८ फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बिहीबार भएको समूह ए को खेलमा बंगलादेशलाई हराउँदै भारतले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
भारतले बंगलादेशलाई ६ विकेटले हराएको हो । बंगलादेशले दिएको २२९ रनको लक्ष्य भारतले ४६.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि शुभमन गिलले अविजित शतक बनाए । उनी १०१ रनमा अविजित रहँदा केएल राहुल पनि ४१ रनमा अविजित रहे । कप्तान रोहित शर्माले ४१ रन बनाए ।
बंगलादेशका लागि रिशाद होसेनले १० ओभरमा ३८ रन दिएर २ विकेट लिए । तास्कन अहमद र मुस्तफिजुर रहमानले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.४ ओभरमा अलआउट हुँदै २२८ रन बनाएको थियो । तोहिद रिदोएले शतक बनाउँदा जाकेर अलीले अर्धशतक बनाए । बंगलादेश ३५-५ को स्थितिमा संकटमा हुँदा यी दुई मिलेर १५४ रनको साझेदारी गरेका थिए ।
रिदोएले १०० रन बनाउँदा जाकेरले ६८ रन बनाए । भारतका मोहम्मद शामीले १० ओभरमा ५३ रन दिएर ५ विकेट लिए । हर्षित रानाले ७.४ ओभरमा ३१ रन दिएर ३ विकेट लिए । अक्षर पटेलले २ विकेट लिए ।
योसँगै समूह ए मा भारतले २ अंक जोडेको छ । यसै समूहमा रहेको न्युजिल्याण्डको पनि समान अंक हुँदा नेट रनरेटका आधारमा शीर्षस्थानमा छ ।
न्युजिल्याण्डले बुधबार पाकिस्तानलाई हराएको थियो । अब शुक्रबार समूह बी अन्तर्गत अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुनेछ ।
प्रतिक्रिया 4