
१९ वैशाख, काठमाडौं । यो साता सेयर बजार १.३१ प्रतिशत घटेको छ । गत साता २६५८ अंकमा रहेको बजार यो साता ३५ अंक घटेर २६२३ मा झर्यो ।
बिहीबार मजदुर दिवसका कारण सार्वजनिक विदा परेसँगै यो साता ४ दिन कारोबार भयो । तीन दिन बजार घट्यो । पहिलो दिन आइतबार ३.५८ अंक बढेको बजार सोमबार १४.५३, मंगलबार १५.०८ र बुधबार ८.१४ अंक घट्यो ।
बजार घटे पनि कारोबार रकम उल्लेख्य छ । आइतबार १० अर्ब ८७ करोडको कारोबार भएकोमा सोमबार ८ अर्ब ९१ करोड, मंगलबार ७ अर्ब ५७ करोड र बुधबार ९ अर्ब ३७ करोडको भयो ।
हाइड्रोपावरमा आकर्षण
यो साता जम्मा दुई वटा सेक्टर मात्रै सकारात्मक देखिएका छन् । व्यापार सेक्टर सबैभन्दा धेरै १.५० प्रतिशत बढेको छ । तर यो सेक्टरलाई एउटै कम्पनी विशाल बजारले नै चलाउने गर्दछ । यो सेक्टरमा विशाल बजार र साल्ट ट्रेडिङ गरी दुई कम्पनी मात्रै सूचीकृत छन् ।
सकारात्मक देखिएको हाइड्रोपावर सेक्टरमा सबैभन्दा धेरै ९१ वटा कम्पनी समावेश छन् । यो सेक्टरमा समग्र बजारलाई चलायमान बनाउने शक्ति छ । यो साता हाइड्रोपावर सेक्टर ०.७१ प्रतिशत बढ्यो । साताभर धेरै मूल्य बढेका कम्पनीमा पनि हाइड्रोपावरकै वर्चस्व रह्यो ।
मूल्य धेरै बढेका १० कम्पनीमध्ये ८ वटा हाइड्रोपावर कम्पनी छन् । दुई वटा कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ६१ प्रतिशत बढेको छ । दोस्रो बजारका नयाँ कम्पनी भएकाले यी दुईको मूल्य बढ्ने क्रम जारी छ ।
आगामी साता पनि यी दुई कम्पनीको मूल्यवृद्धि उच्च रहने अनुमान छ । उस्तै प्रकृतिको कम्पनी गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य हाल २ हजार ४ सयभन्दा बढी रहेकाले यी दुई कम्पनीको मूल्य पनि सोही हाराहारीमा पुग्ने अनुमान छ ।
कस्तो रहला आगामी साता ?
गत साता बजारलाई विभिन्न पक्षको आन्दोलन, गभर्नर नियुक्तिको विषय र राजनीतिक अन्योलताले बढी प्रभाव पार्यो । पछिल्ला दिन शिक्षकसँग सरकारको सहमति भएको छ । यद्यपि एउटा पक्ष असन्तुष्ट छ । त्यस्तै गभर्नर सिफारिस समितिले पूर्णता पाएको छ ।
समितिबाट विजयनाथ भट्टराईले राजीनामा दिएपछि महाप्रसाद अधिकारी आएका छन् । यी दुई विषयले बजारका लागि केही सकारात्मक मनोभावना बढेको छ । त्यस्तै राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान छ, जुन औसत हो ।
अर्थतन्त्रका सबै क्षेत्र धनात्मक रहनु सकारात्मक छ । वाह्य सूचक पहिलेदेखि नै मजबुत छन् । आगामी साता बजारलाई सकारात्मक प्रभाव पार्ने आधार बलिया छन्। दैनिक क्यान्डिलस्टिक चार्टअनुसार २५८० अंकमा बजारलाई बलियो ‘सपोर्ट’ छ । हाल २६२३ अंकमा रहेकाले बजारमा केही सानो गिरावट आउन सक्ने प्राविधिक चार्टले देखाउँछ ।
रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) हाल ३७ मा झरेको छ, यसअघि नेप्सेले २५८० मा सपोर्ट पाउँदा आरएसआई ३१ मा थियो । आरएसआई पहिलेको नेप्से सपोर्ट प्वाइन्टभन्दा माथि नै रहेकाले बजारले एक/दुई दिनमै बढ्दो गति समाउने अनुमान छ ।
आईपीओ/एफपीओ खुलेका छन् ?
वैदेशिक रोजगारमा रहेकालाई दुई कम्पनीको आईपीओ खुलिरहेको छ । वैदेशिक रोजगारमा रहेकाले सान्भी इनर्जीमा आज शुक्रबारसम्म मात्रै आवेदन दिन पाउँछन् ।
त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई ट्रेड टावरकोको आईपीओ खुलेको पनि छ । अंकित मूल्य १ सयका दरले यी दुई कम्पनीको आईपीओ खुलेको हो । साथै सान्भी इनर्जीको आईपीओ स्थानीय प्रभावितले पनि भर्ने आज अन्तिम दिन रहेको छ ।
वैदेशिक रोजगारमा रहेकालाई यी दुई कम्पनीको आईपीओ बाँडफाँट भएपछि सर्वसाधारणका लागि बिक्री खुला हुनेछ । यीबाहेक धितोपत्र बोर्डबाट हालै एउटा कम्पनी विकास हाइड्रोपावरले अनुमति पाएको छ । सो कम्पनीको पनि पहिले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आवेदन खुलेपछि मात्रै सर्वसाधारणका लागि खुल्नेछ ।
विश्वका ठूला बजारमा सकारात्मक माहोल
पछिल्लो समय अमेरिका र चीनबीच व्यापार वार्ताका लागि सकारात्मक माहोल बनेको छ । यसले गर्दा दुई मुलुकबीच छिट्टै वार्ता हुने र व्यापारमा करका गलत हर्कत अन्त्य हुने अनुमान छ ।
चीन मात्रै नभई अमेरिकाले भारतसहित अन्य मुलुकसँग पनि व्यापार वार्ताको तयारी गरिरहेको छ । यसले गर्दा पछिल्लो साता अमेरिकाको बजारले पनि राम्रो संकेत देखाएको छ ।
यो साता डाओ जोन्स १.७७ प्रतिशत बढेको छ भने ठूला ५ सय कम्पनीको सूचक एस एण्ड पी २.०८ प्रतिशत बढेको छ । जापानको निक्की यो साता ४ प्रतिशत बढ्यो । भारतको बीएसई सेन्सेक्स यो साता २.३२ प्रतिशत बढेको छ । चीनको सांघाई कम्पोजिट इन्डेक्स भने यो साता ०.४९ प्रतिशत घटेको छ ।
प्रतिक्रिया 4