
काठमाडौं । ६ वर्षपछि कुमा सागर ‘भ्वाइस अफ नेपाल’को स्टेजमा फर्किएका छन् । तर, यसपटक प्रतिस्पर्धाको लागि होइन, प्रस्तुतिको लागि ।
शुक्रबार बेलुका प्रसारित एपिसोडमा कुमा सागर र उनको ब्याण्डले भ्वाइस अफ नेपालको स्टेजमा दमदार प्रस्तुति दिएको छ । लाइभ शोको राउण्डमा कुमा सागरले आफ्नो चर्चित गीत ‘छहरे सरी : दया तया’मा प्रस्तुति दिए ।
कुमा सागरको प्रस्तुतिमा उपस्थित दर्शक मन्त्रमुग्ध भएका थिए । भ्वाइसमा प्रस्तुति दिँदा आफूलाई गर्व महसुस भएको कुमा सागरले बताए ।
‘यहाँ दाईहरुले बाटो देखाइदिनुहुन्छ । हामीले आफ्नो बाटो खोज्ने हो’ प्रतियोगीलाई कुमा सागरले प्रोत्साहन दिँदै भने । कुमाले सन् २०१९ मा आयोजित भ्वाइसको दोस्रो सिजनमा भाग लिएका थिए ।
भ्वाइसकै पूर्व प्रतिस्पर्धी भएकाले पनि धेरै युवाका लागि उनी प्रेरणाको स्रोत बनेको कोचहरूले बताए । कोच राजु लामाले कुमा सागर युवाका लागि प्रेरणाको स्रोत बनेको बताए । कोच मेलिना राईले कुमा सागर भ्वाइसलाई गर्व गर्न सक्ने क्षण भएको बताइन् ।
कोच खेम सेन्चुरी र उदय सोताङले कुमा सागरको सांगीतिक यात्राको प्रशंसा गरे । चारैजना कोचले कुमा सागरप्रति सम्मान व्यक्त गर्दै ‘स्ट्यान्डिङ ओभेसन’ प्रदान गरे ।
प्रतिक्रिया 4