 
																			८ फागुन, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-२ तौलुङस्थित एउटा घर भाडामा लिएर अनलाइन जुवा तथा ठगी धन्दा चलाएको सूचना प्रहरीसमक्ष आउँछ । जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बुढानीलकण्ठको संयुक्त टोलीले ५ फागुन साँझ ६ बजे उक्त घरमा छापा मारेर चार भारतीयलाई पक्राउ गर्छ ।
पक्राउ पर्नेमा भारत, उत्तर प्रदेश गोरखपुरका २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेश फत्तेपुरका ४२ वर्षीय अब्दुल कलाम, गोरखपुरकै २५ वर्षीय अभिशेष मदेसिया र फत्तेपुरका ४० वर्षीय इरफान पठान छन् ।
यो समूहले अहिलेसम्म २ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा तथा सट्टेबाजी खेलाएको परिसरका एसएसपी विश्व अधिकारी बताउँछन् ।
प्रहरीले उनीहरूबाट १२ थान ल्यापटप, १२ थान मोबाइल, हिसाब गर्न प्रयोग गरिएका ७ थान क्याल्कुलेटर, हिसाब-किताब राखेको १३३ पन्ना कागज र ३ थान डायरी समेत प्रहरीले बरामद गरेको छ । डायरीमा उल्लेखित विवरण र बैंक ट्रान्जेक्सन अनुसार उनीहरूले २ अर्ब बढीको अनलाइन ठगीको धन्दा चलाएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

पक्राउ परेकाहरूविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ अनुसार जुवा खेल्न वा सट्टेबाजी गर्न/गराउन नहुने कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
परिसरले छापा मारेर ४ जनालाई पक्राउ गरेकै समयमा ५ फागुन साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि बुढानीलकण्ठ-५ स्थित एक घरमा छापा मारेर २४ जना भारतीय नागरिकलाई पक्राउ गर्यो । यो गिरोहले भने बेटिङ एपमार्फत विभिन्न खेलको सट्टेबाजी खेलाएर ठगी गरेको प्रहरीको भनाइ छ ।
एक साताको बीचमा काठमाडौंबाट अनलाइन जुवा तथा ठगी धन्दा चलाउने ५१ जना भारतीय पक्राउ परे । उनीहरूबाट साढे ६ अर्ब बढीको कारोबार भएको पाइयो ।
उनीहरूबाट प्रहरीले २१ थान मोबाइल, ३८ थान ल्यापटप, वर्ल्डलिंकको राउटर ३ थान र बेटिङको हिसाब-किताब राखेको डायरी २ थान बरामद गरेको थियो । यो समूहले ३ महिनाको अवधिमा मात्रै १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत बताउँछन् ।
स्काई एक्सचेन्ज डट आर्ट वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ । उक्त वेबसाइटमा दिएको सम्पर्क माध्यम ह्वाट्स एप, टेलिग्राममार्फत विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी गेम खेलाउने गरेका थिए ।
त्यसका लागि स्काई एक्सचेन्जकै मान्छेहरूले लगइन गर्नलाई युजर आईडी र पासपोर्ट बनाएर दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अनलाइन गेम तथा बेटिङ खेल्न भनेर जम्मा गरिएको उक्त रकम भारत भारत पुग्ने गरेको प्रहरीको निष्कर्ष छ ।
एकै दिन दुई फरक प्रहरी युनिटबाट एकै क्षेत्रमा भएका यी दुई ठूला अपरेसनले अनलाइन ठगी तथा सट्टेबाजीको भारतीय गिरोहले काठमाडौंलाई सेल्टर बनाएर ठगी धन्दा चलाएको पुष्टि गरेको छ ।
यी दुई अपरेसनको एक साताअघि मात्रै परिसर काठमाडौंको टोलीले बुढानीलकण्ठमै छापा मारेर २३ भारतीयलाई पक्राउ गरेको थियो । २७ माघ साँझ परिसरको टोलीले छापा मारेर २३ जनालाई पक्राउ गर्नुका साथै ८१ हजार नगद, विभिन्न कम्पनीका ८८ थान मोबाइल र १० थान ल्यापटप बरामद गरेको थियो ।

भारतीयको गिरोहले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-३ स्थित दोजी लामाको दुई तले घर भाडामा लिएर अनलाइन बेटिङको धन्दा चलाएको प्रहरीको भनाइ छ । घरमै खाने, बस्ने सुविधासहितको अफिस नै खडा गरेर उनीहरूले अनलाइन ‘फिसिङ’ गरेको प्रहरीको रिपोर्ट छ ।
यस घटनाबारे २८ माघमा पत्रकार सम्मलेन गर्दै परिसरका एसपी अपिलरा बोहोराले यो समूहले ३ अर्ब बढीको कारोबार गरिसकेको बताएका थिए । लोटस एप प्रयोग गरेर उनीहरूले अनलाइन जुवा खेलाएको बोहोराको भनाइ थियो ।
काठमाडौं उपत्यकामा एक साताको बीचमा भएका अनलाइन बेटिङसम्बन्धी यी तीन ठूला अपरेसनमा पक्राउ पर्ने भारतीयको संख्या ५१ पुगेको छ । उनीहरूबाट साढे ६ अर्ब बढीको अनलाइन बेटिङ तथा सट्टेबाजीको कारोबार भइसकेको प्रहरी अनुसन्धानले देखाएको छ ।
निरन्तरको अपरेसनमा भारतीय मात्रै पक्राउ पर्नुले अनलाइन बेटिङको धन्दामा भारतीय गिरोह नै लाग्न थालेको अपराध अनुसन्धान कार्यालयका एसएसपी बस्नेतको बुझाइ छ । ‘पछिल्लो समय जति पनि अपरेसन भए त्यसमा भारतीय मात्रै पक्राउ परेका छन् । यी घटनाले भारतीय गिरोहले काठमाडौं केन्द्रित अनलाइन फ्रर्डको धन्दा चलाउन सुरु गरेको देखिन्छ,’ एसएसपी बस्नेत भन्छन् ।

