 
																			१६ फागुन,बुटवल । गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित बुद्ध सर्किटसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तुका बौद्ध स्थलहरूको पर्यटन प्रवर्द्धनको उद्देश्यले बुद्ध ज्ञान साइकल यात्रा भैरहवाबाट सुरु भएको छ ।
शुक्रबार बिहान भैरहवाको बुद्धचोकस्थित लुम्बिनी गेटमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ लगायतले नेपालको झन्डा फहराएर साइकल यात्राको शुभारम्भ गरेका हुन् ।
दुई दिने यात्रामा सबै भन्दा कम उमेरका ८ वर्षीय क्रिस्टोफर श्रेष्ठ, ११ वर्षीया आश्वानी खरेल, ज्येष्ठ नागरिकहरू भारत उत्तराखण्डका ७६ वर्षका कमलजित दिमन र ७१ वर्षीया बिष्हु दिमन दम्पत्री सहभागी छन् । यात्रामा विश्व साइकल यात्री पुस्कर शाहसहित नेपाल, भारत र जर्मनका १३० जना साइकल यात्री सहभागी छन् ।
साइकल सिटी भैरहवाको आयोजनामा हरेक वर्ष हुने बुद्ध ज्ञान साइकल यात्रा बुद्ध जन्मस्थल लुम्बिनीमा पुगेर समापन हुने आयोजक संस्थाका अध्यक्ष सूर्यकुमार सारु मगरले बताए ।
लुम्बिनीको पर्यटन प्रवर्द्धन, स्वास्थ्य, पर्यावरण र व्यापार व्यवसाय प्रवर्द्धन का लागि गत वर्षदेखि साइकल सिटी भैरहवाले बुद्ध ज्ञान साइकल यात्रा सुरुवात गरेको संयोजक शैलेन्द्र श्रेष्ठले बताए ।
आन्तरिक र वाह्य पर्यटकको नजरमा लुम्बिनी बाहेकका अन्य बुद्धसँग जोडिएका स्थान सधैं ओझेलमा परेकाले ती क्षेत्रको प्रचार प्रसारका लागि बुद्ध ज्ञान साइकल यात्राले सहयोग पुग्ने साइकल सिटी भैरहवाका सचिव थिरेन्द्र श्रेष्ठले बताए ।
यात्रामा सहभागीहरूले पहिलो दिन करिब ८५ किलोमिटर र दोस्रो दिन ९० किलोमिटर दुरी यात्रा गरेर बुद्धसँग सम्बन्धित विभिन्न स्थानको अवलोकन भ्रमण र जानकारी प्राप्त गर्ने छन् ।
साइकल यात्राको पहिलो दिन नवलपरासीको रामग्राम हुँदै रुपन्देही देबदहको पण्डितपुर, बुद्ध मावली भवानीपुर, बौद्धकालीन पाकरी रुख हुँदै तिलोत्तमा नगरपालिकाको बनबाटिका, बुटवलको जितगढी किल्ला हुँदै साँझ भैरहवा पुग्ने छन् ।
दोस्रो दिन भैरहवाको बसडिलवास्थित शिव मन्दिरबाट सुरु भई शुद्धोधन गाउँपालिकामा रहेको बुद्धकालीन भुवनेश्वर मन्दिर, गैडहवा गाउँपालिकाको गैडहवा ताल, यशोधरा पार्क हुदै कपिलवस्तुको मानव निर्मित जगदीशपुर ताल, सगरहवा, राजा शुद्धोधनको प्राचिन दरवार तिलौराकोट, गोटिहवा, निग्लिहवा, बुद्ध र उनको छोरा पहिलो पटक भेट भएको स्थान कुदान हुँदै गौतमबुद्धको जन्मस्थल लुम्बिनि आएर समापन गरिने कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4