+
+
Shares

हाम्रो कुरा सुन भन्नु मात्रै होइन लोकतन्त्र

हामी सबै श्रोता बन्ने अभिनय गर्छौं, तर गहिरो गरी सुन्ने आँट हामीसँग छैन । आलोचना आयो भने झर्किने, विचार फरक पर्‍यो भने औंला उठाउने, अनि छलफल कम, सङ्घर्षको भाषा बोल्ने हाम्रो बानी भइसकेको छ ।

क्रान्तिशिखा क्रान्तिशिखा
२०८२ वैशाख १५ गते १०:०१

२०७२ वैशाख १२ । त्यो दिन मात्र पीडा थिएन, त्यो दिन एउटा सजीव इतिहासको चिच्याहट थियो, जसले जमिनसँगै मनको जग पनि चिरिदियो ।

हजारौं सपना र जीवनहरू खरानी बने । जो बाँचे, तिनका आँखाअगाडि सारा संसार उजाड भयो । बाँच्नु पनि कहालीलाग्दो पीडा जस्तै भयो । त्यस दिन भूकम्पले सिर्जना मात्र होइन, सम्भावनाहरूको पनि चिहान खन्यो । हामीले महसुस गर्‍यौं, जीवन कति नाजुक र राज्य कति टाढा छ ।

१० वर्ष बित्यो । त्यही पीडाको मिति (१२ वैशाख, २०८२) मा प्रधानमन्त्री मञ्चमा उभिएर फेरि कुर्सीको सौदाबाजीको कथा सुनाइरहेका थिए– “१४ महिनापछि म राजीनामा दिन्छु, अनि शेरबहादुर प्रधानमन्त्री बन्नुहुनेछ ।”

केको लागि थियो त्यो घोषणा ? जनताको आँसु पुछ्न ? कि सत्ता हस्तान्तरणको ड्रामा पूरा गर्न ? आज गन्नै गाह्रो भइसकेको छ, प्रधानमन्त्रीको कसम र सम्झौता कतिऔं पटकको थियो ।

त्यही दिन, जब नागरिकले आँसु पुछिरहेथे, नेताहरू कुर्सीको अङ्कगणितमा व्यस्त थिए— को कहिले चढ्ने ? को कहिले ओर्लने ? शब्दहरूको बजार लागेको थियो । जो बोल्नुपर्ने थिए, मौन थिए । जो चुप रहनुपर्ने थिए, मञ्च ओगटिरहेका थिए

कामले बोल्नुपर्नेहरू संवादबाट पलायन जस्तै देखिन्थे । सत्ताको स्वादले संवेदनालाई विस्थापित गरिसकेको थियो । यही हो त लोकतन्त्र, जहाँ पीडाको बेला राज्यको संवेदनाले होइन, सत्ताको रणनीतिले आवाज उठाउँछ ?

संवादका तीन अनुहार हुन्छन्– स्पष्ट, अस्पष्ट र छरपस्ट । यसको आफ्नै फाइदा, बेफाइदा हुने भइनै हाल्यो । स्पष्ट संवाद बीउ हो— जहाँ विश्वास रोपिन्छ । अस्पष्ट संवाद कुहिएको माटो हो— जहाँ शङ्का मात्र उम्रन्छ । छरपस्ट संवाद हुरी हो— जसले भावनाका फूलहरू उखेल्छ र सम्बन्धका डालीहरू भाँचिदिन्छ ।

यी तीन वटै संवादका आफ्ना ठाउँ, सन्दर्भ र सीमा हुन सक्छन् । तर आजकल अस्पष्ट र छरपस्ट संवादले एउटा खतरा बोकिरहेका छन्— यी संवादको चरम दुरुपयोगले संवादकै पवित्रता मासिदिएको छ । यही कारण शब्दहरू आजकल धेरै छरिएका छन् । हरेक कोणबाट बोलिने, घोचिने, देखिने, उच्छिन्ने, तर सुन्ने कमै गरिन्छ । शब्दहरू अब गम्भीरता बोक्दैनन्, बरु ‘हातहतियार’ जस्ता बनेका छन् । सुनिने ठाउँ सुनसान छन्, बोलिने ठाउँ भिडिएका छन् ।

जब संवाद स्पष्ट हुँदैन, लोकतन्त्रको आत्मा नै थलिन्छ । जब संवादको स्तर अस्पष्ट र छरपस्ट हुन्छ, तब लोकतन्त्रका मुख्य मूल्यहरू कमजोर हुन्छन्– समानता खोसिन्छ, निष्पक्षता र सहभागिता केवल उपस्थितिको आँकडामा सीमित रहन्छ । जब संवाद छरपस्ट हुन्छ, त्यहाँ मन होइन, केवल ध्वनि मात्रै बाँडिन्छ ।

