+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
जिज्ञासा र जवाफ :

अस्वाभाविक भित्रिएको सवा ६ अर्बको लसुन गयो कहाँ ?

स्थानीय उत्पादनले नपुगेपछि वर्षमा डेढ अर्ब हाराहारीको लसुन आयात गर्दा माग धानिरहेको अवस्थामा अस्वाभाविक आयात तथ्यांकले बजार तरंगित भएको हो ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८१ फागुन २८ गते २१:३०

२८ फागुन, काठमाडौं । नेपालीका भान्सामा लसुन अपरिहार्य हो । मुलुकमै उत्पादित लसुनले माग धान्न नसक्ने भएपछि वार्षिक एकदेखि डेढ अर्ब रुपैयाँसम्मको लसुन आयात हुँदै आएको सरकारी तथ्यांकले देखाउँछ ।

तर, चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा नेपालमा लसुन आयात अस्वाभाविक हिसाबले बढेको छ । यो परिमाणले नेपाली बजारमा तरंग ल्याएको छ ।

भन्सार विभागको तथ्यांक हेर्ने हो भने गएको सात महिना अवधिमा ६ अर्ब २६ करोड रुपैयाँ बराबरको लसुन नेपाल भित्रिएको छ ।

स्थानीय उत्पादनले नपुगेपछि वर्षमा डेढ अर्ब हाराहारीको लसुन आयात गर्दा माग धानिरहेको अवस्थामा अस्वाभाविक आयात तथ्यांकले बजार तरंगित भएको हो ।

अनि, गएको सात महिनामै ६ अर्ब २६ करोड रुपैयाँको लसुन आयात भएको सरकारी तथ्यांकमा देखिनु, तर बजारमा लसुन नदेखिनुले यसमा ‘तस्करीको चलखेल’ देखिने सरकारी अधिकारीहरूको अनुमान छ ।

उत्तरी छिमेकी चीनबाट ठूलो परिमाणमा लसुन आयात गरेर नेपाल ल्याउने र यहाँबाट तस्करी गर्दै दक्षिणी छिमेकी भारत पुर्‍याउने गरिएको सरकारी अधिकारीहरूको अनुमान छ ।

हाल भारतीय बजारमा चिनियाँ लसुनको भाउ किलोको ३ सय ५० देखि ४ सय भारु (५ सय ६० देखि ६ सय ४० नेपाली रुपैयाँ) सम्म रहेको छ । चीनमा लसुनको थोक मूल्य किलोको नेपाली १ सय ५० रुपैयाँसम्म पर्ने व्यापारीहरू बताउँछन् ।

चालु आव सुरुदेखि नै लसुन आयात परिमाण देखेर सरकारी अधिकारीहरू नै अस्वाभाविक मान्दै आएका थिए ।

भारतले चीनबाट हुने लसुन आयातमा प्रतिबन्ध लगाएको छ, जसले गर्दा त्यहाँ लसुनको माग ह्वात्तै बढेका कारण भाउ पनि उकालो लागिरहेको छ ।

हाल भारतीय बजारमा चिनियाँ लसुनको भाउ किलोको ३ सय ५० देखि ४ सय भारु (५ सय ६० देखि ६ सय ४० नेपाली रुपैयाँ) सम्म रहेको छ । चीनमा लसुनको थोक मूल्य किलोको नेपाली १ सय ५० रुपैयाँसम्म पर्ने व्यापारीहरू बताउँछन् ।

यही मेसोमा मौका छोपेर नेपाली व्यवसायीले चीनबाट ठूलो परिमाणमा लसुन आयात गरेर नेपाल ल्याउन भ्याए ।

त्यसरी ल्याइएको ठूलो परिमाणको लसुन यहाँबाट भारत तस्करी गर्न लागिएका बेला भारतीय सीमानाकामा गत साउन र भदौमा राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीले बरामद गरेका थिए । यसबाट भारततर्फ लसुन तस्करी भइरहेको पुष्टि भएको थियो ।

आखिर सात महिनामै अस्वाभाविक रूपमा सवा ६ अर्बको लसुन किन नेपाल आयात भयो ? अनि, त्यसरी भित्रिएको लसुन कहाँ गयो त ?

