 
																						१७ चैत, काठमाडौं । सहकारी ठगी मुद्दामा धरौटी तिरेर थुनाबाट छुटेका रास्वपाका सभापति रवि लामिछाने १६३ दिन अर्थात् साढे पाँच महिनापछि पार्टी काममा फर्कने भएका छन् । रास्वपा कार्यवाहक मनीष झाले दिएको जानकारी अनुसार लामिछाने सोमबारबाट सभापतिको हैसियतमा फेरि सक्रिय हुनेछन् ।
२४ माघमा चितवन जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएयता लामिछाने पार्टी राजनीतिमा सक्रिय भएका थिएनन् । उनी यो बीचमा मन्दिरहरुमा पूजाअर्चनामा सामेल हुनेबाहेक सार्वजनिक कार्यक्रममा सहभागी थिएनन् । सहकारी संस्थाहरुको बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै प्रतिनिधिसभाले उनको सांसद पद निलम्बन गरेको छ ।
यस अर्थमा लामिछानेलाई पार्टी जीवनमा सक्रिय बन्न नैतिक प्रश्न भने बाँकी नै छ । तर यो प्रश्न थाती राख्दै उनी रास्वपाले सोमबार बोलाएको केन्द्रीय समिति बैठकको दोस्रो सेसनको अध्यक्षता गर्न चमतीस्थित कार्यालय पुग्नेछन् ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार कार्यवाहक सभापति डीपी अर्यालले धन्यवाद मन्तव्य राखे लगत्तै दोस्रो बैठक बस्नेछ । त्यो बैठकको अध्यक्षता लामिछानेले गर्नेछन् ।
योबीचमा राष्ट्रिय जीवनका गम्भीर विषयहरुमा मौन बसेका लामिछानेले आफू सक्रिय बन्नलाई राजावादीहरुको हिंसात्मक प्रदर्शनपछिको अशान्त घडी रोजेका छन् । राजतन्त्र र गणतन्त्रको बीचमा ध्रुवीकरण बढ्दै जाँदा उनले पार्टीपंक्तिलाई ‘ग्रे-जोन’ रहन निर्देश गरेका थिए । अगाडिको परिस्थिति कसरी बढ्छ भन्ने सुक्ष्म विश्लेषण गरेरमात्रै रणनीति बनाउनुपर्ने उनको प्रस्ताव थियो ।
यद्यपि रास्वपाका केही सांसद र नेताहरुले भने गणतान्त्रिक संविधानको पक्षमा यसअघि जलेश्वर बैठकबाट पार्टीले अख्तियार गरेको नीतिमा बलियो ढंगले उभिनुपर्ने अडान राखेका थिए । रास्वपा यही दुईखाले सोचाइको तानातानमा थियो ।

