
२३ माघ, काठमाडौं । बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले विपद् प्रभावित क्षेत्रको व्यवस्थापनमा सरकारको उपस्थिति फितलो भएको गुनासो गरेका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा विशेष समय माग गर्दै उनले सरकार विपद् लगत्तै उपस्थिति देखाएर आश्वासन मात्र दिएको गुनासो गरे ।
उनले भने, ‘सरकार विपद् लगत्तै हरेक पटक आश्वासन मात्र दिन्छ । तर अब यस्तो हैन सम्बोधन पनि हुन पर्यो।’
विपद् प्रभावित क्षेत्रको व्यवस्थापन र पुनः निर्माणका लागि बागमती प्रदेश सरकारले समेत गम्भीरताका साथ काम गर्नुपर्ने उनको माग छ ।
‘नागरिकको समस्यामा सरकार गम्भीरताका साथ अघि बढेन भन्ने जनताको गुनासो छ यसमा सरकारका मन्त्री र नेतृत्वकर्ताहरुले गम्भीरताका साथ अघि बढ्नुपर्छ।’ उनले आगामी बजेटमा काभ्रेका विपद् प्रभावित क्षेत्रलाई प्राथमिकतामा राख्न समेत माग गरे ।
बाढीपहिरोको कारण काभ्रेको ४ स्थानीय तह (पनौती रोशी, बेथानचोक र नमोबुद्ध) सहित अन्य ९ पालिकामा बढी क्षति भएको उनले बताए । विपद्का कारण उक्त स्थानीय तहहरुमा सडक पूर्वाधार, खानेपानी, सिँचाइ लगायतका क्षेत्रमा क्षति पुगेको उनले बताए ।
‘विपद्का कारण बीपी राजमार्गको ९ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ । सो राजमार्ग वर्षा याममा चल्न सक्ने अवस्था छैन । रोशी खोलाको उचाइ ४-५ इन्च बढेकाले विपद्को जोखिम उच्च बनेको उनको भनाइ छ ।
नमोबुद्ध र रोशी गाउँपालिका जोड्ने थान्सिङ बेसीमा बनेको पक्की पुल बाढीले बगाएकोले त्यस ठाउॅमा मोटरेबल पुल निर्माणका लागि सरकारले तत्काल डिपीआर लगायतको काम अघि बढाउन माग गरे ।
विपद् प्रभावित स्थानीय तहको पुनः निर्माणमा सरकारको ध्यानाकर्षण गर्न सभामुखले रुलिङ गर्न समेत उनले आग्रह गरे ।
प्रतिक्रिया 4