
काठमाडौं । अभिनेत्री दीया पुनको विवाह कार्यक्रम अझै सकिएको छैन । शनिबार पोखरास्थित पुन समाजको परिसरमा भव्य विवाह समारोह आयोजना गरियो जहाँ अभिनेता दयाहाङ राई, माओत्से गुरुङ, निर्देशक मिलन चाम्स पनि पुगेका थिए ।
पर्यटन व्यवसायी समेत रहेका प्रेमी रुक्मान लामासँग उनले गतसाता भरतपुरमा तामाङ परम्पराअनुसार विवाह गरेकी थिइन् । यसपटक भने दीयाले मगर परम्पराअनुसार विवाह गरेकी हुन् । भव्य समारोहमा दीयाका आफन्त र कलाकारहरू पुगेका थिए ।
दीयासँग मिलन र दयाहाङले ‘वीर विक्रम’मा सहकार्य गरेका छन् । ‘वीर विक्रम’ दीयाको डेब्यु फिल्म समेत हो । माओत्से र दयाहाङसँग दीयाले ‘दयारानी’मा काम गरिन्, जुन फिल्म गतवर्षको धेरै नाफा कमाउने फिल्म हो ।
दीयाले मिस्टर झोले, मन्त्र, अन्तिम संस्कारमा पनि अभिनय गरेकी छन् । उनी अभिनित ‘एक्लो’ रिलिज तयारीमा छ ।
यसबाहेक, दीया पर्वतारोही पनि हुन् । २०७९ सालको जेठमा उनले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी थिइन् । त्यसपछि उनले मनास्लु पनि चढिन् । सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने उनको योजना छ । यसबाहेक बेलायतमा कार्यरत नर्स पनि हुन् ।
प्रतिक्रिया 4