अब सक्रिय सार्वजनिक जीवनमा रास्वपा सभापतिकै रुपमा पुनरागमन गरेपछि लामिछानेले पार्टीलाई कसरी हिँडाउँछन् भन्ने जिज्ञासा सुरु भएको छ ।
संवैधानिक कानुनविद टिकाराम भट्टराई सार्वजनिक पदमा बसेको व्यक्ति उच्च नैतिकता कायम राख्नुपर्ने बताउँछन् । मुद्दा चलिरहेको व्यक्ति सफाइ नपाउने बेलासम्म पदमा फर्कन नहुने भट्टराई तर्क गर्छन् ।
वरिष्ठ अधिवक्ता भट्टराईले भने, ‘सार्वजनिक पदमा भएको व्यक्ति पदको गरिमाको सम्मान गर्नुपर्दछ । मुद्दा चलिरहेको व्यक्ति सफाई नपाउँदा सम्म सोही पदमा नफर्कने अन्तराष्ट्रिय अभ्यास पनि रहेको छ ।’
यसबीचमा विकसित कुनै पनि घटनाक्रममा लामिछानेले मुख खोलेका थिएनन् । सहकारी ठगी प्रकरणमा सभापति जोडिँदै कानुनी कारबाहीको भागिदार बन्न पुगेपछि रास्वपा समेत बीचका पाँच महिनामा लो प्रोफाइलमा रक्षात्मक रहँदै आएको थियो । बरु प्रेस, नागरिक समाज आदिले रास्वपा गणतन्त्रवादी वा राजतन्त्रवादी हो, कित्ता स्पष्ट गर्नुपर्ने भनी प्रश्न उठाएका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त बैठकमै रास्वपालाई यो प्रश्न सोधेका थिए ।
संविधानसँग जोडिएको महत्वपूर्ण मुद्दामा पार्टीको पक्षधरता नखुलेको भनी बाहिरबाट प्रश्न उठ्न थालेपछि त्यसलाई स्पष्ट गर्ने गरी सभापति लामिछानेले बैठकमा धारणा राख्ने शीर्ष तहका एक नेताले जानकारी दिए । ‘रास्वपा गणतन्त्रवादी कि राजतन्त्रवादी छुट्एिन भनेर प्रश्न उठे । केन्द्रीय समिति बैठकले निर्णय लिन्छ,’ शीर्ष तहका एक नेताले भने, ‘रास्वपा श्री ५ र श्री ३ दुबैलाई मान्दैन । सभापतिको अध्यक्षतामा बस्ने बैठकले यस्तै आशयको निर्णय लिन्छ ।’
सभापति लामिछानेले अध्यक्षता गर्ने बैठकका लागि ६ एजेण्डा तय गरिएको छ । बैठकका एजेण्डाहरुमा पार्टी र सदनको रिपोर्टिङ, लिडरसिप एकेडेमी,जन यात्रा, राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस, अधिवेशन/महाधिवेशन कार्यतालिका र विविध छन् ।
कार्यवाहक सभापति डीपी अर्यालका अनुसार अदालती प्रक्रियाहरुकै कारणले यो वीचमा लामिछाने पार्टी राजनीतिमा सक्रिय नभएका हुन् । ‘अदालतको कारणले उहाँलाई थकाइ थियो । पार्टीको भावी रणनीतिहरु घरमा बसेर तयारी पनि गर्दै हुनुहुन्थ्यो,’ अर्यालले अनलाइनखबरसँग भने,‘अदालत तिर चहार्नु परेकै कारणले मौन बस्नु भएको हो ।’ अर्यालका अनुसार सभापति लामिछाने सार्वजनिक कार्यक्रममा समेत अब देखिने छन् ।

अदालतमा मुद्दा विचाराधीनको अवस्थामा छ । अदालतमा विचाराधीन मुद्दा भएकाले पार्टीमा सक्रिय हुँदा नैतिक प्रश्न भने उठ्नसक्छ । नैतिक प्रश्न उठ्ने ठाउँ नभएको रास्वपा नेता प्रतिभा रावल बताउँछिन् । उनले भनिन्,‘सरकारले के गर्न चाहेको उसले गरेका कार्यले छर्लङ्ग भइसक्यो । नैतिक प्रश्न उठ्नु पर्ने कारण देख्दिन । अब पार्टीका काममा सभापति पूर्ण रुपमा लाग्नु हुन्छ ।’ सोमबारको पार्टी बैठक पछि लामिछानेले सार्वजनिक रुपमा धारणा राख्ने पनि तयारी गरिएको छ । नेत्री रावलका अनुसार सभापति लामिछानेले पार्टीले राख्ने केही कार्यक्रमहरुको घोषणा समेत गर्नेछन् ।
सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा २ कात्तिकमा लामिछाने पक्राउ परेका थिए । यस वीचमा लामिछानेले चारवटा सहकारीको रकम अपचलनको मुद्दामा धरौटी बुझाए । पोखरास्थित सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा गएको रकम अपचलनमा पक्राउ परेका उनी ८४ दिनपछि धरौटीमा २५ पुसमा छुटेका थिए । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा लामिछानेले अदालतमा ६५ लाख रुपैयाँ धरौटी बुझाएका थिए । सभापति लामिछाने प्रहरी हिरासत रहँदा रास्वपाले लामो समयसम्म कार्यवाहक सभापति तोकेन । ८ पुसमा बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष डीपी अर्याल हुने निर्णय गरेको थियो ।
माघ महिनामा मात्रै लामिछाने तीन सहकारीको मुद्दामा अदालतलाई धरौटी बुझाए । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा अदालतले उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न २ माघमा आदेश दिएको थियो ।
१३ माघमा बुटवलको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौट बुझाए । २४ माघमा साहारा चितवनको सहकारी ठगी मुद्दामा ५४ लाख रुपैयाँ धरौटी लिएर छोड्न अदालतले आदेश दिएको थियो ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                     
                                 
 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4