शरीरका अङ्गहरूमा धेरै प्रकारका दुखाइहरू हुन्छन् जस्तै तीब्र, हल्का, तुरुन्तै निको हुने वा बारम्बार हुने दुखाइ । यदि दुखाइको समस्या कहिलेकाहीँ हुन्छ भने खासै समस्या हुँदैन तर यदि एउटै दुखाइले बारम्बार सताउन थाल्यो भने चिन्ताको विषय हुन सक्छ ।
छाती दुख्ने समस्यालाई मानिसहरूले प्राय एसिडिटीको कारणले गर्दा दुखेको होला भनेर बेवास्ता गर्छन् । तर, बारम्बार छाती दुख्ने समस्यालाई बेवास्ता गर्नुहुँदैन । बारम्बार छाती दुख्नुले धेरै प्रकारका शारीरिक समस्याहरूलाई सङ्केत गर्छ ।
छाती बारम्बार दुख्नुका कारण
बारम्बार छाती दुख्ने समस्या छातीसँग मात्र नभई फोक्सो र पाचन प्रणाली जस्ता शरीरका अन्य अङ्गहरूसँग सम्बन्धित समस्याका कारणले पनि हुन सक्छ ।
हृदयाघात
जब मुटुको तन्तुमा रगत प्रवाह अवरुद्ध हुन्छ, यस्तो अवस्थामा छाती दुख्ने समस्या सुरु हुनसक्छ । यस्तो भएमा बेला-बेलामा छाती दुख्ने समस्या हुन सक्छ । यो छातीमा प्लाक वा रगत जम्ने समस्याको कारणले हुन्छ। यस समयमा, व्यक्तिले बारम्बार छाती दुखेको अनुभव गर्नुका साथै बेचैनी पनि महसुस गर्न सक्छन् ।
एन्जाइना
एन्जाइना एक यस्तो अवस्था हो, जसमा मुटुका तन्तुले आवश्यक मात्रामा रगत प्राप्त गर्न सक्दैन । यो मुटु रोगको सबैभन्दा सामान्य लक्षण हो वा यसले हृदयाघातको संकेत पनि गर्न सक्छ । यद्यपि, एन्जाइनाको अवस्था तब मात्र सुरु हुनसक्छ, जब धेरै कडा परिश्रम गरिन्छ । यदि एन्जाइनाको समस्या छ भने, व्यक्तिलाई बारम्बार छाती दुख्ने, हात र ढाड दुख्ने हुन थाल्छ ।
पेरिकार्डाइटिस्
मुटु ढाक्ने वरिपरिको तन्तु सुन्निने समस्यालाई चिकित्सकीय भाषामा पेरिकार्डाइटिस् भनिन्छ । यसका धेरै कारणहरू हुन सक्छन्, जस्तै संक्रमण, अटोइम्यून अवस्था वा हृदयाघात ।
पेरिकार्डाइटिसको अवस्थामा, सुत्दा वा सास फेर्दा पनि असुविधा महसुस हुन्छ । यस्तो अवस्थामा बारम्बार छाती दुख्ने समस्या पनि महसुस हुन सक्छ ।
ग्यास्ट्रोईसोफेजियल रिफ्लक्स
ग्यास्ट्रोईसोफेजियल रिफ्लक्स पाचन प्रणालीसँग सम्बन्धित समस्या हो जसमा पेटको एसिड खाद्य नलीमा पुग्छ, जसका कारण यसले छाती पोल्ने, असुविधा हुने वा केही अवस्थामा छाती दुख्ने जस्ता समस्याहरू निम्त्याउन सक्छ ।
खाना खाँदा वा सुत्दा बिरामीको असुविधा अझ बढ्न सक्छ ।
अल्सर
पेटमा अल्सर ब्याक्टेरियाको संक्रमण वा ब्रुफेन, ब्रुसेट, फ्लेक्शन जस्ता औषधिको सेवनको कारणले हुन सक्छ । पेटमा अल्सरको समस्यामा मध्य छाती र नाइटो वरपर दुखाइ हुनसक्छ । दुखाइको समस्या केही खाएपछि वा खाली पेट दुवैमा हुन सक्छ । साथै, अल्सरको कारणले बारम्बार छाती दुख्ने समस्या पनि उत्पन्न हुन सक्छ ।
चोटपटक
दुर्घटनाको कारणले चोटपटक लाग्दा र व्यायाम गर्दा वा मांसपेशीलाई जोड पर्ने गतिविधि गर्दा मांसपेशी तन्किन सक्छ । यस्तो अवस्थाले पनि छातीमा पीडा निम्त्याउन सक्छ।
निमोनिया
फोक्सोसँग सम्बन्धित समस्या निमोनियाको मुख्य कारण संक्रमण हो । निमोनियाले ज्वरो आउने, चिसो लाग्ने, सास फेर्न गाह्रो हुने वा बारम्बार छाती दुख्ने हुन सक्छ ।
पित्तथैलीको पत्थरी
पित्तथैलीको समस्या भएका व्यक्तिहरूलाई पनि बारम्बार छाती दुख्ने समस्या हुन सक्छ । सामान्यतया, पित्तथैलीको पत्थरीको कारणले वा यसको सुरुवाती चरणमा, पेटको माथिल्लो भागमा दुखाइ महसुस हुन्छ, तर बिस्तारै यो दुखाइ काँध वा छातीको हड्डीमा पनि फैलिन्छ ।
प्यानिक अट्याक
