 
																			१८ फागुन, काठमाडौं । काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक मृत अवस्थामा भेटिएका ५० वर्षीय अड्विर राईको गाँजासम्बन्धी विवादमा हत्या भएको खुलेको छ ।
शिवरात्रिको पूर्वसन्ध्यामा गाँजा खरिद र बिक्री सम्बन्धी विवादमा राईको हत्या भएको पाइएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले अनलाइनखबरलाई बताए ।
प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा शुक्रबार दोलखाको मेलुङ्ग गाउँपालिका–६ स्थायी घर भएका २९ वर्षीय विराट ठकुरीलाई पक्राउ गरिसकेको छ ।
काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराका अनुसार, क्लोज सर्किट (सीसी) क्यामरा र अन्य प्राविधिक पक्षको विश्लेषणका क्रममा उनको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका शाही बा ४ ख ५९९३ नम्बरको गाडीमा सह–चालकका रुपमा काम गर्दै आएका थिए ।
ढुंगाले हानेर हत्या
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, शिवरात्रिको पूर्वसन्ध्यामा सार्वजनिक बसका सह–चालक शाहीले गाँजा खरिद गर्न चाबहिलतिर निस्किएका थिए । त्यहाँ उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका राईलाई भेटेका थिए ।
‘राईले गाँजा बेचेको थाहा पाएपछि उनी किन्न गएका थिए, त्यसक्रममा पोकाको ५ सय रुपैयाँ दिने गरी किनबेच सहमति भएको रहेछ’, ती अधिकृतले भने, ‘तर, पोका लिएर गएपछि उनले ५ हजार मागेको भन्ने पक्राउ परेका ठकुरीको बयान छ ।’
ठकुरीको दाबीअनुसार, त्यति पैसा नदिए प्रहरीलाई खबर गर्ने, आफ्नो समुदायका व्यक्ति समेत बोलाउने भनेपछि उनी त्यहाँबाट निस्किएका थिए । त्यसक्रममा राई आफूलाई पछ्याउँदै हिँडेको उनले बयानमा भनेका छन् ।
प्रहरीले ठकुरीलाई राईले पछ्याउँदै गरेको सीसीटीभी फुटेज पनि संकलन गरेको छ ।
‘पछ्याउन नछाड्ने अनि उल्टै धम्क्याएपछि धोबीखोला करिडोर नजिक ढुंगाले हानेको थिएँ’, उनको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि त्यहाँ रहेको पुरानो शौचालयमा फोहोरले छोपिदिएको थिएँ ।’
हत्यापछि उनी फर्किएर नजिकै गाडी पार्क गरिएतिर गएर बसेको पाइएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । अर्को दिन उनी गाडीको नियमित काममा निस्किएका थिए । चालकलाई समेत यसबारे कुनै भेउ थिएन ।
जब प्रहरीले शव भेट्यो
शिवरात्रिको दिन अपराह्न प्रहरीले करिडोर नजिक फोहोरले छोपेको अवस्थामा शव रहेको सूचना पाएको थियो ।
घटनास्थल पुगेका प्रहरी वृत्त, महाराजगञ्जका एक अधिकृतका अनुसार शव नदेखियोस् भन्ने हिसाबले फोहोरले लुकाइएको भेटिएको थियो ।
शरीरमा भेटिएको विवरणका आधारमा प्रहरीले उनी ओलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थायी घर भएका ५० वर्षीय अड्विर राई भएको फेला पारेको थियो ।

प्रारम्भिक जाँचमा टाउको, निधार र नाकमा गम्भीर चोट देखिएपछि प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी निरञ्जन थापाको नेतृत्वमा समेथ प्रहरी टोली त्यहाँ पुगेको थियो ।
काठमाडौं प्रहरीका अनुसार, सोको अफिसरसहित त्यहाँ पुगेको टोलीले फोहोर हटाएर शव निकालेको थियो ।
लगत्तै आसपासको सीसीटीभी फुटेज हेर्दा त्यहाँ एउटा बस समेत हिँडेको देखिएको थियो । निस्किएको फुटेज भने प्रहरीले फेला पारेको थिएन ।
‘त्यसक्रममा सीसीटीभीमा देखिएको बस र ती व्यक्तिबारे खोजी गरिरहेका थियौं, एक जना चालकले तस्वीरबाटै त्यो बसको नम्बर पत्ता लगाइदिए’, स्रोतले भन्यो, ‘त्यसपछि बस खोज्दै जाँदा भक्तपुरमा जारी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अधिवेशनमा त्यो बस प्रयोग भइरहेको खुल्यो ।’
त्यसपछि जिल्ला प्रहरी परिसर, काठमाडौंको विशेष टोलीले सल्लाघारीबाट बसका बा ४ ख ५९९३ नम्बरको गाडीमा सह–चालक शाहीलाई पक्राउ गरेको थियो । काठमाडौं प्रहरीका एसपी बोहोराका अनुसार, अहिले उनीविरुद्ध विस्तृत अनुसन्धान गर्न अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4