफलाई पुलिसको चुनौती

२०८१ माघ  १५ गते १८:०४ २०८१ माघ १५ गते १८:०४
एन्फा महिला लिग : विभागीय डर्बी फाइनलमा एपीएफलाई पुलिसको चुनौती

१५ माघ, काठमाडौं । एन्फा महिला लिग फुटबलको उपाधिका लागि बुधबार दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल बुधबार दिउँसो २ बजेदेखि सुरू हुनेछ ।

लामो सयमको लिग र फरक फर्म्याटको खेलपछि दुई विभागीय टोली उपाधि भिडन्तका लागि तयार भएका छन् । पहिलोपटक महिला लिगमा प्लेअफ शैली प्रयोग हुँदा एपीएफ र पुलिस दुवैले अर्को विभागीय टोली त्रिभुवन आर्मी एफसीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

सुरूमा महिला लिगमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए । सिंगल राउण्डपछि शीर्ष पाँच टोली सुपर लिगमा प्रवेश गरेका थिए जहाँ डबल राउण्ड रोबिनका आधारमा ५ टिमबीच २० खेल भएको थियो ।

त्यसमा एपीएफ अपराजित रहेर शीर्ष स्थानमा रहँदा आर्मी दोस्रो, पुलिस तेस्रो र बागमती युथ क्लब चौथो भएको थियो । पाँचौ भएको वालिङ नगरपालिका सुपर लिगबाट बाहिरियो भने शीर्ष चार टोली प्लेअफ पुगेका थिए ।

जहाँ पहिलो क्वालिफायरमा एपीएफले आर्मीलाई हराएर फाइनल पुगेको हो । सुरुमा पछि परेपनि एपीएफले उत्कृष्ट पुनरागमन गर्दै आर्मी विरुद्ध २-१ को जित हात पारेको थियो ।

अर्कोतर्फ पुलिसले एलिमिनेटरमा अमृता जैसीको इन्जुरी टाइम गोलमा बागमती युथ क्लबलाई १-० ले पराजित गर्दै क्वालिफायर टु मा स्थान बनाएको थियो । जहाँ पहिलो क्वालिफायरमा पराजित आर्मीसँग पुलिसको भेट भयो । उषा नाथ नायक बनेपछि पुलिसले क्वालिफायर टु मा आर्मीलाई पेनाल्टी सुटआउटमा २-१ ले हराएर एपीएफसँग फाइनल भेट पक्का गरेको हो ।

महिला फुटबलमा जस्तो खालको संरचना प्रयोग गरिएपनि यस पटक भएको प्लेअफका दुई खेल भने उत्कृष्ट रह्यो । जहाँ दुवै खेल हार्ने टिम आर्मी रह्यो भने एपीएफ र पुलिसले आर्मीलाई नै हराएर फाइनल पुग्यो ।

फाइनलका लागि दुवै टोली तयार

महिला लिगको फाइनललाई दुई विभागीय टोलीको प्रतिष्ठाको लडाइँको रुपमा समेत हेरिएको छ । दुई विभागको टिम एकआपसमा मैदान उत्रँदा खेलको नतिजासँगै प्रतिष्ठा पनि सँगै जोडिएर आउँछ ।

त्यसैले दशरथ रंगशालामा बुधबार हुने महिला लिगको फाइनल पनि च्याम्पियन बन्ने होडसँगै प्रतिष्ठाको लडाइँ समेत हुनेछन् । एपीएफ अनिता बस्नेतको कप्तानीमा खेल्दैछ भने पुलिसको कपत्नी राष्ट्रिय टिमकी पूर्वकप्तान निरु थापाले गर्नेछिन् ।

दुवै टिमका मुख्य प्रशिक्षकले फाइनलका लागि तयार रहेको बताएका छन् । संयोगवश दुवै टिमका प्रशिक्षक भने नेपाली राष्ट्रिय पुरुष टिमका पूर्व खेलाडीहरु छन् । एपीएफको प्रशिक्षण जिवेश पाण्डे र पुलिसको प्रशिक्षण भोला सिलवालले सम्हालेका छन् ।