बिना कुनै कारण तनावपूर्ण अवस्था वा डरलाग्दो घटनाको कारणले प्यानिक अट्याक हुन सक्छ । प्यानिक अट्याक हुँदा पनि छाती दुखेको अनुभव हुन सक्छ ।
कोस्टोकन्ड्रिटिस
जब संक्रमण, चोटपटक वा बाथको कारणले करङ र छातीको हड्डी सुन्निन्छ, त्यो अवस्थालाई कोस्टोकन्ड्रिटिस भनिन्छ । कोस्टोकन्ड्रिटिसको समस्या स्तनको हड्डीको बायाँ भागमा हुन्छ र यो असुविधा गहिरो श्वास लिँदा वा खोक्दा अझ बढ्छ । यही कारणले बिस्तारै छाती दुख्ने समस्यालाई पनि निम्त्याउन सक्छ ।
पल्मोनरी एम्बोलिज्म
शरीरको अन्यत्र बनेको रगतको ढिक्का फोक्सोमा जम्मा हुँदा पल्मोनरी एम्बोलिज्म हुन्छ । यस्तो अवस्थामा,सास फेर्न गाह्रो हुने, छाती दुख्ने र मुटुको धड्कन पनि सामान्य भन्दा छिटो हुन सक्छ । पल्मोनरी एम्बोलिज्मको समस्याले इमरजेन्सी अवस्थाको संकेत गर्छ । त्यसैले, यदि मुटुको धड्कन छिटो छिटो वा श्वासप्रश्वासमा समस्या भयो भने, सकेसम्म चाँडो डाक्टरसँग परामर्श लिनुपर्छ ।
फोक्सोको क्यान्सर
फोक्सोको क्यान्सरका बिरामीहरूले खोक्दा वा गहिरो श्वास लिँदा बारम्बार छाती दुख्ने अनुभव गर्न सक्छन् ।
बारम्बार हुने छाती दुखाइको उपचार कसरी गरिन्छ ?
धेरै कारणले बारम्बार छाती दुख्ने गर्छ । यस्तो अवस्थामा, डाक्टरले निम्न उपचार गर्न सक्छन् ।
-दुखाइ र सुन्निने समस्या कम गर्न ब्रुफेन, ब्रुसेट, फ्लेक्शन जस्ता औषधिहरूको प्रयोग गरिन्छ ।
-छाती दुखाइ र रक्तचाप कम गर्न औषधि दिइन्छ ।
-यदि समस्या उच्च रक्तचापको हो भने, रक्तचाप कम गर्ने औषधि दिइन्छ ।
-रक्त नलीहरूलाई आराम दिन वा फैलिएका रक्त नलीहरूलाई कम गर्न, ‘नाइट्रोग्लिसरिन’को सेवन सिफारिस गरिन्छ ।
– रगत जम्ने समस्याबाट पीडित मानिसहरूलाई रगत पातलो पार्ने औषधि दिइन्छ ।
-कोलेस्टेराेलको स्तर कम गर्न स्टेटिन प्रयोग गरिन्छ ।
-अवरुद्ध वा साँघुरो धमनीहरूको समस्यामा बाइपास सर्जरी गरिन्छ ।
-पेरिकार्डाइटिस वा प्ल्युरीसीको अवस्थामा, मुटु ढाक्ने वरिपरिकाे झिल्ली शल्यक्रिया गरि हटाइन्छ ।
-फोक्सोमा रगत जमेको अवस्थामा क्याथेटरको सहायताले हटाउने प्रक्रिया अपनाइन्छ ।
-पित्तथैलीको समस्या हटाउन पनि शल्यक्रिया गर्नुपर्ने हुन सक्छ ।
बारम्बार छाती दुख्ने समस्याबाट कसरी बच्ने ?
-दैनिक स्वस्थ आहारको सेवन गर्ने ।
-सन्तुलित शरीरको तौल कायम राख्ने ।
-तनावबाट बच्ने ।
-नियमित व्यायाम गर्ने तर आवश्यकताभन्दा बढी व्यायाम नगर्ने ।
-मदिरापान र धूम्रपान नगर्ने ।
 
                    










 २०८२ वैशाख  १२ गते १८:१३
                        २०८२ वैशाख  १२ गते १८:१३                     
                             
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                                         
                             
                             
                             
                             
                         
                         
                         
                         
                         
                         
     
     
     
     
     
                             
                             
                             
                             
                             
                                        
प्रतिक्रिया 4