मानसिक स्वास्थ्यमा समस्या भन्नाले-भावना, संवेग, विचार र व्यवहारमा आएको परिवर्तनले व्यक्ति, सम्बन्धित व्यक्ति वा दुवैलाई प्रभावित गर्दै व्यक्तिको सामाजिक तथा व्यावसायिक र पेशागत क्षेत्रमा नकारात्मक असर पर्ने अवस्था भन्ने बुझिन्छ।
मानसिक स्वास्थ्य समस्या जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई हुनसक्छ । मानसिक स्वास्थ्य समस्याको बारेमा सचेतना बिस्तारै बढिरहेको छ। तर मानसिक स्वास्थ्य समस्या अन्तर्गत पनि कुन समस्या भएको र त्यसको उपचारका लागि कहाँ जाने, कस्तो उपचार हुन्छ भन्नेबारे धेरै अन्यौलता रहेको पाइन्छ।
मानसिक स्वास्थ्य समस्याका कारण
दिमागमा धेरै प्रकारका रसायन उत्पादन हुन्छन् । ती रसायनले हाम्रो सोच, भावना र व्यवहारलाई सञ्चालन गर्छन् भन्ने कुरा विज्ञानले व्याख्या गरेको छ। एउटा मात्र रसायन भन्दा पनि विभिन्न रसायनजस्तो डोपामाइन, एड्रिनलीन र कार्टिसोल लगायत रसायनको असन्तुलन हुँदा एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्या देखिन सकिन्छ ।
लक्षण
विभिन्न मानसिक स्वास्थ्य समस्याको लक्षण फरक-फरक हुन्छ । जस्तो डिप्रेसनमा निरन्तर चिन्ता लिनु, नकारात्मक विचार मनमा आउनु, भ्रामक विचार मनमा आउनु, सानोतिनो कुरामा रिस उठ्नुजस्ता लक्षण देखिन सक्छ । त्यस्तै एन्जाइटीमा बिनाकारण आत्तिने, निद्रा नलाग्ने र आत्मविश्वासको कमी हुने जस्ता लक्षण देखिन सक्छन् ।
मानसिक स्वास्थ्य समस्याका अन्य भावनात्मक र व्यावहारिक लक्षणहरूमा बर्बराउने, रिसाउने, झोक्राउने, एकोहोरिने, छटपटिने, रुने, शङ्का गर्ने, उदास हुने, हडबडिने, पढाइ बिग्रने र निद्रा नलाग्ने आदि पर्छन्।
शारीरिक लक्षणमा कमजोरी, दुब्लाउने, रिँगटा लाग्ने, खानामा अरुची, स्मरण शक्तिमा ह्रास र शरीरका अंगमा पीडा देखिन्छन् । एकाग्र हुन नसक्ने, निर्णय लिन गाह्रो हुने, कसैले बोलेझैँ सुन्ने र मर्ने सोचाइजन्य लक्षण हुन्।
कुन मानसिक समस्यामा कस्तो उपचार ?
मनोरोग प्राथमिक चरणमा छ, रोगले बिरामीलाई धेरै गाह्रो पारेको छैन भने क्लिनिकल साइकोलोजिस्टकोमा गएर मनोपरामर्श गरेर मात्र पनि बिरामी आफ्नो दैनिक दिनचर्यामा फर्कन सक्छ ।
रोगले बिरामीलाई धेरै गाह्रो पार्यो, मानसिक मात्र हैन शारीरिक लक्षण पनि देखिन थाल्यो, निद्रा बिग्रियो, खानपानशैली बिग्रियो, बिर्सने समस्याले सतायो, शरीर कमजोर हुन थाल्यो भने औषधि र परामर्श दुवै आवश्यक हुन्छ ।
बिरामीको रोग छिप्पिँदै गएपछि मनोपरामर्शले मात्र समस्या कम हुँदैन । यस समस्यामा व्यक्तिलाई आफूले के गरिरहेको छु भन्ने ज्ञान हुँदैन । त्यो अवस्थामा बिरामीलाई औषधि र मनोपरामर्श दुवै पद्धतिमार्फत उपचार गर्नुपर्छ ।
मनोरोगमा औषधि मात्र र परामर्शले मात्रले काम नगर्न सक्छ । त्यसैले कुनैपनि मनोरोगीले क्लिनिकल मनोविज्ञ र मनोचिकित्सक दुवैलाई भेट्नु उपयुक्त हुन्छ ।
मनोचिकित्सकले औषधिको माध्यमबाट रोगको लक्षणलाई शान्त बनाउँछन् । मनोपरामर्शमा विचार, भावना, शारीरिक लक्षण र व्यवहारलाई मध्यनजर गर्दै जीवनलाई स्वास्थ तरिकाले अघि बढाउन विभिन्न तरिका, र विभिन्न थेरापीहरू मार्फत उपचार गर्ने गरिन्छ ।
औषधि मात्र सेवन वा परामर्शले मात्र मानसिक रोग निको हुन्छ ?
मानसिक स्वास्थ्यको विषय व्यक्तिको विचार, भावना र व्यवहारसँग जोडिएको सवाल भएका कारण औषधि मात्राको सेवन वा परामर्श मात्र लिएर रोग निको हुँदैन । त्यसैले चिकित्सकको सल्लाह अनुसारको औषधिको सेवन र परामर्श दुवै उपचार पद्धतिलाई सँगै अघि बढाउँदा रोग निको हुन्छ । औषधि मात्र सेवन गरियो वा परामर्श मात्र लिइयो भने समस्या फेरी दोहोरिने सम्भावना हुन्छ ।
त्यसैले मनोरोगमा औषधि मात्र वा परामर्श मात्रले समस्या कम नहुन सक्छ । कुन समस्याका कारण मनोरोग निम्तिएको हो त्यसको समाधान खोज्नुपर्छ । जुन परिवेशमा व्यक्ति मनोरोगी भएको हो, त्यो परिवेश परिवर्तन नभएसम्म औषधिले मात्र निको पार्न सकिँदैन । त्यो परिवेश परिवर्तन गर्नका लागि परामर्शको जरुरी पर्छ ।
मानसिक स्वास्थ्य समस्या उपचारपछि पूर्णरुपमा निको हुन्छ ?
बायोलोजिकल उपचार, साइकोलोजिकल उपचार र सोसल एप्रोच सबै मिल्यो भने अधिकांश मानसिक रोग निको हुन्छन् अथवा नियन्त्रणमा आउँछन् ।
उचित उपचार, मनोपरामर्श र सामाजिक सहयोग पाएको खण्डमा मानसिक समस्याको पूर्णरूपमा उपचार सम्भव छ ।
प्रतिक्रिया 4