 
																			२२, चैत, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि शनिबार चितवनमा ‘जनयात्रा उद्घाटन’ कार्यक्रम तय गरेको थियो । सोही कार्यक्रममा आफूले धेरै कुरा भन्ने सभापति रवि लामिछानेको उद्घोष थियो ।
तर, शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेसँगै कार्यक्रम के हुन्छ ? भन्ने चासो बढेको छ ।
तर, जिल्ला पार्टी चितवनले भोलिको जनयात्रा कार्यक्रम यथावत् रहने बताएको छ ।
भरतपुर– १० को गेष्ट हाउस चौरमा भोली दिउँसो २ बजे उक्त कार्यक्रम तय भएको थियो । लामिछानेले नै सो कार्यक्रमको उद्घाटन गर्ने पूर्वघोषित कार्यक्रम पनि थियो ।
पार्टीका केन्द्रीय सदस्य राजन गौतमका अनुसार लामिछानेले केन्द्रीय समिति बैठकमै यसबारे प्रष्ट पारिसकेका थिए ।
‘केन्द्रीय समितिको बैठकमा पनि पार्टी सभापतिले अदालतले जे पनि गर्न सक्छ, म नभए पनि कार्यक्रम गर्नुस् भन्ने नै कुरा थियो,’ गौतमले अनलाइनखबरसँग भने, ‘सभापति नभए पनि पार्टीको कार्यक्रम नरोक्ने भन्ने छ ।’
रास्वपाको जनयात्राका लागि भन्दै केही नेता चितवन आइसकेका छन् । पार्टी दुई जना उपसभापति डीपी अर्याल र स्वर्णीम वाग्ले भोलि आउने भन्ने जानकारी पाएको केन्द्रीय सदस्य गौतमले बताए ।
‘पार्टी कार्यकर्ता र आम जनता सबैमा खबर भइसकेको छ, कार्यक्रमको तयारी पनि छ, भोलि बिहानै मञ्च बनाउने भन्ने छ,’ केन्द्रीय सदस्य गौतमले भने, ‘पार्टीको अभियान त रोक्ने कुरा भएन, यो घटनालाई लिएर पार्टीका दृष्टिकोण पनि जनताको बीचमा लैजानुपर्छ ।’
लामिछानेले जनयात्राको सभामा आफू गृहमन्त्री भएको प्रचण्ड नेतृत्वको सरकार किन ढालियो भन्ने बारेमा खुलासा गर्ने पनि बताएका थिए ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4