पछिल्लो सात महिनामा नेपालमा आयात भएको लसुनको अस्वाभाविक परिमाणले नेपाली बजार तरंगित बन्नु अस्वाभाविक पक्कै होइन । भन्सार विभागको तथ्यांकले सात महिनामा अर्बौंको लसुन आयात भएको देखाएको छ ।

विभागको तथ्यांक अनुसार चालु आव २०८१/८२ माघसम्म चीनबाट मात्र ६ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको लसुन आयात भएको छ ।

साउनदेखि माघसम्म चीनबाट मात्रै ४ करोड ७५ लाख ४९ हजार ३ सय ६७ किलो लसुन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

उक्त परिमाणको लसुनको मूल्य ६ अर्ब २६ करोड ३८ लाख ८४ हजार रुपैयाँ बराबर हुन्छ । लसुन आयातबाटै सरकारले १ अर्ब ६१ करोड ६७ लाख ८३ हजार बराबर राजस्व संकलन गरेको छ ।

गत आव २०८०/८१ को सात महिनाको भन्सारको तथ्यांक हेर्ने हो भने त्यस अवधिमा ९९ लाख ९१ हजार ४ सय २२ किलोमात्र लसुन आयात भएको थियो ।

लसुन आयात अस्वाभाविक नै हो : भन्सार

भन्सार विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठ पछिल्लो सात महिनामा आयात भएको लसुनको परिमाण अस्वाभाविक नै मानिएको बताउँछन् ।

उनका अनुसार गत माघसम्म ठूलो परिमाणमा लसुन आयात भए पनि फागुन महिनामा भने आयात केही घटेको छ ।

सूचना अधिकारी श्रेष्ठ ठूलो परिमाणमा आयात भएको लसुन अवैध रूपमा निर्यात भएको हुन सक्ने बताउँछन् । उनका अनुसार आयात भएको लसुन कहाँ गयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थशास्त्री तथा सूचना अधिकारी महानन्द जोशी ठूलो परिमाणमा लसुन आयात भएर कता हरायो भन्ने विषय मुख्य रहेको बताउँछन् ।

‘नेपालले लसुन निर्यात गरेको तथ्यांक छैन, आयात गरेको तथ्यांकमात्र छ,’ भन्सारका सूचना अधिकारी श्रेष्ठले अनलाइनखबरसँग भने, ‘ठूलो परिमाणमा आयात बढ्दा अवैध रूपमा निर्यात भएको हो कि भन्ने आशंका छ ।’

लसुनको विषयमा कारण पत्ता नलगाई यही हो भन्न सकिने अवस्था नरहेको श्रेष्ठको भनाइ छ ।

कृषि मन्त्रालय के भन्छ ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थशास्त्री तथा सूचना अधिकारी महानन्द जोशी ठूलो परिमाणमा लसुन आयात भएर कता हरायो भन्ने विषय मुख्य रहेको बताउँछन् ।

‘हाम्रो क्वारेन्टिनसँग समन्वय नभएर पनि आयात भएको बुझिएको छ,’ जोशीले भने, ‘आयात भएको लसुन कहाँ गयो भन्ने विषयमा खोज्नुपर्छ ।’

जोशीले लसुन आयातमा मन्त्रालयले कुनै रोक नलगाएको पनि बताए । दुई सातादेखि चीनबाट नेपाल भित्रिने लसुनमा रोक लगाइएको भन्ने बाहिर आएको विषयमा अहिलेसम्म कुनै पनि निर्णय नभएको उनको भनाइ छ ।

‘आयातित वस्तुमा प्रतिबन्ध लगाउने निश्चित प्रक्रिया हुन्छ,’ उनले भने, ‘अहिले बजारमा आएका हल्लाको कुनै आधार छैन ।’

आयात गर्ने देशबाट ‘पेस्ट रिस्क एनालाइसिस’ (पीआरए) अनुमति लिएको लसुन आयातमा कुनै समस्या नरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा चीनबाट आयात भएको लसुन अवैध तरिकाले भारत पठाइएको अनुमान सरकारी अधिकारीहरूको छ । तर, यसमा पनि कुनै आधार नदेखिएको मन्त्रालयका एक अधिकारीले बताए ।

उपभोक्तालाई चाहिँ महँगो लसुन

देशको सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा आज बुधबार एक किलो चिनियाँ लसुनको औसत मूल्य २ सय ७० रुपैयाँ छ ।

आमउपभोक्ताले एक किलो लसुन किन्न ४ सयदेखि ५ सय रुपैयाँसम्म तिर्ने गरेको बताउँछन् ।

यसरी ठूलो परिमाणमा लसुन आयात हुँदा पनि भाउ भने घटेको छैन । उपभोक्ता महँगो तिर्न बाध्य छन् ।

लसुन आयातमा कुनै रोकतोक नभएको र यो प्रतिबन्धित सामग्रीमा समावेश नहुने भएकाले नेपालमा आयात पनि सहज र भारतीय बजारमा पनि सहजै जान सक्ने सम्भावना रहेको भन्सार विभागको भनाइ छ ।

‘स्वदेशी उत्पादनले धान्दैन, चीनबाट आयात गर्नैपर्छ’

स्वदेशमै उत्पादन भएको लसुनले माग धान्न नसक्ने भएपछि चीन लगायत देशबाट लसुन आयात गर्नुपर्ने बाध्यता रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् ।

