 
																			२० चैत, काठमाडौं । नेपाल प्रहरीले शुक्रबार राजावादी समूहले गरेको प्रदर्शन विथोल्ने कुनै उद्देश्य भएको जिकिर गरेको छ ।
प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको आरोप लागिरहेका बेला बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता दिनेशराज आचार्यले भने, ‘प्रहरीले यो कुनै हिसाबले कार्यक्रम बिथोल्ने उद्देश्यले नभइ निश्चित अराजक, आपराधिक गतिविधि नियन्त्रित गर्नका लागि न्यूनतम बल प्रयोग गरेको सम्पूर्ण पत्रकारमार्फत आमनागरिकलाई सञ्चार गर्न चाहन्छु ।’
उनले कर्फ्यू जारी भइसकेको अवस्थामा समेत सांसद्को गाडी लगाइएको, विभिन्न ठाउँमा आगजानी भएको, नरेफाँट, कोटेश्वर क्षेत्रमा तोडफोड लगायतका घटना भएको भन्दै परिस्थितिलाई नियन्त्रणमा लिन न्यूनतम बल प्रयोग भएको बताए ।
‘प्रहरीले नचाहँदा नचाहँदै न्यूनतम बल प्रयोगको अवस्था आउँदा पनि ठूलो घटना, दुर्घटना भएको छ, त्यो घटना नियन्त्रणमा लिनका लागि प्रहरीले धेरै संयमित भएर प्रहरी कारबाहीहरु अगाडि बढाएको छ’, उनले अगाडि भने, ‘प्रहरी बीटमा आगलागी भएको छ, पार्टी कार्यालयहरु जलेका छन् ।’
पछिल्लो समय सामाजिक सञ्जालमार्फत विभिन्न हिसाबले भ्रम छर्ने प्रयास भएको भन्दै उनी थप्छन्, ‘…. प्रहरीले नै कार्यक्रम बिथोल्यो भन्ने भन्दा पनि तत्काल सामाजिक सञ्जालमै देखिएका विभिन्न चिजहरु छन्, त्यहाँ भएका फुटेज छन्, विभिन्न न्यूज एजेन्सीले लिएका फुटेजहरुमा सम्पूर्ण रुपमा हेर्दा प्रहरीले त्यहाँको भयावह स्थितिलाई नियन्त्रणमा लिन न्यूनतम फोर्स प्रयोग गरेको भन्ने देखिन्छ ।’
शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु र कम्तिमा २२ जना घाइते भएका छन् । घाइतेमध्ये २० जनालाई गोली लागेको प्रहरीले जनाएको छ । गोली लाग्नेमध्ये दुई जना महिला छन् ।
उपत्यका प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणअनुसार, शुक्रबार भएको प्रदर्शनमा मात्र प्रहरीले ७४६ राउन्ड अश्रुग्यास हानेको थियो भने १९२ ब्ल्याङ्क राउन्ड फायरिङ गरेको थियो ।
प्रहरीका अनुसार, ५८ राउन्ड हवाई फायर, कार्टिज (छर्रा) २३९ र पेस्तोलबाट २ राउन्ड गोली चलेको छ । यो नेपाल प्रहरीको मात्र विवरण हो, सशस्त्र प्रहरीबाट समेत गोली चलेको थियो ।
त्यो हेर्दा प्रहरीबाट अत्यधिक बल प्रयोग भएको भन्दै कतिपय जानकारहरुले आलोचना समेत गरिरहेका छन् ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4