
१५ चैत, काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले शुक्रबार दिउँसो तीनकुनेमा प्रहरीले आफूहरूलाई इरिटेड (दिक्क बनाएको) बनाएपछि घटना घटेको बताएका छन् ।
तीनकुनेमा प्रदर्शनका क्रममा राजावादी समूहका व्यक्तिहरू उग्र हुँदा अवस्था तनावग्रस्त बन्न पुगेको थियो ।
त्यसबारे साँझ एक भिडिओ सन्देश जारी गर्दै उक्त अभियानका संयोजकसमेत रहेका सुवेदीले सुरुदेखि नै प्रहरी प्रशासनबाट आफूहरूलाई अत्याचार भएको आरोप लगाएका हुन् ।
‘सुरुदेखि नै हामीलाई इरिटेड गराउने, हामीलाई लाठिचार्ज गर्ने लगायतका काम भयो । यो वितण्डा जुन गरियो यसको निम्ति साह्रै पश्चाताप गर्छु । नहुनुपर्ने कुरा भयो यसको सम्पूर्ण जवाफदेही सरकार हुनुपर्छ,’ सुवेदीले भनेका छन् ।
प्रहरीले छतबाट अश्रुग्यास फालेपछि उपस्थित जनमानसमा आक्रोश थपिएको उनको भनाइ छ ।
‘सुरुदेखि नै प्रशासनबाट अत्याचार भयो । म गाडीबाट मञ्चमा जानका लागि ओर्लिंदा नै अश्रुग्यास प्रहार गरियो । मञ्चमा गएपछि दशौं राउण्ड प्रहार गरियो,’ सुवेदीले भनेका छन्, ‘त्यसले जनमानसमा आक्रोश पनि आयो । त्यो पनि एउटा घरको छतबाट फालियो । छतमा बसेर फालियो ।’
राजावादी समूहले तीनकुनेको जुन घरमा तोडफोड र आगजनी गर्यो, सोही घरमा ठूलो संख्यामा प्रहरी लुकाएर राखेको सुवेदीको आरोप छ ।
‘त्यतिमात्रै होइन । त्यो घरमा प्रहरी लुकाएर राखेको रहेछ । त्यो कुरा मासले थाहा पाएपछि त्यो घरमा तोडफोड आगजनी भयो,’ सुवेदीले भनेका छन्, ‘त्यसपछि प्रहरीले अन्धाधुन्ध फायरिङ गर्यो ।’
उनले सो घटनामा परेर मृत्यु भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको परिवारलाई सरकारले नै क्षतिपूर्ती दिनुपर्ने तर्क गरेका छन् ।
‘एक जनाको मृत्यु भयो । सविन महर्जनको देहवासन भयो । कयौं, दर्जनौं मान्छे घाइते भएका छन् । यो दुखद हो,’ सुवेदीले भनेका छन्, ‘सबैप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु । उचित उपचारको व्यवस्था हुनुपर्यो । सविन महर्जनले उचित क्षतिपूर्ती उसको परिवारले पाउनुपर्छ ।
प्रतिक्रिया 4