आउने वैशाख महिनादेखि मात्र बजारमा नेपाली लसुन किन्न पाइने उनी बताउँछन् ।

‘चीनबाट आयात भएको सबै लसुन नेपाली बजारमा रहेछ भने मूल्य घट्छ, अहिले सबै लसुन यहाँ छ कि छैन त्यो अनुसन्धानको विषय हो,’ उनले भने, ‘कालीमाटी तरकारी बजारमा चिनियाँ लसुन बिक्री भइरहेको छ र खपत हुने परिमाणमा नै लसुन आइरहेको छ ।’

भन्सार विभागको लसुन आयात तथ्यांक केलाउँदा विगत पाँच वर्षमा आयात निरन्तर बढिरहेको देख्न पाइन्छ ।

उनका अनुसार नेपालभन्दा बढी मूल्य भारतका व्यापारीले दिए भने यताका व्यापारीले सबै लसुन उतै पठाउन सक्छन् जसले गर्दा अभाव र महँगी चुलिने सम्भावना हुन्छ ।

‘चीनबाट आयात भएको लसुन भारत नै गएको सुन्नमा आएको छ,’ श्रेष्ठले भने, ‘यसबारे सम्बन्धित निकायले अनुसन्धान गर्लान् ।’

सूचना अधिकारी श्रेष्ठका अनुसार गत वर्ष कालिमाटी तरकारी बजारमा स्वदेशी सहित गरेर ४ सय ३० टन लसुन भित्रिएको थियो ।

नेपालमा लसुन खपत कति ?

कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपालमा वार्षिक १ अर्ब रुपैयाँभन्दा कमको लसुन खपत हुने गरेको छ ।

नेपालमा आव २०७९/८० मा ९ हजार ५ सय ७० हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएको थियो । त्यसबाट ७३ हजार ५ सय ६७ टन उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै, २०७८/७९ मा ९ हजार ९ सय ४३ हेक्टर क्षेत्रफलमा खेती हुँदा ७४ हजार ७ सय ६३ टन लसुन उत्पादन भएको तथ्यांकले देखाउँछ ।

कति हुन्छ आयात ?

भन्सार विभागको लसुन आयात तथ्यांक केलाउँदा विगत पाँच वर्षमा आयात निरन्तर बढिरहेको देख्न पाइन्छ । आव २०७६/७७ मा ३१ करोड ५३ लाख ८४ हजार रुपैयाँ बराबरको लसुन आयात भएको थियो । यो भनेको ३१ लाख १२ हजार ६ सय २६ किलो हो ।

त्यसैगरी आव २०७७/७८ मा १ करोड ६० हजार ७ सय किलो लसुन आयात भएको थियो । यो भनेको १ अर्ब ५ करोड ९६ लाख ६८ हजार रुपैयाँ बराबर हो ।

२०७८/७९ मा ९१ लाख ४० हजार ८ सय ७५ किलो आयात भएको थियो । जसको मूल्य १ अर्ब ५ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबर थियो ।

त्यस्तै २०७९/८० मा ९० लाख ९३ हजार ५ सय ९६ किलो लसुन आयात भएको थियो । जसको कुल मूल्य १ अर्ब ११ करोड २६ लाख २० हजार रुपैयाँ बराबर हुन्छ ।

तर, त्यसपछि भने नेपालमा लसुन आयात दुई गुणाले बढेको देखिन्छ । अघिल्ला तीन आर्थिक वर्षका दाँजोमा दुई गुणा आयात बढेर गत आव २०८०/८१ मा २ अर्ब २२ करोड ५२ लाख ८८ हजार रुपैयाँको लसुन नेपाल भित्रिएको भन्सारको तथ्यांक छ । यो भनेको १ करोड ७० लाख ४१ हजार २ सय ३३ किलो बराबर हो ।

नेपालबाट लसुन निर्यात हुन्छ ?

नेपालमा लसुन आयातमात्र हुँदैन, यताबाट निर्यात पनि हुने गरेको छ । भन्सार विभागको विगत पाँच वर्षको तथ्यांक हेर्दा आव २०७६/७७ मा ५५ लाख ४४ हजार बराबरको लसुन निर्यात भएको थियो । यो भनेको १ लाख २ हजार ५ सय ४६ किलो बराबर परिमाण हो ।

त्यस्तै २०७७/७८ र २०७८/७९ मा भने निर्यात परिमाण शून्य थियो । तर, एक्कासि २०७९/८० मा आएर ४ हजार १ सय १४ किलो लसुन निर्यात भएको थियो । यो भनेको ६ लाख ९३ हजार रुपैयाँमात्र हो ।

त्यसैगरी गत आव २०८०/८१ मा भने झिनो परिमाण अर्थात् २ लाख १२ हजार रुपैयाँमा १ सय ८४ किलो लसुन निर्यात भएको थियो ।

उता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लसुनका विषयमा छिट्टै अनुगमन गर्ने जनाएको छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?