
काठमाडौं । फिल्म ‘वसन्त’मा समावेश गीत ‘बिना स्वादैको’ नेपालमा युट्युब ट्रेन्डिङको संगीत खण्डतर्फको शीर्षस्थानमा पुगेको छ । प्रकाश सपुतको युट्युब च्यानलमा रिलिज भएको गीतलाई अहिलेसम्म १२ लाख पटक हेरिएको छ ।
सपुत र देवेन्द्र बब्लुको शब्द तथा संगीत रहेको गीतमा बब्लुको स्वर छ । गण्डकी प्रदेशको आञ्चलिकता र भाका समेटेर तयारि पारिएको गीतले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।
उर्गेन दोङको गीत ‘लोभी नजर’लाई उछिन्दै ‘बिना स्वादैको’ शीर्षस्थानमा उक्लिएको हो । ट्रेन्डिङको तेस्रो स्थानमा भारतीय गायक यो यो हनी सिंहको ‘म्यानियाक’ छ ।
‘बिना स्वादैको’ गीत यतिबेला टिकटक र रिल्समा समेत चर्चित छ । धेरैले यो गीतमाथि भिडियो बनाएर सेयर गरिरहेका छन् । एकजना सामाजिक संजाल प्रयोगकर्ता गोविन्द पौडेल लेख्छन्, ‘गीतको नाम बिना स्वादैको तर, गीत र भिडियो यति स्वादको छ नी अहिलेसम्मकै उत्कृष्ट ।’
हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोमा अन्तरजातीय प्रेमपछि एक जोडीको परिवारले उनीहरुको मोहनी फुकाउन गर्ने विभिन्न क्रियाकलापलाई देखाइएको छ ।
भिडियोमा फिल्मका शीर्ष कलाकारद्वय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लुले अभिनय गरेका छन् । यो फिल्ममा प्रभात र श्रीशिभान्सीसहित सपुत, स्वस्तिमा खड्का, उर्मिला लाम्गादे र खड्क बहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेको अभिनय छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मले विपन्न दलित समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा पेश गर्छ । निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा, कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ छन् ।
प्रतिक्रिया 4