+
+
Shares

राप्रपा नेपालको ठहर- काठमाडौंको जनप्रदर्शन हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको स्पष्ट संकेत

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १६:१६

२६ फागुन, काठमाडौं । राप्रपा नेपालले आइतबार काठमाडौंमा भएको जनप्रदर्शनले चाँडै नै हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना हुने स्पष्ट संकेत गरेको ठहर गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्त शक्तिहरू एक हुन आह्वान पनि गरेको छ ।

सो पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजाराम बर्तौलाले जारी गरेको विज्ञप्तिमा जनतामा देखिएको भावना र चाहनालाई उपेक्षा गर्ने प्रयास गरिए परिस्थिति नियन्त्रण बाहिर जाने उल्लेख गरिएको छ ।

‘सर्वपक्षीय सहमतिको आधारमा सबै बिचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्नु हुँदैन,’ बैठकका निर्णयमा भनिएको छ, ‘जनताको चाहाना र भावनालाई दमन गर्ने, वा उपेक्षा गर्ने प्रयास गरिएमा परिस्थिति नियन्त्रण भन्दा बाहिर जानेछ तथा अप्रिय दुर्घटना हुनेछ ।’

पूर्वराजा शाहले सहयोगका लागि गरेको आह्वानलाई जनताले अनुमोदन र आत्मसात गरेको राप्रपा नेपालको ठहर छ ।

‘राजाबाट सहयोगको निम्ति गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसात गरेका छन् । त्यसको ज्वलन्त र जीवन्त उदाहरण फागुन २५ गते काठमाडौंमा देखापरेको वृहत जनप्रदर्शन हो । उक्त ऐतिहासिक जनप्रदर्शनले अब चाँडै नै हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना हुने सुस्पष्ट संकेत गरेको छ,’ बैठकका निर्णयमा भनिएको छ ।

हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र देशभित्रै रोजगारीको सिर्जना जनताको चाहाना रहेको राप्रपा नेपालले निष्कर्ष निकालेको छ ।

सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्त शक्तिहरू एकजुट भई ‘सर्वपक्षीय आन्दोलनको मोर्चा’ गठन गर्न तथा तत्काल जनआन्दोलनको घोषणा र कार्यक्रम तयार गर्न राप्रपा नेपालले अपिल पनि गरेको छ ।

‘अब केही समयका लागि एक्ला एक्लै आन्दोलन गर्ने मनस्थिति परित्याग गर्न समेत हामी अनुरोध गर्दछौँ,’ राप्रपा नेपालको निर्णयमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?