पहिलो पटक एपीएफको प्रशिक्षक सम्हालेका पाण्डेले अपराजित यात्रालाई फाइनलसम्म निरन्तरता दिएर उपाधि जित्ने लक्ष्य रहेको बताए । ‘हामी लिग अवधिभर अपराजित छौं र त्यसलाई अन्तिम खेलमा पनि निरन्तरता दिएर लिग जित्ने लक्ष्य छ’ एपीएफका मुख्य प्रशिक्षक जिवेश पाण्डेले अनलाइनखबरसँग भने ।

एपीएफमा राष्ट्रिय टिमका खेलाडीहरुको बाहुल्यता रहेकोले अनुभवी टिम रहेको प्रशिक्षक पाण्डेले बताए । आप्नो टिमका खेलाडीहरुले राष्ट्रिय टिमबाट दशरथ रंगशालमा खेलिसकेको भएकोले फाइनल रंगशालमा खेल्दा खासै फरक नपर्ने उनको भनाई छ ।

पुलिसका मुख्य प्रशिक्षक भोलानाथ सिलवालले फाइनलका लागि आफ्नो टिम तयार रहेको बताउँदै आफ्नो रणनीति अनुसार खेल्ने बताए । ‘हामीले हरेक खेल खेल्दा फाइनल जस्तै सोचेर खेल्दै आएका छौँ । क्वालिफायरमा आर्मीसँग पनि त्यही मनस्थितीका साथ खेल्यौं र अब फाइनलमा पनि त्यही अनुसार खेल्ने लक्ष्य छ’ सिलवालले अनलाइनखबरसँग भने ।

सिलवालले तुलानातमाक रुपमा एपीएफ बलियो टोली रहेपनि फुटबलमा भन्न कस्तो नतिजा आउँछ नसकिने बताए । ‘हरेक पटक खेल्दा हामी जितको मनस्थितीमा खेल्नेछौँ र एपीएफसँग पनि जितको लक्ष्य दिएर मैदान उत्रनेछदा । गेम हो । पुटबल हो भन्न सकिँदैन । कहिलेकाहीँ अप्रत्यासित नतिजा पनिबउन सक्छ’ उनले भने, ‘हामी आफ्नो रणनीति अनुसार खेल्छौँ ।’

मुख्य खेलाडी सावित्रा भण्डारी, गोलकिपर एन्जिला तुम्बापो सुब्बा र डिफेण्डर हिरा कुमारी भुजेल नहुँदा पनि एपीएफले सानदार प्रदर्शन गर्दै अपराजित रहेर फाइनल पुगेको हो । त्यसैले पनि एपीएफ उपाधि जित्नेमा आत्मविश्वासी छ ।

अनिता बस्नेतको कप्तानीमा रहेको एपीएफमा राष्ट्रिय टिमका खेलाडीहरुको वर्चस्व छ । अनितासहित राष्ट्रियका टिमका रेनुका नगरकोटी, सरु लिम्बु, गीता राना, प्रिती राई, अनिता केसी, रश्मी कुमारी घिसिङ, सविता राना मगर, निशा थोकर एपीएफमा छन् । यस लिगमा सावित्रा भण्डारी नहुँदा एपीएफको स्कोरिङ जिम्मा लिएकी रश्मी लयमा छिन् । उनले सुपर लिग र प्लेअफमा गरी ९ खेलमा १७ गोल गरिसकेकी छन् । यसअघि रश्मीले पहिलो चरणमा ९ खेलमा १८ गोल गरेकी थिइन् । उनले १८ खेलमा कूल ३५ गोल गरिसकेकी छन् ।

पुलिसमा भने राष्ट्रिय टिमका उषा नाथ, अमृता जैसी, पुजा राना र समिक्षा घिमिरे मात्र छन् । उषा गोलकिपर तथा बाँकी तीनैजना डिफेण्डर हुन् । त्यसैले पुलिसको डिफेन्स लाइन राम्रो छ । राष्ट्रिय टिमका पूर्वकप्तान निरु थापाले पुलिसको मिडफिल्ड र टिमकै नेतृत्व गर्नेछिन् । गोलकिपर उषाले क्वालिफायर टु मा शानदार प्रदर्शन गर्दै आफूलाई प्रमाणित गरेकी छन् ।

