१५ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले इप्सविच टाउनमाथि पुनरागमन जित निकालेको छ ।युनाइटेडको मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित घरेलु टोलीले ३-२ को जित निकालेको हो ।
युनाइटेडको जितमा म्याथिस डे लिट र ह्यारी मागुएरले १-१ गोल गर्दा एक गोल उपहार पाएको थियो । इप्सविचका लागि जाडेन फिलोजिनले दुवै गोल गरे ।
खेलको चौथो मिनेटमा फिलोजिनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा साम मोर्सीबाट आत्मघाती गोल भएपछि खेल बराबरीमा आयो ।
२६औं मिनेटमा डे लिटले गोल गर्दै युनाइटेडलाई अग्रतामा ल्याए भने पहिलो हाफको इन्जुरी समयमा फिलोजिनले दोस्रो गोल गर्दै पुनः खेल बराबरीमा ल्याए ।
त्यसअघि ४३औं मिनेटमा प्याट्रिक डोर्गुले खराब फलका कारण रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो ।
दोस्रो हाफको सुरुवातमै ४७औं मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नरमा मागुएरले हेडिङ गोल गर्दै युनाइटेडलाई फेरि अग्रता दिलाए । त्यसपछि थप गोल भएनन् र युनाइटेड विजयी भयो ।
जितपछि युनाइटेड २७ खेलमा ३३ अंकसहित १४औं स्थानमा छ । पराजित इप्सविच १७ अंकसहित रेलिगेसन जोनमा छ ।
प्रतिक्रिया 4