लोकतन्त्र अब अनुभूत गर्ने चेतनाको अभ्यास रहेन, केवल देखाउने अभिनयमा सीमित भइसकेको छ । ‘जनताको शासन’ भन्ने वाक्य जति दोहोर्‍याइन्छ, जनताको आवाज त्यति नै ओझेल पर्दै गएको छ । अब सत्य सुन्ने कानहरू थाकिसके झैं लाग्छ, सत्ताको तालमा नाच्ने जिब्राहरू दिनदिनै तेज हुँदै गएका छन् । लोकतन्त्रको नाममा हामी अभिनय गरिरहेका छौं तर मनको गहिराइमा त अझै पनि सुनिन बाँकी छ, एउटै प्रश्न “साँच्चिकै जनताको शासन कहिले हुन्छ ?”

लोकतन्त्रको नाममा अचेल यति चिच्याहट हुन्छ ! कहिलेकाहीं लाग्छ, साँच्चै सुन्नेहरू हराउँदै गएका छन् । बोल्नेहरूको जमात विशाल बन्दै गएको छ । लोकतन्त्र अब मुटुमा होइन, मुखौटामा बस्न थालिसकेको छ । यो कठोर वास्तविकता बनिसकेको छ ।

अभिव्यक्तिमा हामी जति कुशल छौं, सुनुवाइमा त्यति नै दरिद्र । अब शब्दहरू विचारको पुल होइन, भ्रमको पर्दा जस्ता लाग्छन् । त्यो पर्दा, यति सीपले बुनिएको छ त्यसले सत्यलाई छेकिदिन्छ र संवेदनाहरू कतै कुहिरोमा हराउँछन् ।

भन्छन्, यो संवाद हो । तर लाग्दैन— कसरी लागोस् ? जुन संवाद शुरु नै भएको छैन, त्यो महसुस कसरी होस् ? यो त आत्म प्रदर्शनको नाटक जस्तो लाग्छ— स्क्रिप्ट पनि आफैं लेखेका, पात्र पनि आफैं छानेका ।

सुनुवाइ ? त्यो न उनीहरूलाई फुर्सद छ, न रुचि । जहाँ सुनुवाइको नाममा केवल सत्ताको एकपक्षीय एकालाप हुन्छ र जनताको आवाज—पृष्ठभूमिको अप्रासङ्गिक गुन्जन जस्तो ।

सत्ताका महलहरू भलै स्वर्णजडित र अग्ला देखिऊन्, तर जब ती महलहरू भित्र जनताप्रति वैमनस्य पस्छ, त्यो दिनदेखि नै ती महलहरू भित्रभित्रै गल्न थाल्छन् । जनताको मौन आक्रोशले उठाएको आँधीले ती महलहरूलाई खण्डहर बनाउन धेरै समय नलाग्न सक्छ । यत्ति त सत्तासीनहरूले बेलैमा बुझ्नुपर्छ ।

पछिल्ला दुई उदाहरण हेरौं जसमध्ये एउटा घटनामा राज्यको तुरुन्त चासो अनि अर्कोमा अमानवीय उपेक्षा झल्किन्छ । केही महिनाअघि पोखरा भ्रमण वर्ष उद्घाटन क्रममा बेलुन विस्फोट हुँदा सरकारले तुरुन्तै छानबिन समिति बनायो । तर सुदूरपूर्वी पहाडको ताप्लेजुङमा अघिल्लो साता जीपमा करेन्ट लागेर चार जनाको ज्यान जाँदा समेत कुनै छानबिन र चासो दिन सकेको छैन ।

राज्यको संवेदनशीलता किन यति धेरै असंवेदनशील बनेको ! राज्यको संवेदनशीलता भूगोल र पहुँचअनुसार बाँडिन्छ— जहाँ मञ्च छ, त्यहीं मात्र पीडा देखिन्छ । राज्य केवल त्यही घाउ महसुस गर्छ, जसको आवाज सभामञ्चसम्म पुग्छ ।

उदाहरण त अनगिन्ती छन्— जति सम्झना आउँछ , मनको ज्वारबाट विद्रोहको आँधी निस्कन्छ । केही मृत्युहरू ‘राष्ट्रिय शोक’ बन्छन्, केही मृत्युहरू आँसु सुकिसक्दा पनि सामान्य समाचार बन्न पाउँदैनन् । जबसम्म पीडाको आवाज पहुँच र प्रभावको तौलमा नापिन्छ, जबसम्म आँसुहरू पनि राजनीतिक मूल्य अनुसार मूल्याङ्कन हुन्छ, तबसम्म सत्ताले जतिसुकै ठूलो भाषण गरे पनि त्यो लोकतन्त्र हुँदैन । लोकतन्त्रले छायाँमा हराएका सुस्केराहरूलाई पनि सुन्छ—महसुस गर्छ ।

बाँकी पीडा उहीं, भित्र कतै, दबिएको आवाज जस्तै हराउँछ । कति समयसम्म राज्यका निर्णय केवल मञ्चका शब्द र बहसमा सीमित रहने हुन् खै ! जब जनताको पीडा अनसुनी हुन्छ, त्यो सत्ता बचाउने खेल मात्रै बन्छ, लोकतन्त्र बन्दैन ।

कति दिनसम्म निर्णयहरू कागजका अक्षर र भाषणका बाक्ला पर्दाभित्र मात्र थुनिएर बस्ने हुन् ? कति दिनसम्म जनताको आँसु बहसका शब्द बन्ने तर समाधानका कर्म बन्न नसक्ने हुन् ?

राज्यले सबैको पीडा देख्न नसके, सबैमा समान संवेदनशीलता राख्न नसके, उसले लोकतन्त्रको नाममा खेल खेलिरहेको हुन्छ । पहुँचको आधारमा निर्णय गर्नु भनेको, प्रत्येक जनताको असन्तोष र दुःखलाई बेवास्ता गर्नु हो । त्यो भनेको लोकतन्त्रको अन्त्य हो ।

कहीं न कहीं व्यवस्था शोषण र भेदभावमा परिणत हुँदै जान्छ । यदि राज्यले एकै आँखाले सबैलाई नहेरेर, केवल उच्चतम पहुँचका व्यक्तिहरूको कुरा सुन्यो भने, त्यो लोकतन्त्रको मर्म बन्न सक्दैन ।

साँचो संवाद त संवेदनाको अँगालो हो— तर यहाँ, संवेदनाको परिधिभन्दा बाहिरै फालिएको छ । अनि हामी प्रश्न गर्छौं— के यस्तै अभिनयको नाम लोकतन्त्र हो ?

कुरा शुरू कहाँ भयो र कहाँ पुग्यो सोच्न खोज्दा, कुनै चक्रव्यूहभित्र फसेझैं लाग्छ । शून्य केन्द्रबिन्दुमा उभिएको अनुभव हुन्छ, जहाँ गुञ्जन छ तर मनमोहक छैन । लाग्छ लोकतन्त्रको नाममा संवादको शवयात्रा निक्लिरहेको छ ।

एकोहोरो आवाजले भरिएको यस्तो भीडमा, अर्थहरू गुम्छन् । गफको घेरामा असल सोच हराउँछ । अचम्म के भने, यिनै घुमाउरा भाषण गर्नेहरू लोकतन्त्रका पहरेदार बनिरहेका छन् । जसले लोकतन्त्रको रक्षा गर्नु आफूले माइक नछुटाउनुमा मात्र देख्छन् । जसले लोकतन्त्र आफूमा निहित राख्छन् । अरूलाई दिनु आफ्नो समाप्ति बुझ्छन् ।

यी आफैंमा कत्ति पनि लोकतान्त्रिक छैनन् तर व्यवस्था लोकतन्त्र होस् भन्ने ठूलो अपेक्षा गर्छन् । उनीहरूलाई लोकतन्त्र व्यवहारमा चाहिएकै हैन, कागजमा छ र त टिकिरहेका छन् ।

उनीहरूका लागि लोकतन्त्रको परिभाषा भनेको “हाम्रो कुरा सुनियोस्” भन्ने चाहना मात्र हो । त्यो स्वतन्त्रता होइन, त्यो वर्चस्वको प्रतिस्पर्धा हो । त्यहाँ आलोचना सुन्ने साहस छैन, सहमति–असहमतिको सहअस्तित्वको चेतना छैन । कसैले फरक भन्यो भने झर्को लाग्ने, अनुहार बिगार्ने अनि संवादको ठाउँबाट आफूलाई मात्र केन्द्रमा राख्ने ।

यस्तो अवस्थामा प्रश्न उठ्छ लोकतन्त्र भनेको के साँच्चै यत्ति हो त ? केवल बोल्ने अधिकारको होहल्ला ? कि अरूको भाव, पीडा, आलोचना र मतभिन्नतालाई पनि आत्मसात् गर्ने गहिरो अभ्यास ?

लोकतन्त्र संसद्मा मात्रै कहाँ हो त यो संस्कारमा देखिने कुरा हो । यो हुर्कन त सबैभन्दा पहिले हाम्रो घरभित्र समानता चाहिन्छ । जहाँ माया सेवा होइन सहभागिता हो भन्ने त्यति बेलै थाहा हुन्छ । जहाँ “तिमीले त गर्नै पर्छ” भन्ने भाषा होइन, “हामी सँगै गरौं” भन्ने चेतना हुन्छ ।

लोकतन्त्रको बीउ त्यहीं रोपिन्छ, जब कामको मूल्याङ्कन लिङ्ग, उमेर, जात वा सम्बन्धको आधारमा हुँदैन, भावना र निष्ठाका आधारमा हुन्छ । जब घरमा सबैको आवाज सुनिन्छ, तब समाजमा लोकतन्त्रको बास हुन्छ । बास पिशाची लोकतन्त्रको गराउने कि देवीको, हाम्रो व्यवहारमा झुल्किन्छ ।

तर हामीसँग अहिले जे छ, त्यो समानता होइन, सुविधा बचाउने प्रवृत्ति हो । जहाँ अर्काको उन्नति हेर्दा मन दुख्छ, प्रशंसा गर्न मन लाग्दैन, ताली बजायो भने पनि औंला चल्छ हृदय चल्दैन ।

लोकतन्त्र तब मात्र सम्भव हुन्छ जब हामीसँग अर्काको सफलता देख्दा खुसी हुनसक्ने आँखा हुन्छन्, सुन्न सक्ने कान हुन्छन्, स्वीकार गर्न सक्ने आत्मा हुन्छ ।

नेताहरू भाषण गर्छन्, आलोचना आयो भने कोठा छोड्छन् । संसद् त परै जाओस्, हामी क्यान्टिनमै पनि फरक मत सहन सक्दैनौं । टेबलमा बसेर ‘सबैलाई ठाउँ दिनुपर्छ’ भन्नेहरू नै सबैभन्दा पहिले नयाँ विचारलाई चुप लगाउँछन् । किनभने नयाँ विचार पुरानालाई असहज बनाउँछ ।

उनीहरूलाई सत्ताको नशा यति लागिसकेको हुन्छ कि लोकतन्त्र पनि आफ्नै प्रतिमाको आराधना मात्र लाग्छ । त्यो सहकार्य होइन, सत्ता जोगाउने कसरत हो ।

लोकतन्त्र प्रसन्न तब हुन्छ, जब त्यसमा मिठास हुँदैन, तर सत्य हुन्छ । त्यो मिठास जुन सहमति खोज्न होइन, असहमति बाँच्न सक्छ भन्ने विश्वास दिन्छ ।

तर यथार्थ के छ भने हामी सबै श्रोता बन्ने अभिनय गर्छौं, तर गहिरो गरी सुन्ने आँट हामीसँग छैन । आलोचना आयो भने झर्किने, विचार फरक पर्‍यो भने औंला उठाउने, अनि छलफल कम, सङ्घर्षको भाषा बोल्ने हाम्रो बानी भइसकेको छ ।

विरोधलाई पनि हामी स्वार्थको उपकरण बनाउँछौं । विरोध तब ठिक लाग्छ जब त्यो आफ्नो पक्षबाट उठ्छ, तर जब कोही अर्को उस्तै आवाजमा बोल्न खोज्छ, तब हामी उसलाई कुनै न कुन उपाधि दिएर थाम्न खोज्छौं । लोकतन्त्र सधैं आफ्नो लागि मात्र सुरक्षित रहोस् भन्ने चाहना हाम्रो चेतनामा गहिरो गरी बसेको छ । विरोध शक्ति बन्ने बित्तिकै, त्यो परिवर्तन होइन, अर्को एकाधिकार बन्न पुग्छ ।

जबसम्म हामी केवल बोल्न खोज्छौं, तर सुन्न सक्दैनौं । जबसम्म हामी विचारलाई स्वामित्वको विषय बनाउँछौं, साझेदारीको होइन, हामीले आफूलाई लोकतान्त्रिक भन्न शर्मनाक हुन्छ ।

जब कुनै विचार ‘ठूलो स्वर’ भएको कारण भन्दा, ‘गहिरो अर्थ’ भएको कारण सुन्ने गरिन्छ । जब आलोचना घृणाको रूपमा होइन, प्रश्नको रूपमा लिइन्छ, जब संसद्मा मात्रै होइन, घरको बैठक कोठामा पनि सबैका आवाज सुन्ने प्रयास गरिन्छ अनि लोकतन्त्र श्रद्धायोग्य हुन्छ ।

चुनाव जितेर सिंहदरबार छिर्छौं अनि त्यहींबाट संवाद बन्द गर्छौं । हामी लोकतन्त्रको नाममा शक्ति खोज्छौं, सेवा भाव होइन । अवरोध सिर्जना गर्ने आफ्नै पक्षकाहरूलाई साथ मान्छौं, र ‘साझा समाधान’ खोज्नेहरूलाई कमजोर देख्छौं । जब बोल्न पाउने स्वतन्त्रता हुन्छ, तर कसैले सुन्न नचाहने अवस्था रहन्छ, त्यो स्वतन्त्रता अधुरो मात्र होइन, पीडादायी हुन्छ ।

जब बोलाइको स्वतन्त्रता छ, तर सुनुवाइको साहस छैन, त्यस्तो स्वतन्त्रता अधुरो हुन्छ । लोकतन्त्र भनेकै त्यस्तो अभ्यास हो, जहाँ मतभिन्नता राख्ने पूर्ण अवसर हुन्छ, डर होइन । जहाँ संवाद गुन्जिन्छ, आदेश होइन । जहाँ विचारहरू शब्द बन्न रोकिन्छन्, अनि बानी बन्छन् । यस्तो लोकतन्त्र चाहिएकै होइन । तर पाइएकै यस्तै छ । यस्तो ‘लोकतन्त्र’ खोजिएको थिएन । यस्तो लोकतन्त्र त आवाजको चिहान हो, विचारको निर्वासन हो, र आत्माको एकान्तवास ।

लोकतन्त्र तब मात्र हाम्रो भित्र हुर्कन्छ, जब हामी बोल्न मात्रै होइन, सुन्न पनि सिक्छौं । नत्र, त्यो स्वरहरूको जङ्गलमा रूपान्तरण हुन्छ, जहाँ हरेक जना बोलिरहेका हुन्छन्, तर कोही कसैको अर्थ बुझ्दैनन् । त्यस्तो ठाउँमा आवाज त हुन्छ, तर शान्ति हुँदैन । र जहाँ शान्ति हुँदैन, त्यहाँ लोकतन्त्रको आत्मा बाँच्दैन । लोकतन्त्र संवादमा जिउँदो रहन्छ— जहाँ फरक मतलाई असहिष्णुताको होइन, चेतनशील र जीवन्त समाजको सङ्केत मानिन्छ । लोकतन्त्र त्यो हो, जहाँ आदर हुन्छ, संवाद हुन्छ ।

सहमति मात्र होइन, सहनशीलताको अभ्यास पनि हुन्छ । लोकतन्त्र कागजमा होइन, मनको संवेदनामा धड्किन्छ । त्यसलाई बचाउन हामीले बोल्नुभन्दा पहिला बुझ्न, जवाफ दिनुभन्दा पहिला सुन्न सिक्नुपर्छ । हामीलाई चाहिएको लोकतन्त्र त्यो हो, जहाँ बोलाइ मात्र होइन, सुनुवाइ पनि हुन्छ जहाँ मतभेद दुस्मनी होइन, विविधताको सौन्दर्य हुन्छ ।

लोकतन्त्र तब मात्रै बाँच्छ, जब हामी सबैमा मानवीयता, सहिष्णुता र संवेदनशीलताको अभ्यास हुन्छ । लोकतन्त्र हरेक व्यक्तिको मौन अभ्यास हो । जहाँ आफ्नो सन्देशभन्दा अरूको सन्देश बुझ्ने प्रयास हुन्छ । साँचो लोकतन्त्र त्यहीं बाँच्दछ; जहाँ सत्ता होइन, सहमति बलियो हुन्छ ।

सत्ताका महलहरू भलै स्वर्णजडित र अग्ला देखिऊन्, तर जब ती महलहरू भित्र जनताप्रति वैमनस्य पस्छ, त्यो दिनदेखि नै ती महलहरू भित्रभित्रै गल्न थाल्छन् । जनताको मौन आक्रोशले उठाएको आँधीले ती महलहरूलाई खण्डहर बनाउन धेरै समय नलाग्न सक्छ । यत्ति त सत्तासीनहरूले बेलैमा बुझ्नुपर्छ ।

लेखक
क्रान्तिशिखा

लेखक क्रान्तिशिखा रास्वपा केन्द्रीय सदस्य तथा मनोसामाजिक परामर्शदाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?