
काठमाडौं । अभिनेता हरिवंश आचार्यले अमेरिकी विकास सहायता कार्यक्रम (युएसएआइडी)को रकम धर्म प्रचारका लागि लिइएको भन्ने सामाजिक संजालका आरोपहरूको खण्डन गरेका छन् ।
फेसबुकमा भिडियो सन्देश सेयर गर्दै उनले युएसएआइडी र नेपाल सरकारसँगको सहकार्यमा महसंचारले विभिन्न जनचेतनामूलक टेलिचलचित्र बनाउँदै आएको भन्दै प्रष्टीकरण दिएका छन् ।
टेलिचलचित्र निर्माण गरेबापत लिइएको रकम धर्मसँग जोडेर सामाजिक संजालमा दुष्प्रचार गरिएको भन्दै उनले भत्र्सना गरेका हुन् । उक्त अमेरिकी सहायता परियोजना र सरकारसँग मिलेर महसंचारले ‘असल लोग्ने’, आमा, मदनबहादुर हरिबहादुर, गाउँकी तारा लगायतका टेलिफिल्म निर्माण गरेको उनले उल्लेख गरेका छन् ।
हरिवंश लेख्छन्– ‘विभिन्न जनचेतनामूलक सामाजिक विज्ञापन निर्माण गरेका छौं, जसको कुल अवधि ३७ घन्टा लामो छ, जुन हाम्रो युट्युव च्यानलमा पनि हेर्न सकिने छ । यस टेलिचलचित्रहरू निर्माण गरेबापत लिइएको रकम धर्मसँग जोडी सामाजिक संजालमा गरिएको दुष्प्रचारप्रति भत्र्सना गर्दछौं ।’
उक्त परियोजनाअन्तर्गत बनाइएको टेलिफिल्म ‘असल लोग्ने’को पूरा अंशसमेत फेसबुकमा उनले सेयर गरेका छन् ।
हरिवंश अघि लेख्छन्, ‘महसंचारले विगत लामो समय देखि हास्यव्यङ्यमार्फत विभिन्न जनचेतनामूलक टेलिचलचित्रहरू बनाउँदै आएको कुरा सबैलाई थाहा छ । हामीले स्वास्थ्य (सुरक्षित मातृत्व, एचआइभी, मधुमेह, खोप, क्षयरोग, कुष्ठरोग, कालाजार), शिक्षा, द्वन्द व्यवस्थापन, वनजंगल संरक्षण, भ्रष्टाचार, सफा पानी, चर्पी व्यवस्थापन, संविधान निर्माण, समानुपातिकता, निर्वाचन लगायत अरु सामाजिक विषयमा चेतनामूलक टेलिचलचित्रहरू निर्माण गरेका छौं । यस्ता टेलिचलचित्र निर्माण गर्दा नेपाल सरकारका विभिन्न मन्त्रालय, नगरपालिका, विद्युत प्राधिकरणजस्ता निकाय र विभिन्न दातृ निकायको सहयोगमा निर्माण हुने गरेको छ ।’
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले युएसएआइडी कार्यक्रम बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसपछि नेपालमा समेत यो कार्यक्रमलाई लिएर चर्चा भैरहेको छ ।
प्रतिक्रिया 4