
८ फागुन, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको पशु दाना उद्योगले चार वर्षपछि उत्पादन सुरु गरेको छ । २०७७ पुसमा उद्योग स्थापना गरिएको भए पनि लगानी अभावका कारण चार वर्षदेखि अलपत्र थियाे ।
मकवानपुरगढी गाउँपालिकाभित्रै कुखुरा र पशुका लागि दाना उत्पादन गर्ने योजनाअनुरूप निर्मित उद्योगले बिहीबारदेखि उत्पादन सुरु गरेको हो । मकवानपुरगढी गाउँमै दाना उद्योग स्थापना गर्ने जिल्लाकै एक मात्र स्थानीय तह बनेकाे छ।
४ करोड रुपैयाँ लगानीमा स्थापना गरिएको दाना उद्योगले २०७७ माघदेखि परीक्षण उत्पादन सुरु गरेको थियो । तर, नियमित सञ्चालन गर्न लगानी अभाव भएपछि उद्योग अलपत्र थियो ।
संघीय सरकार, बागमती प्रदेश सरकार, गाउँपालिका र मकवानपुरगढी दुग्ध उत्पादक विशिष्टकृत सहकारी संघको संयुक्त लगानीमा दाना उद्योग स्थापना गरिएको हो ।
साढे ४ करोड रुपैयाँ लगानी रहेको उद्योग स्थापना गर्न संघीय सरकारको १ करोड, प्रदेश सरकारको ३४ लाख र मकवानपुरगढी गाउँपालिका कार्यालयले डेढ करोड सहयोग गरेका छन् । बाँकी लगानी सहकारीले गरेको हो ।
‘परीक्षण उत्पादनबाट निस्किएको दाना बिक्रीको रकम पनि समयमै उठेन । सहकारीमा लगानी बढाएर अब नियमित सञ्चालन गर्ने गरी आजदेखि काम सुरु गरेका छौं,’ मकवानपुरगढी दुग्ध उत्पादक विशिष्टकृत सहकारी संघका अध्यक्ष जनक रेग्मीले भने । संघले उद्योग सञ्चालनको जिम्मेवारी लिएको हो ।
मकवानपुरगढी-३ स्थित तल्लो कालLखोला दमारमा स्थापित उद्योगबाट बिहीबार ४० बोरा दाना उत्पादन भएको रेग्मीले जानकारी दिए । लगानी जुटाउन नसक्दा चल्न नसकेको उद्योग लगानी खोजेर सञ्चालनमा ल्याइएको वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरेले जानकारी दिए । सहकारी संघमा सेयर लगानी पनि बढाइएको छ ।
पशुपालन र कृषि क्षेत्रमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन दाना उद्योग सञ्चालनमा ल्याइएको गाउँपालिकाका पूर्वअध्यक्ष बिदुर हुमागाईंले बताए । मकवानपुरगढीमा ९० प्रतिशत किसान पशुपालनमा आबद्ध छन् ।
उद्योगको प्रतिघण्टा २० बोरा दाना उत्पादन गर्ने क्षमता छ । ‘उद्योग ठूलो क्षमताको हो । यसले मकवानपुरगढीको मात्र नभई जिल्ला भरकै मागलाई पूरा गर्न सक्छ,’ वडाध्यक्ष घिमिरेले भने ।
उद्योगबाट पशुका लागि मासी र कुखुराका लागि गोटी दाना उत्पादन हुने जनाइएको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालन भए १० जनाले रोजगारी पाउने छन् ।
प्रतिक्रिया 4