 
																			१२ वैशाख, काठमाडौं । भारतको मुम्बईमा लगेर नेपाली महिलालाई बेचेको आरोप लागेका एक व्यक्ति ३० वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका–७ खोङ्गे घर भएका ६७ वर्षीय चमारे भनिने चमार तामाङ छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले सिन्धुपाल्चोकस्थित उनकै घरबाट पक्राउ गरेको हो ।
चाबहिलस्थित गलैंचा बुन्ने कारखानामा काम गर्ने महिलालाई उनले फकाएर मुम्बई पुर्याएर बेचेको आरोप छ । गलैंचामा काम गर्दा टीबी रोग लाग्छ, हङकङ गएर सुनाको व्यापार गरौं भन्दै उनले १९ पुस २०४४ मा ती महिलालाई काठमाडौं दिल्ली हुँदै मुम्बई पुर्याएको ब्यूरोका प्रवक्ता तथा एसपी नरेन्द्र कुँवरले बताए ।
मुम्बईमा रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठीमा गरेर ती महिलालाई ८० हजार भारुमा बेचिएको ब्यूरोको भनाइ छ । ती महिलाले ७ वर्षसम्म उक्त कोठीमा काम गरेकी थिइन् ।
पछि टीबी रोग लागेपछि माघ २०५२ मा ती महिला नेपाल फर्केकी थिइन् । त्यसपछि उनले १ फागुन २०५२ मा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा चमारेविरुद्ध जाहेरी दिएकी थिइन् । उक्त जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा आएको थियो ।
पछि यो मुद्दा ब्यूरोमा आइपुगेको थियो । त्यसपछि ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4