यसअघिका प्रहरी अपरेसनमा यस्तो धन्दा चिनियाँ नागरिकले चलाउने गरेको भेटिन्थ्यो । चिनियाँले काठमाडौंलाई सेल्टर बनाएर अनलाइन स्क्यामिङको धन्दा चलाउने गरेका थिए । २०७६ पुसमा काठमाडौंको मनमैजु, बुढानीलकण्ठ, बाँसबारी, धापासी लगायतका ९ वटा घरमा छापा मारेर प्रहरीले १२२ चिनियाँलाई पक्राउ गरेको थियो ।
उनीहरूलाई अभद्र व्यवहारमा मुद्दा चलाएर प्रहरीले चीन डिपोर्ट गरेको थियो । त्यसपछि पनि फाट्टफुट्ट रुपमा चिनियाँ नागरिकले कल सेन्टरको आवरणमा नेपाली युवा-युवतीलाई जागिर दिने भन्दै अनलाइन स्यामिङमा लगाउने गरेका थिए ।
कल सेन्टरको नाममा चलाइएका त्यस्ता कार्यालयमा प्रहरीले छापा मार्दा नेपालीलाई समेत पक्राउ पर्ने गरेका थिए । पछिल्लो समयमा भारतीय गिरोहले नेपालीलाई प्रयोग गरेर अनलाइन बेटिङको धन्दा चलाउने गरेको पाइएको हो ।
गत २० माघमा मात्रै ललितपुर परिसर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले छापा मारेर सानेपाबाट १० भारतीय र १४ नेपालीलाई पक्राउ गरेको थियो । उनीहरूले पनि ३ अर्ब बढीको अनलाइन जुवा खेलाएको खुलेको थियो । त्यसपछि भने बेटिङ भन्दामा भारतीय मात्रै पक्राउ परेका छन् ।
केही समयअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाल क्रिकेट लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा त्रिविस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाट केही व्यक्तिलाई पक्राउ गरेको थियो । त्यतिबेला पक्राउ पर्नेहरू पनि भारतीय नागरिक नै थिए ।
यो घटनाले भारतीयले काठमाडौंलाई लक्षित गरी अनलाइन बेटिङको धन्दा चलाउने गरेको थप प्रमाणित गरेको सुरक्षाका जानकारहरूको बुझाइ छ । एक अनुसन्धान अधिकृतका अनुसार अहिले पक्राउ परेको बेटिङको भारतीय गिरोहले नेपालीलाई भन्दा पनि भारतीय नागरिकलाई नै केन्द्रमा राखेर ठगी गरेको छ ।
उनीहरूको बैंक खाता भारतकै प्रयोग भएको र रकम निकाल्ने/हाल्ने काम पनि भारतमै रहेको देखिएकाले भारतीयलाई बेटिङमार्फत ठगी गरको ती अधिकृतले बताए ।
‘यसमा अन्तरदेशीय अपराध जोडिन्छ । भारतको बैंक खाता प्रयोग गरेर नेपालबाट बेटिङमार्फत ठगी भएको छ । अहिलेसम्मको अनुसन्धानले ठगिने व्यक्ति पनि भारतकै बढी देखिन्छन्,’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘भारतमै बसेर ठगी गर्दा बढी असुरक्षित हुने देखिएपछि यो गिरोहले काठमाडौंलाई सेल्टर बनाएको देखिन्छ ।’

नेपाल प्रहरी पूर्वडीआईजी हेमन्त मल्ल पनि उनीहरू सुरक्षित महसुस गरेर नेपाल आएको बताउँछन् । अहिलेको क्राइम भनेको टेक्नोलोजीमार्फत हुन्छ । जुन हिसाबले नेपाल प्रहरी प्रविधिमैत्री हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । भारतमै बसेर ठगी धन्दा चलाउँदा उनीहरू प्रहरीको मोनिटरिङमा पर्ने सम्भावना बढी हुन्छ । त्यसबाट जोगिन काठमाडौंलाई रोजेको हुनुपर्छ,’ मल्ल भन्छन् ।
काठमाडौंमा आएर बेटिङ तथा ठगी धन्दा चलाए पनि उनीहरूको मोनिटरिङ भने भारतबाटै हुनसक्ने उनको बुझाइ छ । ठगीका मुख्य गिरोह भारतमा बसेर यता काम गरेको हुनसक्ने उनको विश्लेषण छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4