
काठमाडौं । राष्ट्रिय विभूति भीमसेन थापाबारेको नाटक मञ्चन हुने भएको छ । सनम बैरागको निर्देशनमा तयार भएको नाटक बेलायत र नेपालमा मञ्चन हुने जनाइएको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य ‘भीमसेन थापा’मा आधारित रहेर नाटक तयार भएको हो । थापा नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा समेत परिचित छन् ।
उनको जीवन राजनीतिक उतारचढाव, सैन्य युद्ध, र व्यक्तिगत संघर्षले भरिएको छ । उनको योगदानलाई युगकविले साहित्यमार्फत उजागर गरेका थिए । यतिबेला भने यो साहित्यिक कृतिले नाटकको रुपमा प्रस्तुत हुन लागेको हो ।
लामो समय नाट्य विधामा सक्रिय बैराग लण्डनमा बसोबास गर्दै आएका छन् । उनी निर्देशित कथानक फिल्म ‘कैदीको पत्र’ केहीवर्षअघि नेपालका हलमा प्रदर्शनमा आएको थियो ।
यसअघि उनले ‘समय दृश्य’ र ‘जिगिशा’ निर्देशन गरेका छन् । नाटकलाई प्रभावशाली बनाउन संगीतलाई विशेष प्रयोग गरिएको छ । ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । सपन राईको आवाज समावेश छ ।
बेलायतमा अप्रिल २६ देखि मे महिनाभर लन्डन, रिडिङ, विलविच, अल्डरसट, स्कटल्यान्डसहितका सहरमा मञ्चन गर्ने तयारी छ । नेपालमा भने दशैंपछि मण्डला थिएटरमा १५ शो मञ्चन हुनेछ । पोखरा, चितवन, बिर्तामोड, धरानमा पनि मञ्चन तयारी छ ।
थापाको भूमिका बैराग आफैँले निर्वाह गरेका छन् । अन्य कलाकारमा सामन्ता तामाङ, सुरेश श्रेष्ठ, गोपाल बस्नेत र सुशन गुरुङ छन् ।
प्रतिक्रिया 4