
१७ वैशाख, काठमाडौं । मकवानपुरमा एक युवकले आफ्नै बुबामाथि गोली प्रहार गरेका छन् ।
प्रहरीका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका-९ अघोरका ५९ वर्षीय कान्छाराम थिङलाई बुधबार उनकै छोरा ३५ वर्षीय इमानसिंह थिङले गोली प्रहार गरेका हुन् ।
छोरा इमानले भरुवा बन्दुकले गोली प्रहार गर्दा बुबा कान्छाराम घाइते भएका छन् ।
प्रहरीका अनुसार बाबु र छोरा अलगअलग बस्दै आए पनि उनीहरूले प्रयोग गर्ने आँगन साझा थियो ।
बुबामाथि गोलो हान्ने इमानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । उनले अनुमति विना उक्त बन्दुक राखेको पाइएको छ ।
प्रहरीका अनुसार कान्छारामको बायाँ खुट्टाको तिख्रा र दाहिने हातमा गोलीको छर्रा लागेको छ ।
उनको अवस्था सामान्य रहेको र उनलाई उपचारका लागि हेटौंडा लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कुखुरा आँगनमा आएको विषयमा बाबु-छोराबीच विवाद हुँदा बुबामाथि छोराले गोली हानेको देखिन्छ ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्तबहादुर श्रेष्ठको कमान्डमा टोली खटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4