अर्कोतर्फ पुलिसविरूद्ध यस लिगमा तीन पटक खेलिसकेको एपीएफ अपराजित छ । पहिलो चरणमा गोलरहित बराबरी खेलेको एपीएफले सुपर लिगमा पुलिसलाई दुवै खेलमा पराजित गरेको थियो । ‘यसअघि पनि हामीले ३ खेल खेलिसकेका छौं र यो चौथो खेल हुनेछ । पुलिसले पनि राम्रै खेलिराछ । हामी पनि बलियो टिम छौं’ एपीएफका प्रशिक्षक पाण्डेले भने ।

फाइनलअघि एपीएफले पुलिसले भन्दा धेरै आराम पाएको छ । पुलिसले भने एक दिनको विश्राम पछि नै फाइनल खेल्नुपर्ने अवस्था छ । त्यसले गर्दा खेलाडीमा केही थकान भएपनि गर्न सक्छौं भन्ने लक्ष्यका साथ फाइनल खेल्ने प्रशिक्षक सिलवालले बताए । ‘हामीले लिगको सुरुमा पनि एपीएफलाई ड्र गरेका थियौँ । गर्न सकिन्छ भन्ने सम्भावना बहिनीहरुले देखाइसकेको छ’ उनले थपे ।

एपीएफ-पुलिस हेड टु हेड

एन्फा महिला लिगमा समग्रमा एपीएफ र पुलिस चौथो पटक भिड्न लागेका हुन् । यसअघि भएको तीन भेटमा एपीएफ पुलिस विरुद्ध अपराजित छ भने पुलिस गोलविहिन छ ।

पहिलो चरणमा पुलिसले एपीएफलाई गोलरहित बराबरीमा रोकेको थियो । तर सुपर लिगको दुवै खेलमा एपीएफ विजयी भएको थियो ।

सुपर लिगको पहिलो खेलमा एपीएफले पुलिसलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको थियो । अर्को खेलमा एपीएफले पुलिसलाई २-० ले पराजित गरेको थियो ।

सुपर लिगमा दुवै टोलीको नतिजा

सुपर लिगमा एपीएफले उत्कृष्ट प्रदर्शन गर्दै सबै ८ खेल जितेको थियो । शीर्ष सथ्नमा रहेको एपीएफले क्वालिफायर वानमा आर्मीलाई हराएर सिधै फाइनलमा प्रवेश गरेको हो । एपीएफले सुपर लिग र प्लेअफमा गरी ९ खेल खेल्दा सबैमा जित हात पारेको थियो । जसमा एपीएफले कूल ४५ गोल गर्दा जम्मा ४ गोल मात्र व्यहोरेको थियो ।

अर्कोतर्फ पुलिसले भने सुपर लिगमा ८ मध्ये ३ खेल मात्र जित्दा २ खेल बराबरी गरेको थियो भने ३ खेलमा हार व्यहोरेको थियो । त्यसपछि प्लेअफमा एलिमिनेटर र क्वालिफायर टु दुवै खेल जितेर फाइनल पुगेको हो । जसमा पुलिसले १२ गोल गर्दा १० गोल व्यहोर्‍यो ।

एपीएफको नतिजा

एपीएफ ५-१ बागमती

एपीएफ ९-० वालिङ

एपीएफ ६-० पुलिस

एपीएफ ३-१ आर्मी

बागमती ०-६ एपीएफ

वालिङ ०-१० एपीएफ

पुलिस ०-२ एपीएफ

आर्मी १-२ एपीएफ

क्वालिफायर वान

एपीएफ २-१ आर्मी

पुलिसको नतिजा

पुलिस ५-० वालिङ

आर्मी ०-० पुलिस

बागमती ०-२ पुलिस

एपीएफ ६-० पुलिस

वालिङ १-४ पुलिस

पुलिस ०-१ आर्मी

पुलिस ०-० बागमती

पुलिस ०-२ एपीएफ

प्लेअफ

एलिमिनेटर : पुलिस १-० बागमती

क्वालिफायर टु : पुलिस २-१ आर्मी (पेनाल्टीसुटआउट)

एन्फा महिला राष्ट्रिय लिग

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय