+
इंग्लिस प्रिमियर लिग :

वूडको ह्‍याट्रिकमा नोटिङहामको फराकिलो जित, लिभरपुलले बर्नमाउथलाई हरायो

२०८१ माघ  २० गते ७:४८ २०८१ माघ २० गते ७:४८
वूडको ह्‍याट्रिकमा नोटिङहामको फराकिलो जित, लिभरपुलले बर्नमाउथलाई हरायो

२० माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा नोटिङहाम फरेस्टले फराकिलो जित निकालेको छ । नोटिङहामले ब्राइटनलाई ७-० ले हराएको हो ।

घरेलु मैदानमै आएको जितमा क्रिस वूडले ह्‍याट्रिक गर्दा मोर्गान गिब्स ह्‍वाइट, नेको विलियम्स र जोटा सिल्भाले १-१ गोल गरे । एक गोल लेविस डन्कको नाममा आत्मघाती रह्‍यो ।

खेलमा सुरूवाती अग्रता नै आत्मघाती गोलबाट पाएको थियो । मोर्गानले खेलेको बललाई क्लियर गर्न खोज्दा डन्कको खुट्टामा लागेर गोल भएको थियो ।

२५औं मिनेटमा उनै मोर्गानले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । वूडले ३२औं मिनेटमा गोल गरेपछि नोटिङहाम पहिलो हाफमा ३-० ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ६४औं मिनेटमा वूडले व्यक्तिगत दोस्रो गोल गर्दा त्यसको पाँच मिनेटपछि पेनाल्टीमा गोल गर्दै ह्‍याट्रिक पूरा गरे । त्यसपछि ८९औं मिनेटमा नेको र इन्जुरी समयमा सिल्भाले गोल गर्दै ७-० को जित पक्का गरे ।

जितपछि नोटिङहामको २४ खेलमा ४७ अंक भएको छ र तेस्रो स्थानमा छ । पराजित ब्राइटन ३४ अंकसहित १०औं स्थानमा छ  ।

सालाहको दुई गोलमा लिभरपुलको जित

गएराति नै भएको अर्को खेलमा लिग लिडर लिभरपुलले उत्कृष्ट लय जारी राख्दै बर्नमाउथलाई उसैको मैदानमा २-० ले पराजित गरेको छ ।

लिभरपुलको जितमा मोहमद सालाहले २ गोल गरे । उनले ३०औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । ७५औं मिनेटमा अर्को गोल थपे ।

लिभरपुलको २३ खेलबाट ५६ अंक भएको छ । बर्नमाउथ २४ खेलबाट ४० अंकसहित सातौं स्थानमा छ ।

गएराति नै भएका अन्य खेलहरूमा फूलहामले न्युकासललाई र साउथह्‍याम्पटनले इप्सविचलाई २-१ ले हराउँदा वुल्भ्सले एस्टन भिल्लालाई २-० ले हरायो ।

इंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय