 
																			बार्सिलोना । स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेका थिए ।
म्याड्रिडमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त अवसरमा दुई मुलुकहरुबीच सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको जनाएको छ ।
राजदूत नेपाललाई बधाई दिनुका साथै राजा फेलिपेले नेपालको अनौपचारिक भ्रमणको सम्झना गरेका थिए ।उनले फेरि कुनै दिन नेपाल जाने आफ्नो इच्छा रहेको बताए ।
राजा फेलिपेले राजदूत नेपालको सफल कार्यकालको कामना गर्दै बितेका वर्षहरुमा नेपाल तथा स्पेनबीच सम्बन्ध विस्तार हुँदै गएकोमा खुसी पनि व्यक्त गरे ।
सो अवसरमा राजदूत नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश सुनाएका थिए।राजदूत नेपालले परराष्ट्र नीतिदेखि लिएर नेपालको विकास योजना र कार्यक्रमलगायतका विविध विषयमा पनि राजा फेलिपेलाई अवगत गराएका थिए । उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको असर बारे चर्चा गर्दै जलवायु परिवर्तनलगायतका समस्या संग जुध्न अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको बताए।
उनले दुई देश र जनताबीच विद्यमान द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्न अथक प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
समारोहमा स्पेनको विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल तथा महासचिव, राजदरबारका चिफ प्रोटोकल अफिसर, नेपाली दूतावासका कर्मचारीहरु तथा स्पेनी सञ्चार माध्यमका प्रतिनिधिहरु पनि उपस्थित थिए ।
उच्चस्तरीय भ्रमण
स्व.राजा वीरेन्द्र र स्वर्गीय रानी ऐश्वर्यले सन् १९८३ मा स्पेनको राजकीय भ्रमण गरेका थिए। स्पेन भ्रमणको क्रममा दुई देशबीच सांस्कृतिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।
स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाह देव र महारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहको निमन्त्रणामा स्पेनका राजा खुआन कार्लोस र रानी सोफियाले सन् १९८७ मा नेपालको राजकीय भ्रमण गरेका थिए ।
सन् १९८४ जुलाईमा स्वर्गीय राजा वीरेन्द्रले स्पेनका राजा, स्पेनी जनता र स्पेन सरकारलाई हिमालयन रेड पाण्डाको एक जोडी उपहार दिएका थिए।
नेपाल र स्पेनबीच मे १३, १९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपाल सरकारले २० फेब्रुअरी २०१७ मा म्याड्रिडमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो।
भरतबहादुर रायमाझीलाई स्पेनका लागि नेपालको पहिलो राजदूतमा नियुक्त गरिएको थियो। उनी दूतावास स्थापना गर्न १० जनवरी २०१८ मा म्याड्रिड पुगेका थिए। नयाँ दिल्लीस्थित स्पेनको आवासीय दूतावासले नेपाललाई समेत हेर्दै आएको छ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4