७ चैत, काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले शनिबारदेखि सुरु हुन लागेको १८औं संस्करणको इन्डियन प्रीमियर लिग (आईपीएल)का लागि केही नयाँ नियम लागू गरेको छ।
अब खेलाडीहरूले बललाई चम्काउन थुक प्रयोग गर्न पाउनेछन् भने दोस्रो इनिङमा दुई नयाँ बलको नियम पनि लागु हुनेछ । यसअघि कोभिड महामारीपछि बलमा थुक लगाउन रोक लगाइएको थियो ।
यी निर्णयहरू मुम्बईको क्रिकेट सेन्टरमा बिहीबार आयोजित क्याप्टेन तथा म्यानेजरहरूको बैठकमा लिइएको समाचार संस्था क्रिकबजले जनाएको छ ।
बीसीसीआईले अब आईपीएल खेलको दोस्रो इनिङ ११औं ओभरपछि नयाँ बल प्रयोग गर्ने नियम पनि ल्याएको छ। रातिको खेलमा हुने शीत (डिउ)को प्रभाव कम गर्न यो नियम लागू गरिएको हो।
डिउका कारण दोस्रो इनिङमा ब्याटिङ गर्ने टोलीलाई फाइदा हुने सम्भावना रहन्थ्यो, जसलाई नियन्त्रण गर्न नयाँ बलको व्यवस्था गरिएको बीसीसीआई स्रोतलाई उद्धृत गर्दै क्रिकबजले जनाएको छ।
दोस्रो इनिङमा नयाँ बलको प्रयोग गर्ने वा नगर्ने भन्ने निर्णय भने अम्पायरको जिम्मामा हुनेछ। यदि खेलमा डिउ धेरै देखिएमा मात्र नयाँ बल प्रयोग गरिनेछ। दिउँसो हुने खेलहरूमा भने यो नियम लागू नहुने बताइएको छ।
कोरोना महामारीका कारण क्रिकेटमा बल चम्काउन थुकको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । तर, अब यो नियम हटाइएको छ।
केही दिनअघि भारतीय बलर मोहम्मद शामीले पनि यसबारे आग्रह गरेका थिए, जसलाई भर्नन फिल्यान्डर र टिम साउथी जस्ता अन्तर्राष्ट्रिय खेलाडीहरूले पनि समर्थन गरेका थिए।
 
                    










 २०८१ चैत  ७ गते १७:१६
                        २०८१ चैत  ७ गते १७:१६                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4