 
																			२४ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार प्रकरणमा आफ्नो संलग्नता भए छानबिन गर्न चुनौती दिएका छन् ।
प्रतिनिधिसभामा बिहीबार सम्बोधन गर्ने क्रममा प्रचण्डले भने, ‘आज यो सम्मानीत रोष्ट्रममा म भन्न चाहन्छु, शेरादरबारमा मेरो काहीँ कतै संलग्नता छ भने छानबिन गरियोस् ।’
उनले आफूलाई बदनाम गर्ने हिसाबले शेरादरबार प्रकरण चर्चामा ल्याइएको जिकिर गर्दै छानिबन गर्न सरकारलाई चुनौती दिएका हुन् ।
‘प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसको विषयमा चासो दिएको कुरा मलाई थाहा छ, कतै न कतै प्रचण्डलाई त्यसमा जोड्न सकिन्छ कि जोड्न नसकिएपनि प्रचण्डलाई बदनाम गर्न सकिन्छ कि भनेर सरकारले त्यसमा धेरै मेहनत गर्यो’, उनले अगाडि भने, ‘प्रधानमन्त्रीजी आफैं लागेको मलाई थाहा छ, सरकार खोजिरहेको छ ।’
उनले सबै नेता उस्तै हुन् भन्ने भाष्य आफूलाई मञ्जुर नभएको समेत बताए ।
‘सरकार लागि रहेको छ… एउटै पनि अपराध भटिँदैन प्रचण्डको त । म आज अरु कुरा भन्दिनँ गिरिबन्धु पनि भन्दिन, ओम्नी पनि भन्दिन’, उनले थपे, ‘शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानबिन सुरु गरियोस् मबाट नै, म तयार छु । प्रचण्डको पहिला छानबिन गर्नुस् ।’
उनले बेला बेला क्वान्टोनमेन्टको विषय उठाइने गरिएको भन्दै आफूले छानिबन गर्ने निकायलाई कहिल्यै प्रभावमा पार्न नखोजेको बताए । ‘क्यान्टोनमेन्टको पनि छानबिन गरे भयो नि !’, प्रचण्डले भने, ‘मैले प्रधानमन्त्री हुँदा यदी अनुसन्धान गर्ने निकायहरुले अनुसन्धान गर्दै जाँदा प्रचण्ड देखियो भने नछोड भनेर निर्देशन दिने सायद म नेपालको पहिलो प्रधानमन्त्री बन्ने सौभाग्य मैले पाएँ ।’
नुवाकोटमा पृथ्वीनारायण शाहको पालाको शीतकालीन दरबारको जग्गा प्रचण्डका पूर्वस्वकीय सचिव विकेश श्रेष्ठले अनाधिकृत रुपमा भोगचलन गरेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानबिन गरेको थियो ।
सीआईबीले लामो अनुसन्धानपछि उक्त जग्गालाई सरकारको नाममा ल्याउने प्रक्रिया थाल्नुपर्ने निष्कर्षसहित भूमि मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ ।
 
                









 
             
                             
                             
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4